arrow

चार पूर्व प्रधानमन्त्रीको पुर्खौली थलोप्रति कोइराला नेताहरुकै बेवास्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
bp-park-2080.jpg

काठमाडौँ । चार पूर्व प्रधानमन्त्रीहरुको पुर्ख्यौली थलो सिन्धुलीको दुम्जाप्रति कोइराला नेताहरुले नै बेवास्ता गरेको स्थानीय सरकारले गुनासो गरेको छ । 

नेपालका पूर्व प्रधानमन्त्रीहरू वीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको पुर्ख्यौली थलो दुम्जाको विकासमा कोइराला परिवार र कोइराला नेताहरुले ठोस सहयोग नगरेको गुनासो आएको हो । 

दुम्जासमेत पर्ने सिन्धुलीको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिलकुमार कोइरालाले कोइराला परिवारका केन्द्रीय नेताहरुले दुम्जाको विकास र प्रचार प्रसारका लागि पर्याप्त चासो नदिएको स्पष्ट पारे । 

“उहाँहरुलाई हामीले धेरै पटक भेटेर धेरै अनुरोध गर्यौँ, उहाँहरुले आश्वासन दिनुहुन्छ, तर पूरा गर्नु भएको छैन, यहाँ आउन पनि रुची र चासो राख्नुहुन्न,” उनले भने । 

नेपाली रेडियो नेटवर्कको पालिका बहसमा उपाध्यक्ष कोइरालाले केही दिन अगाडि वीपी पुत्र डा. शशांक कोइराला आए पनि अरु नेताहरु धेरै समयदेखि आउँदै नआएको र सहयोग पनि केही नगरेको उनले जानकारी दिए । 

बरु कांग्रेस नेता अर्जुननरसिंह केसी शहरी विकास मन्त्री भएका बेला कोइरालाहरुको पुर्ख्यौली घर र जग्गालाई उद्यान बनाउन र जिर्णोद्धार गर्न बजेट छुट्याएपछि अहिले काम भइरहेको उनको भनाइ छ । 

केसीकै योजना अनुसार अहिले उद्यानका लागि १२५ रोपनी जग्गा घेरेर चार प्रधानमन्त्रीको मुर्ति बनाउनेदेखि विभिन्न सामान तथा संरचनाहरुको पुनर्निर्माण गर्ने कार्य भइरहेको उपाध्यक्ष कोइरालाले जानकारी दिए । 

अहिले १९५० सालमा बनेको कोइरालाहरुको पुरानो घरमा छानो राख्ने काम भइरहेको र उद्यानको सबै काम सम्पन्न गर्न अझै दुई बर्ष लाग्न सक्ने उनको अनुमान छ । जिर्णोद्धार हुँदै गरेको घरमा कृष्णप्रसादले नै प्रयोग गरेको ठेकी, कोदाली लगायतका सामग्रीहरु पनि राखिएको छ । 

दुम्जामा पानीको अभाव भएपछि तीन प्रधानमन्त्रीका पिता कृष्णप्रसाद कोइरालाको परिवार विराटनगर बसाइँ गरेको हो । त्यसपछि चार कोइराला देशको प्रधानमन्त्री भए पनि दुम्जामा अझै पर्याप्त खानेपानी छैन । 

वीपी राजमार्गबाट छ किलोमिटर मात्रै दूरीमा रहेको दुम्जामा अझै पनि सार्वजनिक यातायात सञ्चालन हुन सकेको छैन भने कच्ची धुले सडकबाट जेनतेन ‘रिजर्भ’ गरेका सवारी मात्रै पुग्छन् । 

शासन सत्तामा पुगेका कोइराला परिवारका सदस्यले यसको संरक्षणमा चासो नदेखाएको दुम्जामै रहेका बन्धुहरूको गुनासो छ । हाल दुम्जामा ६० घर कोइरालाहरूको बसोबास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ