arrow

देशभर दंगा फसाद गराउन खोजिएको भन्दै चिन्ता, सुरक्षा निकाय हाइअलर्टमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
security-council-2080-06-17.jpg

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकभर धार्मिक दंगा फसाद गराउन खोजिएकोमा चिन्ता व्यक्त गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा सहभागीहरुले देशभर धार्मिक अतिवाद र दंगा फैलाउन खोजिएकाले सुरक्षा निकायलाई हाइअलर्ट रहन निर्देशन दिनेसम्मको छलफल भएको स्रोतले जनाएको छ । 

बैठकले पाँचौँ वार्षिक प्रतिवेदन स्वीकृत गरिएको छ । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले पाँचौँ वार्षिक प्रतिवेदन स्वीकृत गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने निर्णय गरेको छ । 

बैठकमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको छ ।

 ‘पछिल्ला केही दिनहरुमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृति भएका गतिविधिहरु, विभिन्न प्रदेशहरुको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोग लगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटनाहरु तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनु पर्ने भावी रणनीति सम्बन्धी विषयमासमेत छलफल भयो’, बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ । 

बैठकमा वर्तमान अन्तर्राष्ट्रिय क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धी समीक्षा भएको परिषद्ले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिवको उपस्थिति रहेको थियो । 

सुरक्षा परिषदमा प्रधानमन्त्री अध्यक्ष, संघीय सरकारको रक्षामन्त्री संघीय सरकारको गृहमन्त्री, संघीय सरकारको परराष्ट्रमन्त्री,संघीय सरकारको अर्थमन्त्री, संघीय सरकारको मूख्य सचिव, नेपाली सेनाका प्रधान सेनापति, संघीय सरकारको रक्षा सचिव सदस्य सचिव रहने व्यवस्था छ । 

हालै सरकारले सुरक्षा परिषदको बैठकमा भाग लिन पाउने गरी राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्ति गरेको छ । तर संविधानमा भने उनी बैठकमा सहभागी हुने व्यवस्था छैन । 

बुधबारको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने तीन वटै सुरक्षा प्रमुखलाई लिएर मधेस प्रदेशमा सुरक्षा गोष्ठी भन्दै गएकाले बुधबारको बैठकमा उपस्थित भएका थिएनन् । 

सुरक्षा परिषदको बैठकले नेपालगञ्जमा भएको धार्मिक घट्ना कुनै एक व्यक्तिले फेसबुकमा स्टाटस लेखिएकै कारण उत्पन्न भएको नभई त्यसमा कुनै नियोजित षडयन्त्र भएको निष्कर्ष निकालेको छ । 

असोज ११ गते मुस्लिम समुदाय मोहम्मद डेमा व्यस्त रहेका बेला नरैनापुरका एक युवाले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको नाम जोडेर फेसबुकमा आपत्तिजनक कुरा लेखेका थिए ।  

जार्बुद यादव नामको फेसबुक आईडीबाट धार्मिक निन्दासहित उक्त पोस्ट लेखिएपछि मुस्लिम समुदाय आक्रोशित भएको थियो । सोही आधारमा मात्रै त्यस घटनालाई हेर्न नहुने राष्ट्रिय सुरक्षा परिषदको निष्कर्ष रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ