arrow

एमाले बागमतीमा सर्वसम्मतिको प्रयास जारी, प्रतिस्पर्धा हुने सङ्केत

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ९ मंगलबार
kp-sharma-oli-uml.jpg

काठमाडौं । एमाले बागमती प्रदेशको अधिवेशन सोमबारबाट सुरु भएको छ । प्रथम अधिवेशनमा चारजना अध्यक्षका आकाङ्क्षी छन् । तर, अधिवेशन सुरु भएको मध्यरातसम्म अध्यक्षमा कुनै सहमति बन्न सकेको छैन । विकल्पसहितको ठोस प्रस्ताव अघि नबढेपछि चार आकाङ्क्षीमध्ये दुई जना उम्मेद्वारबीच चुनावी प्रतिस्पर्धाको सम्भावना बढेको हो । 

एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि अहिलेसम्म तीस जनाभन्दा बढिले आकाङ्क्षा राखेपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सर्वसम्मत गर्न निर्देशन दिएका छन् । अध्यक्षमा सर्वसम्मति नहुँदा उपाध्यक्षसहितका पदहरूमा अन्तिमसम्म कम्तीमा डेढ दर्जन उम्मेद्वारका बीचमा प्रतिस्पर्धा हुने बागमतीका एमाले नेताहरूले जनाएका छन् । 

अहिलेका अध्यक्ष केशव पाण्डे, बागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहाल र कृष्णभक्त पोखरेलले नेतृत्वका लागि दाबी गर्दै अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, सुरेन्द्र पाण्डे र महासचिव शङ्कर पोखरेलसहित नेता र प्रतिनिधिसँग लबिङ गरिरहेका छन् । तर, ओली, पौडेल, पाण्डे र पोखरेलले औपचारिक रूपमा कसैको नाममा पनि सर्वसम्मतिको सङ्केत दिएका छैनन् । राती अबेरपनि उनीहरुबीच नेतृत्वका लागि छलफल भए पनि विना निष्कर्ष टुङ्गिएको थियो ।  अन्तिममा पाँच जना आकाङ्क्षीमध्ये दाहाल र ढुंगेलबीच चुनावी प्रतिस्पर्धाको सम्भावना बढेको भएता पोखरेलले पनि आफ्नो दाबी कायमै राखेका छन् ।

ढुङ्गेलले सर्वसम्मतिका लागि प्रयास भइरहे पनि चुनावी प्रतिस्पर्धा हुँदा पनि उम्मेदवारी मनोनयन गर्ने मानसिकताका साथ तयारी अवस्थामा रहेका छन् ।  अध्यक्षका अर्का दाबेदार दाहालले प्रतिनिधिको विश्वास जितेर नेतृत्व लिन चाहेको बताउँदै प्रतिनीधिबीच लबिङ गरिरहेका छन् । सर्वसम्मतिका लागि कोसिस हुने कुरा राम्रो भए पनि नेतृत्व छनोटमा पार्टीको मूल नेतृत्व र पदाधिकारी कसैले पनि कार्यकर्ताको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्न नहुने भन्दै उनले लबिङ गरिरहेका छन् । अहिलेका अध्यक्ष पाण्डे र बागमतीका पूर्व सभामुख श्रेष्ठ भने नेतृत्वले सर्वसम्मत अगाडि सारे वा चुनावी प्रतिस्पर्धाको मनस्थिति बनाउन निर्देशन दिए मात्रै उम्मेदवार उठ्ने तयारीमा छन् । 

अहिलेका अध्यक्ष पाण्डेले अन्तिमसम्म नेतृत्व छनोटका लागि सर्वसम्मतिकै लागि कोसिस हुने बताउँदै आए पनि दाबी छाडेका छैनन् । स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज गुरु बरालले नेतृत्वका लागि सर्वसम्मति जुटिनसके पनि अझै आशा राखेर प्रयास गरिरहेको बताए  ‘सर्वसम्मति भएन भने त निर्वाचनकै बाटोमा जान्छ तै पनि सर्वसम्मति आशा छ’ स्थायी कमिटी सदस्य बरालले भने । 

अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदै छन् । सोमबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको  अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गरेका थिए । अधिवेशनलाई प्रविधिमैत्री बनाउन उद्घाटन रोबोटको माध्यमबाट गरिएको थियो । नेतृत्व चयनमा सर्वसम्मति नभए इलोक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गराइने गरी अन्तिम तयारी भइरहेको छ । अधिवेशनमा सहभागी हुने ११ सय ३८ प्रतिनिधिमध्ये एक हजार २८ जना प्रतिनिधि छनोट भइसकेका छन् । 

बागमती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यद्वय महेश बस्नेत र गोकूल बाँस्कोटाको भूमिका निर्णायक भएकाले अध्यक्ष र पदाधिकारीका आकाङ्क्षीहरू निरन्तर उनीहरूको सम्पर्क र परामर्शमा रहेका छन् । एक दशकभन्दा बढी समय बागमती र उपत्यका इन्चार्ज रहेका पाण्डेको एकल प्रभावमा कम्तीमा ३ सय ५० सम्म प्रतिनिधि रहेको एमाले वृत्तमा अनुमान छ ।  बाँकी प्रतिनिधिमा बाँस्कोटा र बस्नेतको उल्लेख्य प्रभाव छ । त्यस्तै, उपत्यकासहित महिला प्रतिनिधिमा शाक्यले निर्वाह गर्ने भूमिका पनि निर्णायक रहेको छ । 

त्यस्तै, प्रदेशबाट स्थायी समिति र पोलिटब्युरोमा प्रतिनिधित्व गर्ने प्रभावशाली नेताहरू काशीनाथ अधिकारी, पार्वत गुरुङ, आनन्दप्रसाद पोखरेल र शेरबहादुर तामाङ, अरुण नेपाल पनि निर्णायक छन् । बाँस्कोटा र बस्नेतले अहिलेसम्म सार्वजनिक रूपमा मुख खोलिसकेका छैनन् । तर, निकटस्थहरुलाई बाँस्कोटाले दाहाल र बस्नेतले ढुङ्गेललाई प्रतिनिधिहरूमाझ लबिङ गर्न थालेको स्रोतको दाबी छ । जसले गर्दा बागमतीमा उपाध्यक्ष पाण्डेसहितको अप्रत्यक्ष भूमिकामा बाँस्कोटा र बस्नेतबीच पार्टीभित्र वर्चस्वको लागि प्रतिस्पर्धा हुने देखिएको छ । 

अहिलेसम्म उपाध्यक्षमा दोलखाबाट ईश्वरचन्द्र पोखरेल, काभ्रेबाट कुमार खकुरेल र रामहरि सुबेदी, धादिङबाट भूमि त्रिपाठी, ललितपुरबाट नवराज सिलवाल र मधुसुदन पौडेल, चितवनबाट विजय सुबेदी र दावदोर्जे लामा, नुवाकोटबाट नारायण खतिवडा, मकावनपुरबाट महेश बर्तौलाले आकाङ्क्षा राखेका छन् । उनीहरुमध्ये बर्तौला संसदीय दलको सचेतक पनि छन् ।

त्यस्तै, सचिवमा सुभाष कर्माचार्य र  हस्त पण्डित चर्चामा छन् । दाहाल र ढुङ्गेल अध्यक्षको उम्मेदवार बने पोखरेल र कर्माचार्य उनीहरूमध्येकै टिमबाट सचिवको उम्मेदवार बन्नेगरी तयारीमा छन् । पोखरेल र कर्माचार्य दुवै एमाले उपाध्यक्ष पाण्डे निकट मानिन्छन् । नेकपा एसका कर्माचार्य डेढ महिनाअघि गोकूल बाँस्कोटाले नेकपा एसबाट एमालेमा प्रवेश गराएका थिए । सोही कारण दाहाल बाँस्कोटाको समर्थनमा अध्यक्षको उम्मेदवार बने कर्माचार्य सचिव उठ्ने र बस्नेतको समर्थनमा ढुङ्गेल अध्यक्षको उम्मेदवार बने पोखरेल सचिव उठ्ने सम्भावना बढेको स्रोतले जनाएको छ ।

उपसचिवमा दोलखाबाट डबल पाण्डे र कालिका पाठक, सिन्धुलीबाट खड्ग खत्री, काभ्रेबाट कञ्चन अधिकारी, भक्तकुमारी लामा र गीता बञ्जारा, भक्तपुरबाट भास्कर प्रधानाङ्ग, काठमाडौंबाट रत्न गुरुङ र उपेन्द्र पौडेल, धादिङबाट रमेश आचार्य र राधिका सापकोटा र सिन्धुपाल्चोकबाट अशोक चौंलागाईंलगायत आकाङ्क्षी छन् ।    मङ्गलवार सम्पन्न हुने अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित हुनेछ । कमिटीमा ३३ प्रतिशत महिला तथा १० प्रतिशत युवाका लागि सिट आरक्षण गरिएको छ । समावेशितालाई पनि ध्यान दिएर भूगोल र खुलासहित विभिन्न समूहबाट सदस्य निर्वाचित गर्ने तयारी छ । 

को को छन् पदाधिकारीमा? 

अध्यक्ष–केशव पाण्डे, सानुकुमार श्रेष्ठ, कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहाल

उपाध्यक्ष–ईश्वरचन्द्र पोखरेल, कुमार खकुरेल, रामहरि सुबेदी, भूमि त्रिपाठी, मधुसुदन पौडेल, दावदोर्जे लामा, नारायण खतिवडा, महेश बर्तौला, नवराज सिलवाल, विजय सुबेदी

सचिव–कृष्णभक्त पोखरेल, सुभाष कर्माचार्य र हस्त पण्डित 

उपसचिव–डबल पाण्डे, खड्ग खत्री, कञ्चन अधिकारी, भास्कर प्रधानंग, उपेन्द्र पौडेल, रत्न गुरुङ, रमेश आचार्य, कालिका पाठक, राधिका सापकोटा, भक्तकुमारी लामा, अशोक चौंलागाईं, गीता बञ्जारा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ