arrow

आफ्नो हात जगन्नाथ

चार वर्षअघि नै अवकाशबाट रोकिएका कर्णेल अधिकारीको फेरि थपियो तीन वर्ष म्याद

माओवादी लडाकुलाई सेनामा समायोजन गरिँदा कर्णेल पाएका प्रतीक्षा सोमबारबाट अवकाशमा जानुपर्नेमा प्रचण्ड सरकारले गर्‍यो जागिर थमौती 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
army-maoist-ladaku-yambahadur-adhikari-colonel.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले नेपाली सेनाका कर्णेल यामबहादुर अधिकारीको अवकाशलाई जानबाट फेरि पनि रोकेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय उच्च स्रोतका अनुसार माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गरिँदा सबैभन्दा माथिल्लो दर्जा (कर्णेल) पाएका यामबहादुर अधिकारी (प्रतीक्षा) असोज १ गते सोमबारबाट अवकाशमा जानु पर्नेमा रक्षा मन्त्रालयलाई पत्राचार गरेर जागिर थमौती गर्न भनेपछि कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले जागिर थमौती गरेका हुन् ।

कर्णेल अधिकारीको यसअघि नै अवकाश सकिएको थियो । २०७६ असोजमै सकिएको भए पनि सैनिक नियमावली अनुसार एकपटकका निम्ति सहायक रथीमा पदोन्नती दिन सकिने व्यवस्थालाई टेकेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले बढुवा गरेको थियो । 

 त्यसको म्याद चार वर्षको हुन्छ र सोमबार सकिदैँथियो । फेरि पनि सरकारले सैनिक नियमावली अनुसार चाहँदा अर्को तीन वर्ष म्याद थपिन सक्ने व्यवस्थालाई पछ्याउदै थप तीन वर्ष जागिर थमौती गरेको हो ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत शनिबार अमेरिका प्रस्थान गर्नुअघि नै रक्षा मन्त्रालयलाई पत्राचार गरिसकेका थिए । 

तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन गरिएकामध्ये सबैभन्दा माथिल्लो दर्जामा पुग्ने अधिकृत यमबहादुर अधिकारी ‘प्रतिक्षा’ बनेका थिए । उनलाई २०७६ असोज १ मा बसेको मन्त्रिपरिषद बैठकले सहायक रथीमा बढुवा गरेको थियो । 

सरकारले विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा पदोन्नति गरेको थियो । नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार चार वर्षको पदावधि सकिएपछि उनको असोज १ बाट पद स्वतः खारेज हुनुपर्ने हो । तर आफ्नो हात जगन्नाथ गर्दै फेरि तीन वर्ष म्याद थपिएको छ । 

विशेष पद भएकाले स्वतः खारेज हुनुपर्नेमा उल्टै प्रधानमन्त्रीले म्याद थप गरेका हुन् । विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि भएको समायोजनका क्रममा उनी उपसेनानी बनेका थिए । 

त्यसको केही समयमै उनी महासेनानी (कर्णेल) बन्न सफल भएका थिए । त्यतिबेला शान्ति प्रक्रिया अझै सकिइनसकेको अवस्थामा सकारात्मक सन्देश प्रवाह गर्न पनि उनलाई बढुवा गरिएको हुनसक्ने सैनिक अधिकृतहरुले बताएका थिए । 

किनकि उनले सहायक रथी बन्न चाहिने ‘हाइयर कमाण्ड कोर्स’ पूरा गरेका थिएनन् । तर यसपालि पनि बिना कुनै विशेष कारण उनको म्याद थमौती गर्नुलाई सेनाभित्र सहज रुपमा लिइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ