arrow

चुनाव गण्डकीको, लडाइँ पीएस र केआरको

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
prithiv-subbha-gurung-khagaraj-adhikari.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । देशभर एमालेभित्र आन्तरिक प्रतिस्पर्धा चलिरहेका बेला गण्डकी प्रदेशको नयाँ नेतृत्व छान्न एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङकै टक्कर परेको छ । 

गण्डकी इन्चार्ज गोकर्ण विष्ट भए पनि पार्टीभित्र उपल्लो तहमा पोखरेल र गुरुङबीच टक्कर भएको हो । एमाले गण्डकीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै नयाँ नेतृत्व छान्न निर्वाचन नै हुने भएको छ । 

सोमबार उद्घाटन भएर शुरु भएको एमाले गण्डकीको प्रथम अधिवेशनमा पार्टीका शीर्ष नेताहरुले सहमतिका लागि थप समय मागेका भए पनि सहमति हुन नसकी प्यानलबीच निर्वाचन हुने भएको छ । 

सहमतिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि गण्डकी इञ्चार्ज विष्टसम्मले दबाब दिएका भए पनि उनीहरुको दबाब काम लागेन ।  

प्यानल नै बनाएर चुनाव लड्दा विभाजनको रेखा कोरिने भएकाले सहमतिलाई जोड दिइएको पार्टी नेताहरुले जनाएका छन् । 

गण्डकीमा खास गरेर उपमहासचिव पृथ्वी सुब्बा गुरुङ (पीएस) र स्थायी कमिटी सदस्य खगराज अधिकारी (केआर) को दुई समूहबीच टकराव भए पनि अहिले महासचिव पोखरेल पनि मिसिएका छन् ।  

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीद्वय गुरुङ र अधिकारीबीच को बलियो भन्ने जुँगाको लडाइँ भएकाले पनि नयाँ नेतृत्वका लागि चुनाव हुने निश्चित भएको हो । 

उपमहासचिव पीएसलाई एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलको साथ छ भने पूर्व संगठन विभाग प्रमुख केआरलाई एमाले महासचिव शंकर पोखरेलको साथ रहेको छ । 

एमाले गण्डकीको नेतृत्वका लागि दुवै समूहले चुनाव लड्नका लागि टिम तयार गरेका छन् । नेतृत्वले प्यानल बनाएर चुनाव लड्न निषेध गरे पनि पीएस र केआर समूहले प्यानल लिष्ट नै तयार गरेर चुनाव लड्ने तयारी गरेका छन् । 

पीएस समूहले नवराज शर्मालाई अध्यक्षका रुपमा अगाडि बढाएको छ भने सचिवमा धनञ्जय दवाडीलाई अगाडि सारेको छ । 

शर्मा वर्तमान तदर्थ समितिका अध्यक्ष र दवाडी सचिव हुन । केआर समूहले भने अध्यक्षमा मायानाथ अधिकारी र सचिवमा रश्मि आचार्यलाई अगाडि सारेको छ । 

मायानाथ र रश्मि दुवै पीएस समूहबाट हालैमात्र केआर समूहमा समाहित भएका हुन् । दुवै समूह आफूले अगाडि सारेका छन् । 

दुई समूहको लडाइँमा स्थायी कमिटी सदस्य किरण गुरुङ र सचिव पद्मा अर्याल भने मौन बसेका छन् । 

कसलाई सहयोग गर्ने भन्नेमा उनीहरु दुविधामा छन् । व्यक्तिगत रुपमा मायानाथलाई अध्यक्ष बनाउनु पर्ने पक्षमा भए पनि त्यता लाग्दा केआर गुट भनेर प्रचार हुने भय उनीहरुमा रहेको स्रोत बताउँछ । 

पीएस र केआर दुवै समूहले आफ्नो पक्षले जित्ने दाबी गरेका छन् । पीएस निकट स्रोतका अनुसार कुल ९ सय ७ जना प्रतिनिधिमध्ये ६ सय जना आफ्नो पक्षका रहेको दाबी सो समूहको छ । 

पीएस समूहमा गण्डकीका अधिकांश केन्द्रीय सदस्य ढल्किएको बताइन्छ । केआर समूह पनि निर्वाचन जित्न आवश्यक मत रहेको दाबी गर्छ । 

खास गरेर गुट अदलबदल भइरहेको र पीएस समूहका प्रभावशाली व्यक्तिहरु नै आफूतिर आएकाले नतिजा आफ्नो पक्षमा आउने केआर समूहको दाबी छ । 

पीएस समूहले आन्तरिक लोकतन्त्रका लागि पनि आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने जनाउदै आएको छ । 

पार्टी मुख्यालयले भने पीएस समूहलाई बाहिर राखेर आफ्नो समूहलाई मात्रै ल्याउने गरी तयारी थाल्न आदेश दिएको स्रोतको दाबी छ । 

‘कोशी र बागमतीबाट हौसिएको महासचिव समूहले आफ्नालाई मात्र अगाडि बढाउने सोच राखेको पाएका छौँ’, गण्डकीका एक नेताले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ