चिनियाँ राजदूत छनलाई पर्सना नन ग्राटा घोषणा गर्न माग
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
1.4k
Shares
काठमाडौँ । चिनियाँ राजदूत छन सङलाई पर्सना नन ग्राटा घोषणा गर्न राष्ट्रिय एकता अभियान नेपालले माग गरेको छ । अभियानले आइतबार परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।
हालै राजदूत छन सङले एक भाषणमा भारतसँग नेपालको सम्बन्धको आलोचना गरेको विषय स्मरण गराउँदै यस्ता गैरकूटनीतिक अभिब्यक्ति दिने राजदूतलाई फिर्ता पठाउनु पर्ने ज्ञापन पत्रमा माग गरिएको छ ।
भारतसँगको व्यापारमा घाटा भइरहेकाले नेपालले चीनसँग व्यापार विस्तार गर्नुपर्ने उनको भनाइ नितान्त गैरकूटनीतिक भएको भन्दै अभियानले राजदूत छन सङलाई ‘पर्सना नन ग्राटा’ घोषणा गर्नुपर्ने माग गरेको हो ।
यो एउटा कूटनीतिक शब्दावली हो । जसअनुसार कुनै पनि देशको राष्ट्र वा सरकार प्रमुखले आफ्नो देशको कुनै राजदूतलाई ‘पर्सना नन ग्राटा’ घोषणा गरेपछि ऊ सम्बन्धित देशको दूतावासमा अयोग्य ठहर्छ ।
चिनियाँ राजदूतले केही दिनअघि नेपालले आफ्नो अर्थतन्त्रलाई कसरी विकास गर्ने भनेर चीनबाट सिक्नुपर्नेसमेत बताएका थिए ।
‘भारतसँगको उर्जा व्यापार सम्झौतालाई नेपाल सरकारले उल्लेखनीय उपलब्धि मानेको छ । र नेपाल–भारत विद्युत व्यापारको विस्तार नेपालको घोषित नीति हो’ ज्ञापन पत्रमा भनिएको छ, ‘राजदूत छनको त्यो भनाइ नेपाल सरकारको नीतिको ठाडो विरोध मात्र होइन, सामान्य कूटनीतिक शिष्टाचारको उल्लङ्घन पनि हो।’
चिनियाँ राजदूतको भनाइ नेपालको आन्तरिक मामिलामा गरिएको कडा र अशोभनीय टिप्पणी भएको अभियानले जनाएको छ। नेपालले चीन र भारत दुवैसँगको सम्बन्ध सन्तुलनमा ल्याउने प्रयास गरिरहेका बेला आएको यस्तो अभिब्यक्तिका विषयमा नेपाल सरकारले कुनै प्रतिक्रिया नदिनु रहस्यमय भएको पनि ज्ञापन पत्रमा उल्लेख छ ।
राजदूत छनको भनाइले नेपाल र चीनबीचको सम्बन्ध बिग्रिएको भन्दै यसले नेपाललाई चीनसँग आर्थिक र अन्य विषयमा सहकार्य गर्न पनि गाह्रो भएको जनाइएको छ ।
‘तसर्थ राजदूत छनलाई पर्सना नन ग्राटा घोषणा गरी चीन फिर्ता पठाउन नेपाल सरकारलाई आग्रह गर्दछौँ । यसले चीनलाई नेपालले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप सहने छैन भन्ने सन्देश दिनेछ’, अभियानका अध्यक्ष विनय यादवद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ।
ज्ञापन पत्र बुझाउन अध्यक्ष यादव, वरिष्ठ नेता वीपी यादव, महासचिव डा.प्रभात कुशवाहा, महिला संयोजक रीता साह, मधेश सम्पर्क समिति काठमाडौँका संयोजक विनोद सिंह, सल्लाहकार जयनारायण यादव, युवा प्रमुख दिवस पटेल, धीरज गिरी, विद्यार्थी परिषदका महासचिव पप्पु यादव, केन्द्रीय सदस्य चन्द्र यदुवंशी, अभियन्ता गणेशकुमार सिंहलगायत मन्त्रालयमा पुगेका थिए ।