arrow

सुन तस्करी प्रकरण

आयोगको कार्यादेशका बारेमा तीन दलका नेताहरुबीच छलफल 

उच्चस्तरीय छानबिन आयोग गठन गर्न एमालेको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
gold-galaudai.jpg

काठमाडौं ।  सुन तस्करी प्रकरण छानबिनका लागि गठन गरिने जाँचबुझ आयोगको कार्यादेशका बारेमा प्रमुख तीन राजनीतिक पार्टीहरूका बीचमा छलफल भएको छ ।  आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि जाँचबुझ आयोग गठन गर्न सो आयोगको कार्यादेशको सम्बन्धमा प्रमुख तीन राजनीतिक दलका नेताहरुबीच छलफल भएको हो ।

 छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल, एमालेका सचेतक महेश बर्तौला र नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकको उपस्थिति रहेको थियो । 

गत भदौ ६ गते संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका बीचमा सुन तस्करीबारे छानबिन गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम असोज ५ गते नेपाल सरकारले आयोग गठन गरी सोही दिनदेखि कार्य प्रारम्भ गर्ने सहमति भएको थियो ।

 यद्यपि आजको दिनसम्म आयोग बन्न सकेको छैन । आयोग बनाउने सम्बन्धमा बल्ल राजनीतिक दलहरूले छलफल शुरु गरेका छन् ।

 छलफल पछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुन तस्करी प्रकरणको अनुसन्धान सरकारी निकायले गरेको भन्दै सोही अनुसन्धानलाई आधार मानेर थप अनुसन्धान गर्नुपर्ने आफूहरूको धारणा रहेको बताए । 

शून्य स्थितिबाट अनुसन्धान शुरु गर्दा अनुसन्धान, छानबिनकै लागि गठित सरकारी संयन्त्रको अस्तित्व नै समाप्त हुने भएकाले सीआईबीको अनुसन्धानलाई आधार मान्दै थप अनुसन्धान गर्नुपर्ने उनको भनाई छ । 

छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करीको प्रकृति, दायरा, परिमाण र संलग्न व्यक्तिहरूका बारेमा स्वतन्त्र र निष्पक्ष ढङ्गले छानबिन गर्ने आयोग बन्नुपर्ने बताउँदै कार्यादेश प्रष्ट रूपमा बनाउनुपर्ने बताए । उनले आयोगको काम, कर्तव्य र अधिकारमा स्पष्टता हुनुपर्ने बताए । उनले आयोगलाई शक्तिशाली बनाउनुपर्ने बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ