arrow

सम्पादकीय

संविधान कार्यान्वयन र पूर्णपालना अनिवार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
president-ram-baran-yadav-constitution-assembly-hall.jpg
तस्बिर : फाइल

संविधान सभामार्फत जनताले लेखेको नेपालको संविधान २०७२ निर्माण भएको आठ वर्ष पूरा भएको छ । आठ वर्षको अवधिमा पनि संविधान पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । यसको प्रमुख कारण राजनीतिक अस्थिरता नै हो । 

२००७ सालमा प्रजातन्त्र आएदेखि नै संविधान सभाबाट जनताले आफ्नो संविधान आफैँ लेख्ने योजना महानायक वीपी कोइरालाले बनाएका भए पनि तत्कालीन कांग्रेसको आफ्नै आन्तरिक किचलोले सम्भव भएन । झण्डै सात दशक जनताको संविधान लेख्नका लागि गरेको संघर्षपछि संविधान सभाबाटै बनेको संविधानलाई पनि अपूर्ण पार्ने प्रयास भइरहेको छ । 

संविधान राजनीति समझदारीको दस्ताबेज हो । संविधानमै पनि स्पष्ट साथ लेखिएको छ कि विशेष बुँदा बाहेक संशोधन गर्न सकिन्छ । संशोधन भएको पनि छ । जतिसक्यो राम्रो र सबैका लागि अपनत्व ग्रहण गर्ने गरी संविधान पटक पटक संशोधन गरेर सर्वस्वीकार्य बनाउन सकिन्छ । 

तर दलहरुबीचका आपसी द्वन्द्व र सत्ताको दौडले गर्दा संविधानको पूर्ण कार्यान्वयन अझै हुन सकेको छैन । दलहरुले विभिन्न विधेयकहरु बनाएर संविधानलाई पूर्ण कार्यान्वयन गर्नमा रुची नै देखाएका छैनन् । स्वार्थ समूह बाझिँदा र सत्ताका लागि संविधानलाई हतियार बनाउँदा यो समस्या आइरहेको छ । 

त्यतिमात्र होइन जसले संविधान लेखे उनीहरुले नै संविधानको पालना गरिरहेका छैनन् । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म कसैले पनि संविधानको पूर्ण पालना गरेका छैनन् । 

जनगुनासो पनि यही छ कि संविधानको पालना गर्ने ‘निर्धा जनता’ ले मात्रै हो । तर जनताले चुनेर पठाएका जनप्रतिनिधिहरु भक्षक भए भने त्यसको सजाय कसले पाउने ? 

हुन पनि संविधान जारी भएपछिका सरकार प्रमुखदेखि लिएर राष्ट्रपतिसम्मले संविधानको उल्लंघन गरेका छन् । केपी शर्मा ओलीले त संविधान विपरीत दुई पटक संसद विघटनको सिफारिस गरे । अनि ओलीको लहलहैमा लागेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरिदिइन् । 

संविधानको पालना गर्नुपर्ने राष्ट्रपतिले थुप्रै कानून मिच्ने क्रममा संसदबाट दुईपटकसम्म पारित भएको नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी थन्क्याइदिइन् । 

उनले त गल्ती गरिन् नै हालका राष्ट्रपति रामचन्द्र पौडेलले त्यही थन्क्याएको नागरिकता विधेयकलाई विधि नपुर्याइ प्रमाणीकरण गरिदिए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको दबाबमा उनले प्रमाणीकरण गरे । 

पौडेलले आफ्नो पदीय गरिमाको दुरुपयोग गर्दै जघन्य हत्याका अपराधीलाईसमेत आममाफी दिएर अर्को पटक संविधान मिचेका छन् । 
यसरी निरन्तर संविधानको संरक्षण गर्नुपर्ने व्यक्तिबाटै संविधानको उल्लंघन हुन्छ भने संविधानको गरिमा पनि घट्दै जान्छ । 

संविधान निर्माणको आठ वर्षसम्म पूर्ण कार्यान्वयनमा कसैको पनि इच्छा नजानु दुर्भाग्य नै हो । अनि संविधानको पूर्ण पालना नगर्नु अर्को दुर्भाग्य हो । 

२००४ सालदेखि सातौँ पटकमा धेरै भन्दा धेरैको सहमतिमा बनेको संविधानको जतिसक्यो छिटो पूर्ण कार्यान्वयन होस् र पूर्ण पालना होस् । संविधान दिवसको शुभकामना !


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ