arrow

बुटवल सुन प्रकरण:

सुन तस्करीका नाइके इन्द्रलाल फरार, भरिया ड्राइभर जेल चलान

logo
नारायण वली,
प्रकाशित २०८० असोज ४ बिहिबार
gold-butwal.jpg

रुपन्देही । गत असार १० गते रुपन्देहीको कालीदह नाका हुँदै भारत लैजाँदै गर्दा कारको गियर बक्सभित्र लुकाई राखेको साढे दुई किलो सुन सशस्त्र प्रहरीले बरामद गरेको थियो । सुन तस्करीमा संलग्न बुटवलको बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्रलाल सुनारलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

केन्द्रीय स्तरमा नै चर्चा कमाउन सफल बनेको सुन प्रकरणमा संलग्न भएका तस्करहरूलाई काठमाडौँमा प्रहरीले पक्राउ गर्ने र अनुसन्धानलाई निरन्तरता दिइरहेका बेला रुपन्देही प्रहरीले भने झण्डै २ किलो सुनका तस्करी व्यापारी सुनारलाई ८७ दिन हुँदासम्म पनि पक्राउ गर्न सकेको छैन ।

फलतः तस्करीलाई पक्राउ गरेर कानुनी कारबाही गर्नुपर्ने भए पनि उक्त सुनका भरिया चालकलाई ६० दिनसम्म हिरासतमा राखेर पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको मुद्दा शाखाले जनाएको छ । 

शाखाका अनुसार गत भदौ ७ गते कारका चालक दाङको घोराही उपमहानगरपालिका वडा न-१० का हुमानन्द गिरीलाई चलान गरिएको जनाइएको छ । बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कारलाई सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, डण्डाको टोलीले चेकजाँच गर्दा इट्टा आकारका दुई थान सुन बरामद गरेको थियो ।

इट्टाजस्तै रङ र आकार भएको झण्डै दुई किलोको शङ्कास्पद वस्तु बरामद गरी थप अनुसन्धान गर्नका लागि सिद्धार्थनगर सुनचाँदी व्यवसायी सङ्घमा ल्याइएको र त्यहाँ जाँच गर्दा एक किलो ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएपछि रुपन्देहीका सुन पसलमा तरङ्ग छाएको थियो । 
 
सशस्त्र प्रहरीले बरामद सुन र कारलाई भैरहवा भन्सार कार्यालयमा बुझाएर थप अनुसन्धान अगाडि बढाए पनि तस्करका नाइके सुनारलाई कानुनी कट्घरामा ल्याउन प्रभावकारी कदम चाल्न नसकेको स्थानीय सरोकारवालाको भनाई छ । भन्सार कार्यालयले बालाजी र लक्ष्मीपति सुनचाँदी पसलमा सिल गरे पनि तर त्यसभित्र के कति सुन थियो भन्ने बारेमा बताउन चाहँदैन ।

बालाजी सुनचाँदी पसल इन्द्रलाल सुनारले चलाउँछन् भने लक्ष्मीपती सुनचाँदी पसल इन्द्रकी श्रीमती चलाउने गरेको बताइएको छ ।

घटनापछि फरार रहेका बालाजीका सञ्चालक भारतमा लुकेर बसेको स्रोतले जनाएको छ । बुटवलमा सुन पसलसँगै अवैध सुनको धन्दा चलाउँदै आएका सुनारले अकुत आर्थिक लाभ गरेको बुझिएको छ । 

यसभन्दा पहिले पनि पैसा बरामद हुने र पटक पटक उजुरी पर्ने गरेको भए पनि आर्थिक चलखेलको प्रभावले छुटकारा पाउँदै आएको खुलेको छ । जसका कारण उनी पेशेवर सुन तस्करीको रूपमा चिनिने गरेको नाम नबताउने सर्तमा एक सुन व्यापारीले बताए । 

सरोकारवाला भन्छन्, कतै चालकलाई जेल चलान गरेर प्रमुख तस्करीलाई उन्मुक्ति दिने गरि भन्सारदेखि अन्य निकायसम्म चलखेल भएको त छैन, हामीलाई शङ्का छ । "सरोकारवालाले शङ्का गरेजस्तै भैरहवा भन्सार कार्यालयका सूचना अधिकारीले यसबारेमा स्पष्ट बोल्छन् न फोनै उठाउँछन् ।"

सुन तस्करीमा प्रयोग गरिएको सवारीका चालकको बयानका आधारमा करिब हप्ता दिनपछि बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपति सुनचाँदी पसलको संलग्नता रहेको खुलेपछि दुवै पसलमा सिल गरिए पनि तस्करलाई समात्न प्रहरी असफल हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ