arrow

लोकतन्त्रमा जिम्मेवार सरकारको अनुभूत हुने गरी काम गर्न जनप्रतिनिधिलाई राष्ट्रपति पौडेलको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
ramchandra-poudel-2080-07-2.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुने गरी भूकम्प प्रभावितहरुलाई आवश्यक अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न जनप्रतिनिधहरुलाई आग्रह गरेका छन् । 

जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको विनाशकारी भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न मंगलबार जाजरकोट पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटमा जनप्रतिनिधि, सर्वसाधारण र भूकम्प प्रभावितहरुसँगको छलफलमा अहिले नै सबै कुरा सोचबिचार गरेर काम गर्न ध्यान दिनुपर्ने बताए ।  

उनले तत्काल बसोबासको लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रवन्ध तथा दीर्घकालीन रुपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा जोड दिए । 

उनले अहिलेको कठिन अवस्थामा भूकम्प प्रभावितलाई ठग्ने र झुक्याउनेजस्ता गलत काम हुन सक्ने हुँदा त्यसबाट सचेत र सर्तक रहन पनि आग्रह गरे । “तपाईहरुको समस्या समाधानका लागि म सँगै छु, चिन्ता नगर्नुस्”, राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । 

यसअघि राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए । 

उनले भूकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

राष्ट्रपतिको भनाई उदृत गर्दै सल्लाहकार पोखरेलले भने–‘तपाईहरूका लागि अल्पकालिन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु ।’

सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भुकम्पबाट भएको क्षतिका बारेमा जानकारी गराएका थिए । त्यस्तै घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए । 

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेतबाट जाजरकोट पुगेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ