arrow

लेखापढी व्यवसायलाई मर्यादित बनाऔँ : मन्त्री श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
Ranjita shrestha.jpg
तस्बिर-फाइल

भरतपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले लेखापढी व्यवसायलाई मर्यादित बनाउन आग्रह गरेकी छन् ।

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको शनिबार चितवनको भरतपुरमा आयोजित सातौँ राष्ट्रिय परिषद् बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई सहजरूपमा सेवा प्रदान गर्दै पारदर्शी काम गर्न व्यवसायीलाई आग्रह गरिन् ।

“मालपोत, नापीका कर्मचारी र लेखापढी व्यवसायीलाई सेवाग्राहीबाट विभिन्न आरोप लाग्दै आएको छ”, उनले भनिन्, “सेवाग्राहीमैत्री काम गरेर आगामी दिनमा आरोप आउने परिस्थितिको अन्त्य हुनुपर्छ ।”

उनले लेखापढी व्यवसायीले सेवा शुल्क पारदर्शीरूपमा लिन र पहिचान दिने पोशाक लगाउन आग्रह गरिन् ।

मालपोत, नापी र सेवाग्राहीबीच पुलको काम लेखापढी व्यवसायले गरेको उल्लेख गर्दै व्यावसायिक सुरक्षाका लागि सरकारले सहयोग गर्ने मन्त्री श्रेष्ठले बताइन् । 

भूमि सुधार, मालपोत र नापीबाट प्रदान हुने सेवा सरल, सहज र छिटो-छरितो बनाउन सहयोगी संस्थाका रूपमा लेखापढी व्यवसायीले सहयोग गरिरहेको उनले बताइन् । 

लेखापढी व्यवसायलाई जिम्मेवार निकाय मानेको भन्दै व्यावसायिक मर्यादामा रहेर काम गर्न मन्त्री श्रेष्ठले निर्देशन दिइन् ।

सरकारले मालपोत र नापीको काम अनलाइन प्रणालीबाट गर्ने गरी रुपान्तरण गरिरहेको मन्त्री श्रेष्ठको भनाइ छ । 

उनले सेवाग्राही र कर्मचारीसँग निरन्तर अन्तरक्रिया तथा छलफल गरेर सेवा प्रवाहलाई सुधार गर्दै लैजानुपर्ने बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ