arrow

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न परिसङ्घ र सीसीपीआईटीबीच समझदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
CNI-CCPIT-China.jpg

काठमाडौं।  नेपाल उद्योग परिसङ्घ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रवर्द्धनका लागि नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका अवसरमा सिएनआई र सीसीपीआईटीबीच आज उक्त  समझदारी भएको हो । समझदारी पत्रमा सिएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गरेका छन् । 
समझदारीसँगै नेपाल चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरहरूको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र नेपाल चीन दुवैका व्यावसायिक समुदायको विकासका लागि सहजीकरणमा सहजता आउने विश्वास गरिएको छ । 
काउन्सिलले दुई देशबीच व्यावसायिक गतिविधिलाई सुव्यवस्थित गर्न, अनुसन्धान र अध्ययन–सम्बन्धित पहलहरू सञ्चालन गर्न, लगानी अभिवृद्धिका लागि नेटवर्किङका अवसरहरू सिर्जना गर्न, व्यावसायिक भ्रमण आदानप्रदान गर्न, सम्मेलन तथा संवादलगायतका गतिविधि गर्नेछ । 
यी लक्ष्य प्राप्त गर्न परिसङ्घ र सीसीपीआईटीले काउन्सिलको गठनसहित सहकार्यको रोडम्याप तयार पारेका छन् । नेपाल चाइना बिजनेस काउन्सिलमा चार सदस्य रहनेछन् र प्रत्येक संस्थाबाट दुई जना प्रतिनिधि हुनेछन् ।
परिसङघका अध्यक्ष अग्रवालले यस समझदारीले नेपाल चीनबीच व्यावसायिक सम्बन्ध अभिवृद्धिसँगै चिनियाँ लगानी तथा प्रविधि भित्र्याउन नेपाल–चीन व्यावसायिक परिषद् महत्त्वपूर्ण माध्यम बन्ने बताए । उनले परिषद्ले देखिने गरी प्रभावकारी रूपमा काम गर्ने विश्वास समेत व्यक्त गरे । 
समझदारी हस्ताक्षर कार्यक्रममा परिसङ्घका तर्फबाट निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु निर्वाण चौधरी, भीम घिमिरे समेत सहभागी रहेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ