arrow

प्रचण्डसँग अमेरिकी विकास साझेदार पक्ष सशङ्कित

चीनबाट प्रचण्ड फर्कनु र एमसीसीकी प्रमुख कार्यकारी अधिकृत आउनु एकै साथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
prachanda-2080-04-17a.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर स्वदेश आउनु र अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटसहितको टोली काठमाडौं आउनु एकै साथ भएको छ । 

चीनबाट शनिवार प्रधानमन्त्री प्रचण्ड स्वदेश आए लगत्तै एमसीसीकी प्रमुख कार्यकारी अधिकृत नेपाल आएकी हुन् । आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको टोलीले  प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम छ । 

नेपालमा ५० करोड डलरको अमेरिकी सहायता परियोजना संसद्बाट अनुमोदन भएर कार्यान्वयनमा गएको घोषणा भइसक्दा पनि ठेक्का विवाद भएका बेला यो टोली नेपाल आएको हो । यस्तो अवस्थामा सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले प्रचण्ड चीन भ्रमणबाट फर्कनु र एमसीसीकी प्रमुख कार्यकारी अधिकृत नेपाल भ्रमणको सन्दर्भ पारेर नेपाल भूराजनीतिक अवस्थाले गर्दा देशको अवस्था पेचिलो बन्दै गएको धारणा सार्वजनिक गर्‍यो ।  

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भूराजनीतिक अवस्थाले देश पेचिलो र जटिल अवस्थामा रहेको बताएर अमेरिकी विकास साझेदार पक्षलाई सशङ्कित बनाइदिए । उनी सभामुख हुँदा कुनै पनि हालतमा एमसीसी सांसदबाट पास नगर्ने भन्दै बसेका थिए । चिनियाँ पक्षले सापकोटा सांसद निर्वाचित भएपछि २०७४ सालमा रात्रिकालीन पार्टी दिएर स्वागत गरेको थियो । ‘भूराजनीतिक अवस्थाले गर्दा हाम्रो अवस्था अलि पेचिलो र जटिल छ । तर हामीले मेहनत गर्ने हो भने देखापरेको समस्याको समाधान गर्न सकिन्छ । सम्भावना पनि छ यसमा,’ सापकोटाले भने, ’अहिले चुनौतीभन्दा बढी सम्भावना छ । यस्तै बेलामा ढोकाहरू खुल्छन् ।’

उनले प्रचण्डको चीन भ्रमणको सन्दर्भ जोडेर भूराजनीतिको बारेका आफ्नो धारणा राखेका थिए । पत्रकार सम्मेलनमा प्रचण्डको भारत भ्रमण होस् वा संयुक्त राष्ट्र सङ्घको महासभामा जाँदा भएका सम्झौताहरू वा चीनसँग भएका सम्झौताले मुलुकलाई समृद्धितर्फ डोर्‍याएको दावी गरेका थिए । सापकोटाले पत्रकार सम्मेलन मार्फत सो धारणा राखे लगत्तै प्रचण्डले पार्टीको आन्तरिक बैठक बोलाएका छन् । चीन भ्रमणको ब्रिफिङ, विशेष रूपान्तरण अभियानको विषयमा छलफल गर्ने भनेर पदाधिकारी बैठक बोलाएको माओवादीका एक नेताले जानकारी दिए ।

बैठक  मङ्गलवार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । ती नेताका अनुसार बैठकमा सबै प्रदेश इन्चार्जले एक महिनाको समीक्षा रिपोर्ट प्रस्तुत गर्ने सम्भावना रहेको छ ।  ‘बैठकको एजेन्डा प्रधानमन्त्रीको चीन भ्रमण, पार्टी रूपान्तरण अभियान जोडिएको छ, खासगरी चिनियाँ कम्युनिष्ट पार्टीले दिएको सन्देशकै बारेमा पनि छलफल हुनेछ’, माओवादीका ती पदाधिकारीले भने । सेप्टेम्बर २५ को बिहान चीनको राष्ट्रिय जन कंग्रेसका अध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य झाओ लेजीसँग प्रचण्डले भेटघाट गरेका थिए । अध्यक्ष झाओ लेजीले नेपाल र चीनको सम्बन्धलाई प्रगाढ बनाउँदै लैजान राष्ट्रिय जनकंग्रेसले पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताएर प्रचण्डलाई मक्ख बनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ