arrow

हिमाली क्षेत्रको विकास सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
Surendra Raj panday.jpg

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन निर्माण भएको छ ।

जोमसोममा रु सात करोड ५९ लाखमा निर्माण भएको भवनको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।

गाउँपालिका भवनसँगै निर्माण भएको आपत्कालीन कार्यसञ्चालन केन्द्र र कृषि तथा पर्यटन महोत्सवको पनि उनले आजै उद्घाटन गरे । 

मुख्यमन्त्री पाण्डेले मुस्ताङ, मनाङ, उत्तरी गोरखाजस्ता गण्डकी प्रदेशभित्रका हिमाली क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको बताए ।

“प्रदेशका अन्य जिल्लाजस्तै विकासको गतिमा हिमाली जिल्लालाई पनि सँगसँगै लैजाने गरी सरकारले बजेट विनियोजन गरेको, कार्यक्रममा प्राथमिकता दिएका छौँ”, उनले भने, “मुस्ताङको विकासका लागि धार्मिक पर्यटनलाई प्राथमिकता दिएका छौँ ।”

मुक्तिनाथ, कागबेनीको प्रवर्द्धन र विकास जरुरी रहेको उनले बताए । 

“धार्मिक पर्यटन, साहसिक खेलको विकासले पनि मुस्ताङमा पर्यटन प्रवर्द्धन हुन सक्छ, यस वर्षको बजेटमा प्रदेश सरकारले यस विषयलाई प्राथमिकता दिएको छ”, उनले भने, “गण्डकी प्रदेश सरकारले मुस्ताङ जिल्लाका लागि यस वर्ष रु ८० करोड विकास बजेट विनियोजन गरेको छ । आगामी वर्ष यो बजेट रु एक अर्ब बनाउँछौँ ।”

मुस्ताङसम्म पुग्ने सडक स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले अहिलेको भन्दा ४८ किलोमिटर छोटो दूरीको बिरेठाँटी, म्याग्दी, घोरेपानी हुँदै तातोपानी जोड्ने सडकका लागि रु १० करोडमा बहुवर्षीय ठेक्का लगाएर चालु वर्षदेखि नै निर्माण सुरु गर्ने बतांए ।

कालीगण्डकी नदीको बहाव बस्तीको सतहभन्दा माथि आउँदा जोखिम बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले सर्वोच्च अदालतले शालिग्राम जोगाउन कालीगण्डकी उत्खनन गर्न नहुने अन्तरिम आदेश गरेकाले जोखिम दिनदिनै बढेको बताए ।

“शालिग्रामको आफ्नै महत्व छ, तर मानिसको ज्यानभन्दा शालिग्राम ठूलो हुन सक्दैन”, उनले भने, “बस्ती जोगाउन तत्काल उत्खनन गर्नुपर्ने आवश्यकता छ, कानुनी अड्चनका कारण देखिएको समस्या हल गर्ने दिशामा प्रदेश सरकार लागिरहेको छ ।”

मुस्ताङ कृषिको क्षेत्रमा पनि सम्भावना बोकेको जिल्ला भएको बताउँदै मुख्यमन्त्री पाण्डेले व्यावसायिक स्याउखेतीका लागि प्रदेश सरकारले अनुदान दिने भएकाले सामुदायिक खेतीतर्फ लाग्न स्थानीयलाई अनुरोध गरे । 

स्थानीयस्तरमा रोजगारी दिलाउन प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान दिने कृषिका कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए ।

नेपालको फरक-फरक धर्म, संस्कृति र परम्पारलाई जातीय, धार्मिक, सांस्कृतिक अनेकौँ नाममा सामाजिक सद्भाव खलबल्याउने प्रयत्न अहिले भइरहेको बताउँदै मुख्यमन्त्री पाण्डेले यसतर्फ भने सबै सचेत हुनुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पाण्डेसहित प्रतिनिधिसभा सदस्य योगेश गौचन, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।

कृषि तथा पर्यटन मेलामा मुस्ताङ जिल्लामा उत्पादित कृषि उत्पादनको प्रदर्शनी र बिक्री कक्ष  सञ्चालन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ