arrow

चाइना स्टेट कन्स्ट्रक्सनको दादागिरी

चिनियाँ कम्पनीको मनपरी, मापदण्ड विपरीत क्रसर चलाउँदा स्थानीय मारमा

‘मानवले स्वच्छ वातावरणमा बाँच्न पाउने हककोसमेत बेवास्ता गरी जबरजस्ती रुपमा प्लान्ट सञ्चालन गर्न लागेकाले त्यसलाई कुनै पनि हालतमा हामीले सञ्चालन गर्न दिँदैनौँ’   

logo
रामचन्द्र रायमाझी,  
प्रकाशित २०८० असोज २५ बिहिबार
palpa-crushor-china-construction.jpg

पाल्पा । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित ढापमा मनपरी रुपमा क्रसर प्लान्ट सञ्चालनमा ल्याउन लागेको छ । 

सिद्धबाबा सुरुङ्गमार्ग परियोजना अन्तर्गतको यो कम्पनीले मापदण्ड विपरीत क्रसर र रेडिमिक्स प्लान्ट सञ्चालनमा ल्याउन लागेको हो । 

उसले अहिले उद्योगका लागि आवश्यक भौतिक संरचना निर्माणको ९५ प्रतिशत काम सकिसकेको छ ।  प्लान्ट सञ्चालनका लागि आवश्यक न्यूनतम  मापदण्डसमेत पालना नगरी कम्पनीले प्लान्ट सञ्चालन गर्न लागेको हो । 

उसले प्लान्ट सञ्चालनका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरेको छैन भने दूरी सम्बन्धी मापदण्डको समेत पालना गरेको देखिँदैन । 

सिद्धार्थ राजमार्गदेखि ५० मिटर दूरीमा प्लान्ट सञ्चालनमा छ । त्यति मात्र होइन तिनाउ खोला र पक्की पुलदेखि एक सय मिटरको दूरीमा प्लान्ट रहेको छ । 

प्लान्ट नजिकै २० मिटरको दूरीमा बस्ती छ भने २ सय मिटरको दूरीमा पालिकाको केन्द्र रहेको छ । जहाँ प्लान्ट सञ्चालनका लागि राजमार्ग, खोला वा नदी किनार र पक्की पुलबाट ५००–५०० मिटरको दूरीको मापदण्ड हुनुपर्दछ ।

त्यसको कम्पनीले बेवास्ता मात्र गरेको छैन दूरी प्रमाणित गर्ने निकाय स्थानीय निकायलाई समेत जानकारी छैन । कुनै पनि उद्योग सञ्चालन गर्दा प्रभावित क्षेत्रका नागरिकहरुसँग राय, सुुझाव र छलफल गर्नु पर्ने भए पनि उसले त्यो पनि गरेको छैन । 

कम्पनीले स्थानीय र सँधियारसँग समेत कुुनै पनि छलफल गरेको छैन । उद्योगले एकलौटी रुपमा हेभी रेडिमिक्स प्लान्ट र ठूलो मेसिन सहितको क्रसर प्लान्ट सञ्चालन गर्न लागेपछि स्थानीयले आपत्ति जनाएका छन् । 

उनीहरुले आफूहरुसँग सामान्य पनि छलफल नगरी दादागिरी शैलीमा उद्योग सञ्चालन गर्न लागेको स्थानीय विष्णुुप्रसाद पाण्डेले बताए ।  

उनले भने ‘उद्योगले सामान्य मापदण्ड पनि परिपालना गरेको छैन उसले न आईईई गरेको छ न त दूरीको मापदण्ड नै । स्थानीयसँगसमेत उसले छलफल र परामर्श पनि गरेको छैन ।’  

मनपरी उद्योग सञ्चालनले बस्तीलाई ठूलो असर पुुर्याउने पाण्डेले बताए । उनले भने ‘मानवले स्वच्छ वातावरणमा बाँच्न पाउने हककोसमेत बेवास्ता गरी जबरजस्ती रुपमा प्लान्ट सञ्चालन गर्न लागेकाले त्यसलाई कुनै पनि हालतमा हामीले सञ्चालन गर्न दिँदैनौँ ।’ 

अवैध उद्योगका कारण आफूहरु पलायन नै हुने अवस्था सिर्जना हुन सक्ने भन्दै स्थानीयले गत भदौ २२ गते क्रसर उद्योग निर्माण कार्य रोक्नका लागि तिनाउ गाउँपालिका र उद्योग कम्पनीलाई पत्रसमेत पठाएका थिए । उद्योगले भने उनीहरुको आग्रहलाई बवास्ता गर्दै प्लान्ट सञ्चालनको तयारी अगाडि बढाएको छ । 

गाउँपालिकाले पटक– पटक कागज पत्र जुटाउन आग्रह गरे पनि कम्पनीले त्यसको बेवास्ता गरेको पालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । 

उनले भने, ‘स्थानीयहरुबाट निवेदन आइसकेपछि कम्पनीलाई प्रमाणहरु जुटाउन आग्रह गरे पनि भौतिक पूर्वधार मन्त्रालयको स्वीकृत पत्र बाहेक अन्य प्रमाण जुुटाउन सकेको छैन ।’

प्लान्ट विषयमा कार्यपालिकासँगै सर्वदलीय बैठक बसेको अध्यक्ष श्रेष्ठले बताए । उनले भने ‘उद्योगले आफूहरुले ९५ प्रतिशत पूर्वाधारको काम सकेकाले केही समय हामीलाई काम गर्न दिन र त्यसबाट कुनै हानि नोक्सानी भए बल्ल प्रक्रिया अगाडि बढाउन भने पनि सर्वदलीय बैठकबाट एक छिन उनीहरुको काम हेर्ने गरी सहमति भएको छ ।’ 

उनीहरुको कामले कुनै पनि हानि नोक्सानी भएमा त्यसलाई तत्कालै रोकिने उनले बताए ।   

सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयकी इन्जिनियर सविता ज्ञवालीले भने आफूहरुले आईईई स्वीकृत गरेरै काम अगाडि बढाएको दाबी गरिन् । 

उनले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सुुरुङमार्गकै क्रसर प्लान्ट भएकाले व्यावसायिक क्रसर उद्योगले जस्तो आईईई र मापदण्डको पालना गर्न नपर्ने सम्झौतामै रहेको भन्दै कम्पनीको बचाउ गरिन् । 

परियोजना शुरु हुनु भन्दा अघि नै आईईई गरी मन्त्रालयबाट स्वीकृत गराइएको भने पनि स्थानीय सरकारलाई उपलब्ध गराइएको कागजमा भने कतै पनि आईईई उल्लेख नगरिएको पालिकाका अध्यक्ष श्रेष्ठले बताए । 

इन्जिनियर ज्ञवालीले स्थानीयहरुबाट केही गुनासो आएकाले त्यसमा समाधान गर्ने गरी परियोजना अगाडि बढेको बताइन् । 

उनले भनिन् ‘स्थानीयहरुले ध्वनि, वातावरण प्रदूषण हुँदा आफूहरु समस्यामा पर्ने बताउँदै आएकाले त्यसको समाधानका लागि निर्माण व्यवसायीलाई आईईईमा भएअनुसार काम गर्न निर्देशन गरेका छौँ ।’ 

१५ दिन परीक्षणको रुपमा काम गर्ने गरी अहिले सहमति भएको उनले बताए पनि स्थानीयले भने आफूहरुसँग कुनै पनि सहमति नभएको बताउँदै आएका छन् । 

कम्पनीले सुरुङमार्गबाट निस्कने म्याटरहरुको उपयोगका लागि यहाँ क्रसर प्लान्ट निर्माण गर्न लागेको हो । 

यहाँको म्याटर यही नै उपयोग गर्नका लागि प्लान्टर सञ्चालन गर्न लागेको परियोजनाकी इन्जिनियर ज्ञवालीले बताइन् ।  
  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ