arrow

समीकरण नबदलिए तीस दिनका लागि मुख्यमन्त्री भए हिक्मत कार्की, लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
hikmatkumar-karki-oath-2080-05-22.jpg

विराटनगर । सर्वोच्च अदालतको परमादेशअनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिएका छन् । शुक्रबार एक समारोहबीच उनले प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । 

आफूले शपथ लिएकै दिन मुख्यमन्त्री कार्कीले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । कार्कीले मन्त्रीमा तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गरेका हुन् ।

मेन्याङ्बोलाई खानेपानी, सिँचाइ तथा उर्जा र स्वास्थ्य मन्त्रालय, पाँचकर्ण राईलाई वन वातावरण तथा पर्यटन मन्त्रालय र उद्योग, भूमि व्यवस्था तथा कृषि मन्त्रालय, कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास राज्यन्त्रीमा नियुक्त गरेको छ । 

सर्वोच्च अदालतले बिहीबार दिएको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) अनुसार ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुने छन् ।

यदि समीकरण बदलिएन भने कार्की ३० दिने मुख्यमन्त्री हुन् । कोशीमा भएका ९३ सांसदमध्ये बहुमतका लागि ४७ मत ल्याउनु पर्ने हुन्छ । यसअघि एमालेसँग राप्रपा रहेको थियो । राप्रपाका ६ सांसद छन् । 

जसअनुसार ४६ सिट हुन सक्छ । तर अर्को एक सांसद नभएमा राप्रपाको समर्थनले कुनै अर्थ राख्दैन । 

यसैबीच राप्रपाले विश्वासको मत नलिएसम्म सरकारमा सामेल नहुने बताएको छ । प्रमुख सचेतक अमरबहादुर विष्टले विश्वासको मत नलिएसम्म सरकारमा नजाने बताएका हुन् । 

उनले दिएको अभिव्यक्तिबाटै स्पष्ट छ कि एमालेका तर्फबाट मुख्यमन्त्री बनेका कार्की तीस दिने मुख्यमन्त्री हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ