काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक ७.२५ अङ्कले वृद्धि भई २,७२६.४९ विन्दुमा पुगेको छ।
बजारमा अन्य सूचकहरूमा भने मिश्रित नतिजा देखिएको छ। ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले घटेर ४७२.४२ अङ्कमा झरेको छ भने फ्लोट सूचक ०.१९ अङ्कले बढेर १८६.६२ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने स्थिर रहँदै १६०.०२ कै स्थितिमा कायम रहेको छ।
आज विभिन्न कम्पनीका १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयरहरू खरिदबिक्री हुँदा कुल रु ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ बराबरको कारोबार भएको छ।
बजारमा रहेका कुल १३ वटा उपसमूहमध्ये आज ५ वटा उपसमूह बढेका छन् भने बाँकी ८ वटा उपसमूह घटेका छन्। आज कारोबारमा आएका कम्पनीहरूमध्ये १०३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ वटा कम्पनीको घटेको छ। यसैगरी, १३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
नेप्सेको तथ्याङ्कअनुसार आज एभरेष्ट कलर लिमिटेड, कालिका हाइड्रोपावर र बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने नबिल बैंक डिबेञ्चर, एनआइबिएल ग्रोथ फन्ड र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य घटेको छ।