arrow

बीआरएफमा भाग लिन सरकारको नेतृत्व गर्दै नारायणकाजी गए, झलनाथदेखि सुजातासम्म पुगे चीन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
narayankaji-shrestha-2080-06-29.jpg

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन सोमबार चीन गएका छन् । 

मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’ को नीति र प्रगतिबारे समेत छलफल हुनेछ। सो कार्यक्रममा श्रेष्ठले ‘कि नोट स्पिच’ दिनेछन् । 

सम्मेलनमा सहभागीताका लागि चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआंग रुन्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत छुट्टाछुट्टै निमन्त्रणा पठाएका थिए । 

वाङ चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा स्टेट काउन्सिलरसमेत हुन् । उपप्रधानमन्त्री श्रेष्ठ र उनीबीच द्वीपक्षीय सहयोग र सम्बन्धबारे वार्तालाप हुनेछ।

सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गरेको रात्रिभोजमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ सहभागी हुनेछन् । 

चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो। 

बीआरआई सडक, पूर्वीय सभ्यताको विकास, देशहरूबीचको सहयोग एवम् भाइचारा र पर्यावरण लगायत दिगो विकासमा योगदान पुर्‍याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तराष्ट्रिय परियोजना हो ।

भ्रमण टोलीमा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत रहेका छन् । 

यता, पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बीआरएफ सम्मेलनमा भाग लिन  चीन पुगेका छन् । 

सोमबार बिहान १ बजे काठमाडौँबाट चाइना साउदर्न एअरलाइन्सको उडानमा ग्वाङजाउ गएका हुन् । स्रोतका अनुसार उनीसँगै पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला, पूर्व राजदूत दिनेश भट्टराई, अनुप अधिकारी, प्राडा युवराज संग्रौला पनि टोलीमा चीन पुगेका छन् । नेता खनालसँगै श्रीमती रविलक्ष्मी चित्रकार र छोरा निर्भिक चित्रकार खनाल पनि चीन भ्रमणमा गएका छन् । 

राजधानी बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी उनले बुधबार तेस्रो ‘बीआरएफ’ फोरमलाई सम्बोधन गर्ने भएका छन् । 

अन्तर्राष्ट्रिय सहयोगका लागि ‘तेस्रो बेल्ट एण्ड रोड फोरम’ मा ९० भन्दा बढी देशका प्रतिनिधिले सहभागीता जनाउने भएका छन् । अक्टोबरमा अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरमको आयोजना गर्नु बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को १० औं वार्षिकोत्सवको उपलक्ष्यमा कार्यक्रम हुनेछ ।  

यो फोरमले सबै पक्षलाई उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोगबारे छलफल गर्न महत्वपूर्ण मञ्चको रूपमा पनि काम गर्नेछ । अहिलेसम्म ९० भन्दा बढी देशका प्रतिनिधिले आफ्नो सहभागीता पुष्टि गरिसकेका छन् । 

तीमध्ये बेल्ट एण्ड रोड साझेदार मुलुकका नेता, मन्त्री र अन्य आधिकारिक प्रतिनिधिका साथै बेल्ट एण्ड रोड सहकार्यमा सक्रिय समर्थन र सहभागिता जनाउने व्यापारिक समुदाय, प्रवुद्ध वर्ग र नागरिक समाजलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू रहेका छन् । 

धेरै अन्तर्राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले पनि आफ्नो उपस्थिति पुष्टि गरेका छन् । साझेदारले आफ्नो सहभागिता पुष्टि गर्ने क्रम जारी रहेको र आगामी केही दिनमा यस कार्यक्रममा जोडिने प्रतिनिधिको संख्या थप बढ्ने चीनले विश्वास गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ