arrow

आठ महिनापछि पोखराबाट व्यवसायिक अन्तर्राष्ट्रिय उडान, ड्रुकले बोक्यो ४२ यात्रु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २३ शनिबार
druk-air.jpg

कास्की । भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ ।

भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको पोखरा विमानस्थलले जनाएको छ । गत पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पोखरा विमानस्थलको उद्घाटन गरिएको थियो । 

पोखराबाट थिम्पु जान लागेका पर्यटकलाई पोखरा विमानस्थलमा खादा तथा माला लगाएर बिदाइ गरिएको थियो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायीलगायतले यात्रुको बिदाइ गरेका हुन् । 

पोखरा विमानस्थलका प्रमुख देवचन्द्रलाल कर्णले अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गरेको बताए । उनका अनुसार प्रतियात्रुु रु तीन हजार विमानस्थललाई आम्दानी भएको छ । 

उनले भने, “यो पोखराको पहिलो कमर्सियल उडान हो । यसलाई हामी रेभेन्यु फ्लाइट भन्छौँ, चार्टरको रूपमा आएको हो । यसका लागि मेहनत गरेका थियौँ, कम्पनीलाई राम्रो सुविधा दिन्छौँ भनेर प्रतिबद्धता गरेका थियौँ, यसबाट उनीहरू कन्भिस भएर आएका हुन् ।”

भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् । जहाज भारतीय एजेन्सीले नै चार्टर गरेका थिए । उनीहरू तीन दिन पोखरामा बसेर प्याराग्लाइडिङलगायत गतिविधिमा सामेल भएका थिए । 

काठमाडौँबाट उनीहरू आठ हेलिकोप्टरमा पोखरा आएका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमितरुपमा अन्तर्राष्ट्रिय उडान अझै हुन सकेको छैन । 

विमानस्थल आन्तरिक उडानमा सीमित छ । यसअघि चीनको सिचुआन एयरलाइन्सले पोखरामा पहिलो चार्टर उडान गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ