arrow

चिनियाँ राजदूतविरुद्ध काठमाडौँमा र्‍याली

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
rastriya-ekata-abhiyan-2080-05-25.jpg

काठमाडौँ । राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत छन सङविरूद्ध नाराबाजी गर्दै काठमाडौँमा र्‍याली निकालेको छ । 

प्रदर्शनकारीले चिनियाँ राजदूतलाई फिर्ता गर, चिनियाँ विस्तारवाद मुर्दावाद, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, ऋणजाल चाहिँदैन, देश डुबाउन पाइँदैन जस्ता नारा लगाएका थिए । अभियानका केन्द्रीय संयोजक विनय यादवको नेतृत्वमा निकालिएको र्याली बबरमहलबाट नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

संविधान सभा सदस्य एवम् अभियानका वरिष्ठ नेता वीपी यादवले चीनले तिब्बत र ताइवानजस्तै नेपाललाई उपनिवेश बनाउन खोजेको आरोप लगाए । 

उनले नेपाल–चीन सम्बन्ध बढाउनु भन्दा पनि नेपाललाई कसरी ऋणको जालमा फसाउने भन्ने विषयमा चिनियाँ राजदूत बढी सक्रिय रहेको आरोप लगाए । 

चिनियाँ राजदूत सङले नेपाललाई भारतसँगको आर्थिक सम्बन्ध घटाएर चीनसँग थप घनिष्ठ हुन सुझाव दिनु अशोभनीय रहेको बताए । 

नेता यादवले चिनियाँ राजदूतको भनाइले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गर्दै देशको राष्ट्रिय स्वाधीनतालाई खतरामा पारेको थपे । 

उनले यस विषयमा नेपाल सरकारले कडा कदम चाल्दै चिनियाँ राजदूतलाई फिर्ता पठाउन मागसमेत गरे ।

अभियानका महासचिव डा प्रभात कुशवाहाले र्‍यालीको उद्देश्य चिनियाँ राजदूतको विवादास्पद अभिव्यक्तिको विरोध गर्दै नेपाल सरकारलाई चीनसँगको सम्बन्ध पुनरावलोकन गर्न आग्रह गर्नु रहेको बताए । उनले नेपालले चीनको आर्थिक र राजनीतिक प्रभावबाट जोगिन र भारतसँगको परम्परागत सम्बन्धलाई बलियो बनाउनुपर्ने बताए ।

र्‍यालीमा सहभागी अन्यले पनि चिनियाँ राजदूतको भनाइको निन्दा गर्दै उनलाई फिर्ता पठाउन नेपाल सरकारसँग माग गरेका थिए । उनीहरूले चीनले नेपाललाई उपनिवेश बनाउने र देशको स्वाधीनतालाई खतरामा पार्न खोजेको बताए । 

र्यालीमा अभियानको महिला संयोजक रीता साह, मधेश सम्पर्क समिती काठमाडौका संयोजक विनोद सिंह, सल्लाहकार जयनारायण यादव, अभियानका यूवा नेता धीरज गिरी, राष्ट्रिय विद्यार्थी परिषद्का महादचिव पप्पु यादव, अभियानीहरू सुजन यादव, गणेशकुमार सिंह, चन्द्रमोहन सिंह लगायत सहभागी भए। 

चिनियाँ राजदूतले सेप्टेम्बर ३, २०२३ मा एक सम्बोधनको क्रममा नेपालले भारतसँगको आर्थिक सम्बन्धलाई घटाएर चीनसँग थप घनिष्ट सम्बन्ध राख्न आवश्यक रहेको बताएका थिए। 

उनले नेपालले भारतसँगको व्यापार घाटा भोग्दै आएको र यसको उत्पादन क्षेत्र संकुचित हुँदै गएको बताएका थिए । उनले चीनबाट नेपालले आर्थिक विकासको पाठ सिक्नुपर्नेसमेत बताएका थिए । 

छनको भनाइको नेपालमा चौतर्फी आलोचना भइरहेको छ । धेरैले उनलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र देशको स्वाधीनतालाई खतरामा पारेको आरोप लगाएका छ्न् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ