ताप्लेजुङको उच्च हिमाली भेगमा बढ्यो चिसो; पाथीभरा क्षेत्र हिउँले सेताम्मे
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
697
Shares
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा यसवर्ष दोस्रोपटक हिमपात भएको छ । समुद्र सतहदेखि ३,७९४ मिटरको उचाइमा अवस्थित यस क्षेत्रमा शनिबार बेलुका हिमपात भएसँगै चिसो ह्वात्तै बढेको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो । विगतका वर्षहरूमा मङ्सिरको सुरुवातदेखि नै हिमपात हुने गरे पनि यसवर्ष भने केही ढिला गरी हिउँ पर्न थालेको हो । समितिका कर्मचारी राजेन्द्र महतले शनिबार साँझदेखि हिउँ पर्न थालेको जानकारी दिएका छन् ।
हिमपातका कारण तापक्रम घटे पनि मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीहरूका लागि भने विशेष व्यवस्था गरिएको छ । समितिले पदमार्गको माथिल्लो क्षेत्रमा फाइबरको ट्रस (छत) लगाएकाले वर्षा वा हिमपातको समयमा पनि यात्रुहरूलाई हिँड्न र ओत लाग्न सहज भएको छ । यस प्रविधिले गर्दा प्रतिकूल मौसममा पनि पाथीभरा धामसम्मको यात्रा सुरक्षित र सुलभ बनेको समितिको दाबी छ ।