arrow

म जस्तो छु त्यस्तो किन छु ?

logo
कृष्ण शर्मा, 
प्रकाशित २०८० भदौ २३ शनिबार
article-krishna-sharma-2080-05-23a.jpg

म जस्तो छु त्यस्तो किन छु ? के म त्यस्तो बनेँ जस्तो उनीहरु चाहन्थे ? म किन मैले चाहे वा सोँचेजस्तो बन्न सकिन ? म स्वयंको लागि के हुन चाहन्थेँ र के भएँ  ? 

म किन कहिलेकाहिँ आफैसँग डराउँछु ? कहिलेकाहिँ फेरि म अरुसँग किन अनावश्यक डराउँछु ? कसैको मप्रतिको स्नेहले मलाई किन
द्रवित तुल्याउँछ ? 

अनि फेरि गल्ती केही नगर्दा नगर्दै पनि म कहीँ नभएका देवी देवताहरुबाट अनिष्ट होला कि भनेर किन त्रसित हुन्छु ? मसँग सदाको
लागि भन्ने के नै छन् र ती गुम्लान् कि भन्ने डरले किन म सदा सचेत हुन्छु ? 

कोही यथार्थमा मेरो हुन नसक्ने कुराप्रति जानकार हुँदाहुँदै पनि कोही आफ्ना नहोलान् कि भनेर म चिन्तित हुनुपर्ने कारण के हो ? यो दुनियाँले मलाई म बन्नको लागि जुन चोट दियो त्यो भन्दा अर्को ठूलो उपहार अरु के दिन सक्छ र त्यसको आशामा अझै पनि माथि देउरालीको नेटो कुर्छु ? 

कसैसँग माया साटेर वा नसाटेर के हुन्छ ? कोही मेरो नजिक नआएर म दुख्नु पर्ने कारण के हो ? म कसैसँग भएकोमा अरु जल्नु पर्ने कारण के हो ? म कसैसँग नभएकोमा अरु रम्नु पर्ने कारण के हो ? बाँच्नकै लागि मात्र पनि कसैको प्यारो हुनैपर्ने के छ त्यस्तो ?

के म मेरी आमा वा बुबाले चाहे जस्तो हुन सकेँ ? के कारणले गर्दा म उनीहरुले चाहे जस्तो बनोस् भन्ने कामना गर्छन् ? अनि म उनीहरुले चाहे जस्तो नबनेमा किन चित्त दुखाउँछन् ? किन मानिस आफ्नो स्वार्थलाई मायाको नाम दिन्छ ? 

मेरी श्रीमतीले मलाई किन राम्रो गरेको मात्र देख्न चाहन्छिन् ? किन म उनले आशा गरे जस्तो हुन सकिन ? के म कहिल्यै त्यस्तो हुन सक्दिन जस्तो उनी चाहन्छिन् ? 

सच्चा साथीहरु किन सुदामा जस्तै आफ्ना कुरा लुकाउँछन् ? मेरो दुःखमा किन दुख्छन् उनीहरु ? हामी किन नदुखी बस्न पाउँदैनौँ ?
एउटा पानीको फोका फुट्दा मेरो मुटुले किन ठाउँ छोड्न खोज्दछ ? 

किन कोही रुँदा मेरो गला अवरुद्ध हुन्छ ? शान्ति फुपू बेहुली भएर अन्मिँदा म किन रोएको थिएँ ? शेखर सरलाई हत्याको आरोपमा कक्षा ५ को कोठाबाटै हतकडी लगाएर लैजाँदा अरु सबै बिस्फारित मात्रै भए तर म किन रोएँ ? 

किन म कसैलाई बेचैन देख्दा 'दुःख पाएको छ' भन्ने कल्पना गरी आफैँ पिरोलिन्छु ? कोही सुखी छ भन्ने भ्रममा किन इर्श्याले मेरो मन लुट्छ ? मैले गरेको माया कसैले देख्दैन भने म कसरी निष्ठुरीको तहमा ओर्लिन्छु ? 

मलाई कसैले कुन सामाजिक मर्यादाको कसीमा राखेर यस्तो तहमा किन पुर्याउँछ ? म किन राम्रो वा नराम्रो हुन चाहन्छु ? किन म सबै कुरामा रुख जस्तै, खोला जस्तै,पहाड जस्तै, बादल जस्तै, आकाश जस्तै, रात जस्तै, जून जस्तै, तारा जस्तै, दिन जस्तै निरपेक्ष रहन सक्दिन ? 

किन म अब्यक्तै ब्यक्त हुन सक्दिन ? म नबोली मलाई कसैले किन बुझ्दैन ? किन भाषाको विरोधाभासको सिकार हुन्छु म ? भाषा नहुँदा के मानिस विरोधाभासमा थिएनन् ? 

म रुनुअघि नै किन कोही आउँदैन मलाइ फकाउन ? आँशुमा त्यस्तो के छ जसले मलाई बगाइरहन्छ ? मभित्रको म किन दुःखबाट भाग्न खोजिरहन्छ ? दुःख आफैँ किन भाग्दैन कहिल्यै ? 

भुस्याहा कुकुरले मलाई नै किन खेद्छ ? किन मलाई पुलिसको पोशाकले लखेट्छ ? मलाई सरकारले किन नबोल भन्छ ? मैले बोलेर वा लेखेर पनि आखिर किन केही हुँदैन ? 

गोविन्दले दुःख पाउँदा म दुख्नुको अन्तर्य के हो ? के मैले दुःख पाउँदा कतै अरु कोही दुखिरहेको हुन्छ ? यदि दुखिरहेको हुन्छ भने किन
दुखिरहेको हुन्छ ? 

मलाई मभित्रको म ले किन सताउँछ ? 

के तपाईलाई पनि त्यसैगरी सताउँछ जसरी मलाई सताउँछ ? 

किन म आफूभित्रको म बिना एक्लै बाँच्न पाउँदिन ? आखिर मलाई कसले किन रोकिरहेको छ ? सत्य बोल्दा कसैले नपत्याएपछि पनि मैले किन सत्य बोल्छु ? 

उनीहरुले पत्याउन् भनेर म किन असत्य बोल्न सक्दिन ? कसैले 'स्याउ' भन्दा साथ मेरो मनमा 'मीठो फल' को कल्पना तैरिए जस्तै 'कृष्ण' भनेको सुन्दा साथ मेरो सबैभन्दा राम्रो म अरुको कल्पनाकाशमा उड्न थाल्छ कि थाल्दैन ? 

यदि उड्छ भने नै पनि त्यसले के फरक पार्छ ? के सत्य यत्ति हो कि म हिजो थिइन, आज छु,भोलि हुने छैन ? यदि भोलिपछि हुने छैन भने आज हुनुले के अर्थ राख्छ ? 

मलाई जवाफ देउ न के अर्थ राख्छ ?

अलेक्जेन्डर द ग्रेट मात्र होइन उनले चम्काएर विश्व थर्काएका धारिला तरवार आज मक्किए ? चम्किला एवम् धारिलै रहेका भए पनि के नै पो फरक पर्थ्यो र ?

मैले ऐना हेरेर दाह्री काट्दा जसरी आफ्नो अनुहारसँग निःसन्देह  निर्भिक सम्वाद गर्छु ठीक त्यस्तै स्वछन्दताका साथ, त्यस्तै निस्फिक्रीका साथ अरुसँग सम्वाद गर्नबाट मलाई के ले रोकिरहेको छ ?  

म किन स्वयंलाई स्वानुशासनको दास बन्न प्रेरित गरिरहेको छु ? मैले अनुशासनको उल्लंघन गरेको दिन के हुन्छ ? म स्कुल, कलेज, कार्यालय नगए के हुन्थ्यो ? 

मैले जुन काम गरेँ त्यो नगरेर अरु नै केही काम गरेको भए के हुन्थ्यो ? मलाई गणित पढाउने शिक्षकले गृहकार्य नबुझाउँदा हत्केलामा कम दुख्छ भनी नरम छाला भएतिर फर्काएर पिट्दा मैले नसहेको भए के हुन्थ्यो ? 

मैले तिमीलाई अनि आफैँलाइ माया नगरेको भए के हुन्थ्यो ? के भ्रमको आकाश खस्थ्यो ? यदि आकाश खस्दै खस्दैन भने म आकाश खस्छ भनेर किन सदा चिन्तित रहन्छु ? किन ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ