arrow

चिसो बढेपछि बेँसी सारिँदै गोठ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २२ बुधबार
goth mustang.jpg

मनाङ । हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ ।

अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन् । 

मनाङको ङिस्याङ गाउँपालिका-६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार छ सय मिटर उचाइको लेकबाट पुश झार्न थालिएको बताए । 

हिउँ पर्न थालेपछि बेँसीको खर्क सारिएको बताए । मनाङ ङिस्याङ-८ जुलुमा ३७ परिवारले सामूहिकरूपमा भेडा च्याङ्ग्रापालन गर्दै आएका छन् । 

चिसो बढ्दै जाँदा घाँस सुकेर अभाव हुने भएकाले लेकबाट गोठ बेँसीतर्फ सार्न सुरु भएको उनले बताए ।  

व्यावसायिकरूपमा पशुपालनलाई सरकारले चासो नदिएकामा गुरुङको गुनासो छ । 

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले पनि चासो नदेखाएको उनले बताए । 

गुरुङले भने, “गत वर्ष विभिन्न रोगले २२ चौँरी र ५५ च्याङ्ग्रा मरेका थिए, तर कतैबाट पनि सहयोग पाइएन ।” 

गत वर्ष हिमपहिरामा परी दुई सय ५० भन्दा बढी भेडाच्याङ्ग्रा तथा चौँरी मरेको सुनाउँदै उनले भने, “अहिले त झन् हिउँचितुवाले पनि सताएको छ ।” 

पशुपालक किसान याङ्दुङ गुरुङले पहिलेको तुलनामा अहिले चितुवाले बढी सताउने गरेको बताए । 

उनले भने, “पहिले चौँरी र भेडाच्याङ्ग्रा धेरै थिए । तर पाल्ने क्रम कम भएको छ । चितुवाको आक्रमण बढ्दा अझ समस्या थपिएको छ ।” 
अहिले साना बाच्छाबाच्छी जोगाउनै मुस्किल हुने गरेको गुरुङले सुनाए । 

“केही बाच्छाबाच्छी चितुवाले आक्रमण गर्दा नै धपाउन पाएका हुन्छौँ । कहिले त कति बेला खायो नै थाहा हुँदैन । राहतका लागि झन्झट छ ।’

राहतको रु पाँच-दश हजार लिन आउँदा जाँदा विभिन्न कागजात बनाउँदा रु २५ देखि ३० हजार खर्च हुने गरेको उनको गुनासो छ । 

गुरुङले भने, “पहिलेको जस्तो घाँस हुँदैन । घाँस अभावले अहिले झन्झन् माथिल्लो लेक गोठ सार्नुपरेको छ । न समयमा हिउँ पर्छ यसले गर्दा पनि घाँसको समस्या हुँदै गएको हो ।”

मौसमलाई हामीले मिलाउन नसकिने हुँदा किसानले सास्ती भोग्दै आएको उनले बताए । 

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नरेन्द्र राईले भेडाच्याङ्ग्रा, चौँरी लेकमा गोठ हुने हुँदा झन्झटिलो प्रक्रियाले समस्या भएको बताए । 

यहाँका स्थानीयलाई राहत र सरकारबाट हुने सेवाका लागि सचेतनाका काम भने गरिरहेको उनको भनाइ छ । 

गत असार महिनादेखि अग्ला लेक लगिएका भेडाच्याङ्ग्रा र चौँरी बेँसीतर्फ गोठालाले झारिरहेका छन् । 

चिसो बढेसँगै लेकका खर्क खाली हुँदै आएको छ । 

कात्तिक मध्यबाट घरवरपर नै गोठ राखी खुवाउने गरिन्छ । 

अब होचा स्थानमा भेडाच्याङ्ग्रा र चौरीको गोठ राखिनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ