arrow

टिपरले दिएको समस्या समाधानको लागि प्रहरी प्रतिबद्ध छ –एआईजी भण्डारी

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० असोज २२ सोमबार
sandip-bhandari-aig-2080-06-22.jpg

धुलिखेल । टिपरका कारण सबै क्षेत्र र व्यवसाय प्रभावित भएको भन्दै सरोकारवालाहरुले प्रहरी समक्ष गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुगमन मुल्याकंन गर्न आएका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, प्रहरी नायब महानिरीक्षक किरण राणा, यज्ञविनोद पोखेरेलसहित टोलीसँगको अन्तरक्रियामा उद्योगी, व्यवसायी, सञ्चारकर्मी, अधिकारकर्मीहरुले टिपरको कारण असुरक्षा बढ्दै गएको बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मञ्जुकुमार कोजूले टिपरको प्रेसर हर्नका कारण समस्या भएको भन्दै नियन्त्रण गर्न प्रहरीलाई अनुरोध गरे । क्षेत्रीय होटल संघ धुलिखेलकी सचिव ज्योत्सना सैंजुले टिपरले बजाउने प्रेसर हर्नका कारण पर्यटन व्यवसाय नै प्रभावित भएको भन्दै विदेशी पर्यटकले बुकिङसमेत रद्द गर्ने स्थिति बनेको बताइन् । 

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले टिपरका कारण पर्यटन व्यवसाय, आवतवाजतमा नै समस्या भएको भन्दै प्रहरीले गम्भीरतापूर्वक लिनुपर्ने बताए । 

अन्तरक्रिया कार्यक्रमका सहभागीले टिपरका कारण दुर्घटना बढेको, टिपरको ओभरलोड नियमन प्रभावकारी नभएको, सडक समेत क्षति भएको तर्क गर्दै प्रहरीले नियन्त्रण गर्न चासो देखाउनुपर्ने बताए । 

बागमती टिपर व्यवसायी संघका अध्यक्ष शुरेश खत्रीले आफ्नो संघमा आवद्ध ६–७ सय टिपर मात्रै रहेको तर काभ्रेका राजमार्गमा १५ सय टिपर गुड्ने भन्दै जसले गल्ती गरे पनि बागमती टिपरको बदनाम हुने गरेको तर्क गरे ।

दुर्घटना न्यूनीकरणको लागि चालकहरुलाई सचेतना गर्ने गरेको भन्दै उनले प्रेसर हर्न निकाल्ने प्रतिवद्धता जनाए । उनले बिलबुकमा उल्लेख भएको ७ दशमलव ५ घनमिटर मात्रै बोकेको दाबी गर्दै ओभरलोड नियन्त्रण गर्न आफू प्रतिवद्ध भएको बताए । 

पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले सबै संघसंस्थासँग सहकार्य गरेर प्रहरी अघि बढ्नुपर्ने बताए । अधिकारकर्मी कृष्णप्यारी नकर्मीले दोभाषेको व्यवस्था नहुँदा बौद्धिक अपांगता भएका र बहिराहरुलाई समस्या भएको भन्दै नीतिगत रुपमा नै प्रहरी कार्यालयमा दोभाषे व्यवस्था गर्न अनुरोध गरिन् । 

अधिकारकर्मी निर्मला काफ्लेले आफ्नो कुरा राख्ने स्थान नुहँदा मानिसले आफ्नो निर्णय आफैँ गरेर आत्महत्या बढेको भन्दै मनोसामाजिक परामर्श खाँचो रहेको बताए । 

नेपाल अपांग महिला संघकी महासचिव पम्फा पुर्कोटीले अपांगता भएका महिला बढी हिंसामा पर्ने भन्दै सार्वजनिक यातायातमा आरक्षण सिटसमेत प्रयोग गर्न नपाएको गुनासो गरिन् । 

लायन क्लव अफ काठमाडौं धुलिखेल काभ्रेका श्यामदर्शन गनेजूले लागूऔषध दुर्व्यसन, बालयौन दुर्व्यवहार, आत्महत्या नियन्त्रणको लागि प्रहरीले अभियान चलाउनुपर्ने बताए । नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले अपराधका स्वरुप फेरिएको भन्दै वित्तीय अपराधका घटना बढ्दै गएको बताए । 

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दिप भण्डारीले टिपरका कारण सिर्जित समस्या समाधानको लागि प्रहरी प्रतिबद्ध रहेको बताए । उनले ओभरलोड नियन्त्रणको लागि वैज्ञानिक मापदण्ड कार्यान्वयन गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिए । 

आत्महत्या विकराल समस्याको रुपमा आएको भन्दै सबै सरोकावालाको सहकार्यमा नियन्त्रण गर्नुपर्ने बताए । दोभाषेको आवस्यकता महसुस गर्दै उनले सार्वजनिक यातायातमा अपांगता भएकाहरुको आरक्षण सिट प्रयोग गर्ने व्यवस्था कडाई गर्न मातहतलाई सर्कुलर गर्ने बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले प्रहरीले दिने सेवा सुधारको लागि यस्ता अन्तरक्रिया फलदायी हुने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ