arrow

महासङ्घ अध्यक्ष ढकाल र इन्डोनेशियाका राजदूतबिच भेटवार्ता, भिसा र व्यापार सम्बन्धका बारेमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
chandra-dhakal-fncci-Indonesia-ambassador-meet.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत हेरु हार्तान्तो सुबोलोबिच महासङ्घको सचिवालय, टेकु, काठमाडौँमा बुधवार भेटवार्ता गरेका छन्। भेटका अवसरमा दुई देशबिच आपसी सहकार्य, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्ध विस्तारबारे छलफल भएको छ।

उक्त अवसरमा अध्यक्ष ढकालले इन्डोनेशिया सरकारले नेपाली पर्यटकलाई दिएको अन अराइभल भिसाको व्यवस्था पुन स्थापनाका लागि पहल गरिदिन राजदूतसँग आग्रह गरेका छन्।

इन्डोनेशियाले कोभिड महामारीदेखि नेपालीहरूलाई दिँदै आएको अन अराइभल भिसा रोकेको थियो।

नेपालका लागि गणतन्त्र इन्डोनेशियाका अवैतनिक वाणिज्य दूत समेत रहेका ढकालले नेपाल र इन्डोनेशियाबिच व्यापार अभिवृद्धि गर्न नेपालबाट हुने निर्यात बढाउन सहजीकरणको लागि राजदूतलाई आग्रह समेत गरेका छन्।

उक्त अवसरमा राजदूत सुबोलोले अध्यक्ष ढकालले उठाएका विषयमा आफूले सक्दो सहयोग गर्ने र यसकालागि इन्डोनेशिया सरकारसँग कुराकानी गर्ने बताएका छन्।

उनले नेपाली पर्यटकलाई दिइएको अन अराइभल भिसाको सुविधा पुनर्स्थापनाका लागि आफूले पहल गर्ने समेत बताए।

उनले नेपाली व्यवसायीले इन्डोनेशियामा धेरै वस्तुहरू निर्यात गरिरहेको बताउँदै थप निर्यातका लागि आफूले सहजीकरण गर्ने समेत बताए। नेपाल र गणतन्त्र इन्डोनेशियाबीच सुमधुर कूटनैतिक सम्बन्ध रहेको छ।

दुई देशबिचको व्यापारिक सम्बन्ध पनि बढ्दो क्रममा रहेको छ। नेपालले कार्पेट, चिया तथा टेक्टटाइल जस्ता वस्तुहरू इन्डोनेशियामा निर्यात गर्छ भने इन्डोनेशियाबाट पाल्म आइल, मसिनरी र इलेक्ट्रोनिक्स सामग्रीहरू आयात गर्ने गर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ