arrow

पाथीभरामा एकै दिन साढे आठ हजार दर्शनार्थी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
Pathibhara--devi.jpg.jpeg
तस्बिर-फाइल

फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिनमा आठ हजारभन्दा बढीले पूजापाठ गरेका छन् ।

आज आठ हजार पाँच सय भक्तजन पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका हुन् ।

मङ्गलबार चालु आर्थिक वर्ष सुरु भएपछि एकै दिन दर्शन गर्नेमध्येको सबैभन्दा धेरै रहेको पाथीभरा मन्दिर क्षेत्रका कर्मचारी राजेन्द्र महतले बताए ।

महतका अनुसार दसैँको नवरात्रदेखि दसैँ अवधिभरमा एकै दिन छ हजार छ सयले मन्दिरको दर्शन गरेको अभिलेख छ ।

तर मङ्गलबार साढे आठ हजारले पाथीभरा मन्दिरमा पुगेर दर्शन गरेका छन् ।

दर्शनार्थी बढी भएपछि केही समय मन्दिर दर्शनको लाइन व्यवस्थापनसमेत हम्मे परेको महतले बताए ।

पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिको अगुवाइ र समन्वयमा मन्दिर दर्शन प्रक्रिया सहज बनाउन सहयोगीले भूमिका खेल्दै आएका छन् ।

दसैँको अवधि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार तीन सय ६८ जनाले पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य याम मानिन्छ । 

यस वर्ष दसैँपछि भने दर्शनार्थी बढ्न थालेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरा दर्शन गर्न मौसम अनुकूल रहेको, सडकसमेतमा मर्मतसम्भार र स्तरोन्नतिको कार्य चलिरहेको र आउँदा जाँदा समस्या कम हुन थालेपछि तीर्थालु थपिन थालेका हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ