पाकिस्तान : आर्थिक सङ्कट चरम अवस्थामा पुगेपछि दूतावासका कर्मचारीले समेत पाएनन् तलब
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
455
Shares
तस्बिर : फाइल
इस्लामाबाद। पाकिस्तानमा आर्थिक सङ्कट चरम अवस्थामा पुगेपछि दूतावासका कर्मचारीले समेत तलब पाएका छैनन्। पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोग तथा राजदूतावासमा कार्यरत कर्मचारीको तलब पठाउन नसकेपछि कर्मचारीको तलब रोकिएको हो।
दूतावासका कर्मचारीले चार महिनादेखि तलब नपाएको, बिना पारिश्रमिक बस्नु परेको र बालबालिकाको विद्यालयको शुल्क तिर्नसमेत धौधौ भएको बताएका छन्।
समयमा आफ्ना सन्तानको शुल्क नतिरे उनीहरू विद्यालयबाट निष्कासित हुन सक्ने चिन्ताले पनि कूटनीतिक कर्मचारीलाई पिरोलेको छ।
पाकिस्तानको अर्थ मन्त्रालयले गत डिसेम्बरमा सबै कर्मचारीको तलब निकासा गरिएको दाबी गरे पनि मार्चको तलब प्राप्त नभएको दूतावासका कर्मचारीले बताएका छन्। पाकिस्तानी विदेश मन्त्रालयले पनि समयमै तलब निकासा गर्न अर्थ मन्त्रालयका अधिकारीलाई अनुरोध गरेको जनाएको छ।
संयुक्त राज्य अमेरिका, हङकङ र सिंगापुरका कूटनीतिक नियोगका कर्मचारीले तलब नपाएका हुन्।