arrow

चिनियाँ राजदूत फिर्ताको माग गर्दै दूतावास अगाडि प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
chinese-embassy-agi-2080-05-21.jpg

काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा राष्ट्रिय एकता अभियानले काठमाडौँस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको छ ।

अभियानका अध्यक्ष विनय यादवको नेतृतवमा भएको प्रदर्शनमा चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिँदैन, देश डुबाउन पाइँदैन, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, राष्ट्रिय एकता अभियान जिन्दावाद लगायतका नारा लगाइएको थियो ।

अध्यक्ष यादवका अनुसार चिनियाँ राजदूतले जथाभावी बोलेर नेपाल–भारत सम्बन्धमाथि प्रहार गरेको र यो राजदूतको मर्यादा विपरीत भएको बताए । 

सरकारले कूटनीतिक प्रकृयाद्वारा यस्ता छाडा गतिविधिमाथि रोक लगाउनु पर्ने उनको भनाइ छ। ‘चीनले खासा नाका एकतर्फी घोषणा गरेर बन्द गरी नेपाललाई दुःख दियो, तर चीनमाथि हाम्रो निर्भरता कम रहेकोले खासै फरक परेन’ यादव भन्छन्, ‘भारतले चाहिएको बेला नेपाललाई खाद्यान्न दिएको छ, बिजुली दिएको छ। खाद्यान्न र ऊर्जा सुरक्षा देशको लागि अत्यन्त संवेदनशील विषय हुन् ।’

चीनले आफ्नो रणनीतिक योजनाको लागि नेपालमाथि ऋणको भारी बोकाएको यादवको आरोप छ। अहिले नेपाल–भारत सम्बन्ध बिगार्न पनि राजदूतले भूमिका खेलिरहेको उनले बताए ।  ‘चीनले नेपाललाई आफ्नो सस्तो–कमसल सामान बेच्ने बजार र भारततर्फ सुन लगायतका सामान तस्करी गराउने ट्रान्जिट प्वाइन्टको रुपमा मात्र प्रयोग गर्दै आएको छ’ उनी भन्छन्, ‘नेपालको अर्थतन्त्रमा कुनै योगदान गरेको छैन। चीनका यस्ता गतिविधिप्रति नेपाल सावधान र सचेत रहन आवश्यक छ ।’

प्रदर्शनमा मधेस सम्पर्क समितिका संयोजक बिनोद सिंह, अभियानका महासचिव डा प्रभात कुशवाहा, विद्यार्थी परिषदका पप्पु यादव, युवा नेता धीरज गिरी, अभियानी शिव पासवान, गणेशकुमार सिंह लगायतको सहभागीता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ