arrow

माओवादी नेताका छोराकोसमेत लगानी रहेको सुप्रिम सहकारीको ठगीविरुद्ध उजुरी

logo
नारायण वली,
प्रकाशित २०८० भदौ २७ बुधबार
supreme-sahakari-butwal-2080-05-27.jpg

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा न-९ राजमार्ग चौराह नजिक प्रधान कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीमा बचत गरेका कयौँ बचतकर्ताहरुको रकम हिनामिना गर्नेगरी आलटाल गर्दै आएको पाइएको छ ।

झण्डै एक वर्ष अगाडिदेखि सहकारीले बचतकर्ताहरुको रकम फिर्ता गर्ने जनाए पनि कहिले कार्यालय बन्द त कहिले सहकारीका सञ्चालक सम्पर्कविहीन, कहिले तालिका सूचना टाँस गरेर दिने आश्वासन दिए पनि हालसम्म बचतकर्ताहरुको एक अर्ब भन्दाबढी निक्षेप रकम जोखिममा परेको छ ।

साना तथा ठूला व्यवसायीहरुसँग दैनिक बचत उठाएको सहकारीमा दैनिकजसो पैसाका लागि बचतकर्ताहरु आउने जाने गर्छन् । तर उनीहरु पैसा पाउने आशामा आए पनि रित्तो हात लिएर फर्किन्छन् ।

काठमाडौँका मिटरब्याजी र जग्गामा लगानी गरेको सहकारीको पैसा केही समय अगाडि सरकारले कडाइ गरेपछि उनीहरुको भागाभाग भए पश्चात् १ हजार ८ सय बचतकर्ता पैसा निकाल्न आएको भए पनि नपाएपछि सहकारी टाट पल्टिएको रहस्य बाहिरिएको थियो । 

सहकारीले पटैपटक फिर्ता गर्ने जनाए पनि व्यवहारमा फिर्ता नगरेपछि सहकारीबाट दुःख पाएका करिब दुई सय बढीले लिखित उजुरी दिएको बताइएको छ । 'एक वर्ष बितिसक्यो बचत रकम पाएनौँ, परिश्रमबाट आएको पैसा केही बचत गरौँ भनेर गरियो, सोही पैसा डुब्न थालेपछि कानुनी प्रक्रियामा नगई भएन', एक बचतकर्ता देवीलाल भट्टराईले भने ।

लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका देउखुरी दाङमा मंगलवार उजुरी दिएको बताउँदै भट्टराईले त्यहाँबाट पनि न्याय नमिलेमा अदालत जानेसमेत बताए ।

सो सहकारीबाट पीडित भएको बुटवलको सुख्खानगरमा फोटो स्टुडियो गर्दै आएका टेकवहादुर मगरले पनि गुनासो गरे ।  उनले भने, 'म धेरै पटक सहकारी धाएँ तर पाइन । धेरै पैसा त छैन २०/२५ हजार छ । पसलबाट हुने कारोबारबाट केही पैसा छुट्टाएर बचत गरेको त्यही पैसा डुब्यो । अहिले आर्थिकमन्दीका बेला त्यही पैसा ठूलो बनेको छ ।'

सहकारीमा दैनिक बचत, मासिक, सदस्य बिना खुल्ला बचत र लाखौँ रुपैयाँ मुद्धतिसमेत नागरिकहरुले जम्मा गरेको उल्लेख छ । सहकारी दर्ता अधिकारी कार्यालयका रजिष्ट्रार भीमप्रसाद तिवारीले बचतकर्ताहरुको रकम हिनामिना गर्ने सहकारी संस्थालाई नियमानुसार कारबाही हुने बताउँदे सम्बन्धित पीडित व्यक्तिहरुबाट उजुरी दर्ता भइसकेकाले सहकारीको अनुसन्धान र कानूनी कारबाहीको बाटो खुलेको बताए । 

उनले यसको अध्ययन गर्ने, कागजातलाई नियन्त्रणमा लिएर सूक्ष्म अध्ययन पश्चात त्रुटिहरु फेला परेमा कारबाहीको प्रक्रिया अघि बढाएर बचतकर्ता एवं शेयरधनी समेतलाई रकम फिर्ता गर्न लगाउने जनाए । लुम्बिनी प्रदेशमा यस्ता ३० भन्दा बढी सहकारीहरुलाई कारबाही गर्न उजुरी परेको रजिस्ट्रार कार्यालयले जनाएको छ। 

रजिस्ट्रार तिवारीले भने,  'म स्वयं दुईपटक गएर यो समस्या तुरुन्त सुल्झाउ भनेर सुझाब दिएको हुँ, जिल्ला बचत संघ र केन्द्रीय बचत संघको टोली पनि ३/४ पटक गएर भन्यो, सुनुवाइ भएन । अब कारबाही प्रक्रियाका लागि हालसम्म आएका उजुरी कागजात सहित जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पत्राचार गर्छौँ ।'

उनले भने, 'यसका केन्द्रीय अध्यक्ष ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्षसमेत रहेका जीबी राईलाई यतिबेला अन्य ठगीको नाममा पक्राउ पुर्जी जारी भइसकेको छ । रजिस्ट्रार कार्यालयकाअनुसार सुप्रिममा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त) का छोराको पनि लगानी रहेको भन्ने सूचना पाइएको छ थप यसबारे अध्ययनलाई अगाडि बढाउने छौँ ।'

यता सुप्रिम सहकारी बुटवल प्रधान कार्यालयका अध्यक्ष ओमप्रकाश गुरुङ भने सम्पर्कमा आउँदैनन्। करिब ६ महिना अगाडि २ महिनाभित्र बचतकर्ताहरुको रकम भुक्तानी गरिसक्ने बताएका गुरुङको भिडियो क्लिप सुरक्षित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ