arrow

सात सय ३२ जनामा डेंगी संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
dangue.jpg

दमौली (तनहुँ)। तनहुँमा सात सय ३२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । साउन महिनायता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ जनामा डेंगी संक्रमण पुष्टि भएको हो । डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको डेंगीबाट मृत्यु भएको हो । 

स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा डेंगीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरे । अधिकारीले डेंगी संक्रमण परीक्षणका लागि किट पर्याप्त मात्रामा रहेको जानकारी दिए । उनले भने, “दमौली अस्पतालमा डेंगी परीक्षणका लागि किट पर्याप्त मात्रामा छ ।”

गत वर्ष जिल्लामा डेंगीबाट संक्रमित हुनेको सङ्ख्या एक सयभन्दा बढी थियो । लामखुट्टेको टोकाइबाट डेंगी हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको अधिकारीले बताए । डेंगीबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । आजभोलि डेंगी ज्वरो नेपालका विभिन्न भागमा देखा परिरहेको छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र बर्सातको मौसम सुरु भएपछि डेंगी ज्वरोको प्रकोप बढ्न थाल्दछ ।

एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यसको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, खाना अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगीका लक्षण हुन् ।

चिकित्सकका अनुसार डेंगीबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सँधै राति र दिउँसो पनि झूलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । 

डेंगी परीक्षणका लागि जिल्लाका स्वास्थ्य संस्थाले बढी शुल्क लिएपछि दमौली बजारमा सञ्चालित विभिन्न अस्पताल तथा क्लिनिकको मङ्गलबार अनुगमन गरिएको छ । दमौली बजारमा सञ्चालित अस्पताल तथा क्लिनिकले डेंगी परीक्षणका लागि चर्को शुल्क लिएको गुनासोपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले डेंगी परीक्षण गर्दा बढी शुल्क लिएको गुनासो आएको जानकारी दिए । सोही विषयमा प्रजिअ छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले बढीमा रु छ सयभन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । डेंगी परीक्षण गर्ने किटको औषत मूल्य तथा छिमेकी जिल्लाको अभ्याससमेतलाई दृष्टिगत गरी प्रतिपरीक्षण बढीमा रु छ सयभन्दा बढी शुल्क नलिने निर्णय भएको सहायक प्रजिअ गैह्रेले बताए । 

बैठकले डेंगी परीक्षणका लागि निर्धारण गरिएको शुल्कभन्दा बढी शुल्क नलिने सम्बन्धमा ल्याब सञ्चालक जिम्मेवार हुने निर्णय गरेको छ । यसका साथै जिल्लामा डेंगी परीक्षण गर्ने किटको कृत्रिम अभाव हुन नदिन र तोकिएभन्दा बढी शुल्क असुल उपर गर्न नदिनका लागि दमौली अस्पताल तथा स्वास्थ्य कार्यालयले नियमित रुपमा अनुगमन गरी प्रतिवेश पेस गर्ने निर्णय गरिएको छ । जिल्लामा डेंगी रोग बढ्दो क्रममा रहेको हुँदा रोकथाम तथा नियन्त्रण गर्न सरोकारवाला सबै निकायहरुले आपसी समन्वय एवं सहकार्य गर्ने निर्णय भएको छ  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ