arrow

प्रहरीमा काखापाखा

ऐन कानूनको धज्जी उडाउँदै वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजाल वर्षौँदेखि काजमा

डीआईजी एवं प्रवक्ता कडायत भन्छन् –यति लामो समयसम्म यसरी बस्न पाइँदैन, बाँके प्रमुख एसपी बोहरा भन्छन् –रिजाल मात्रै होइन यसरी बसेका धेरै छन् 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २२ बुधबार
madhav-rijal-police-2080-07.jpg

बाँके । सरकारी जागिरेमा एउटा नीति हुन्छ, दरबन्दी, सरुवा र काज । यो शब्द प्रायः नेपाल प्रहरीको सर्कुलरमा अलिबढी चलनचल्तीमा आउने गर्दछ । नीति अनुसार दरबन्दी तोकिएको स्थानमा कार्यरत हुनुपर्छ भने कहिलेकाहिँ आन्तरिक रुपमा जनशक्ति अभाव भएको त्यस्तो स्थानमा रित पुर्याएर काजमा खटाइन्छ । 

जागिरको शिलशिलामा कार्यरत ठाउँबाट अर्को ठाउँमा सरुवा पनि गर्ने चलन छ । सरुवा भएपछि तोकिएको सरुवा भएको स्थानमा रमाना लिएर जानुपर्ने नैतिकता स्पष्ट हुन्छ । 

तर प्रहरी संरचनाभित्र कुनै व्यक्तिलाई सोही कार्यालयको प्रमुखले उक्त स्थानका लागि उपयुक्त ठानेर केही समय राख्न पाउने र राख्दै आएको उदाहरण पाइए पनि यही नै नेपाल प्रहरी ऐन २०१२, नेपाल प्रहरी नियमावली २०४९, प्रहरी नियमावली २०६३, २०७१, प्रहरी ऐन २०७६ नियमावली २०७९ र नियमावली संशोधन ऐन २०८० लाई अध्ययन गर्दा लिखित मस्यौदा उल्लेख छैन । 

विडम्वना, जिल्ला प्रहरी कार्यालय बाँकेमा भने विगत ५–६ वर्षयतादेखि एउटै व्यक्ति जो दरबन्दी एकातिर हुँदा पनि काज नलिएर बाँकेमा कार्यरत छन् । जसलाई सरुवा गर्दासमेत रमाना लिएर जानुको साटो उल्टै सोही जिल्लाको अर्को युनिटको कमान्डर भएर बस्ने गरेको रहस्य फेला परेको छ । 

उक्त बाँकेमा एकछत्र राज गर्दै आएका प्रहरी हुन् माधव रिजाल । वरिष्ठ प्रहरी नायब निरीक्षक हाल बाँके जिल्ला प्रहरी कार्यालयका सुबेदार मेजर । २०६३ सालमा प्रहरी नायब निरीक्षक भएर कपिलवस्तुमा कार्यरत भएका रिजाललाई एकपटक नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा ६ महिना निलम्बन गरिएको थियो । 

२०७५ सालतिर सर्वोच्च अदालतबाट सफाई पाएर पुनः प्रहरी सेवामा फर्किएका उनी ०७६ मा ६ महिना प्यूठानमा प्रहरी नायब निरीक्षक भएर बसेको बताइन्छ । त्यसयता बाँकेमै हालसम्म राज गर्दै आएका उनका नाममा विभिन्न किसिमका लाञ्छना छन् ।

तस्करहरुसँग निकटतम सम्बन्ध, नेपालगञ्जका जुवाडे, क्यासिनो र स्पाबाट असुली गर्नेलगायत आरोप पनि लागेका छन् । नेपालजञ्गको बसपार्क नजिकै घर भएका प्रहरी अधिकृत नेपालगञ्जबासी भएको जनाइएको छ । 

यसअघि इलाका प्रहरी कार्यालय नौबस्तामा दरबन्दी हुँदा त्यहाँ नगएर इलाका प्रहरी कार्यालय जमुनाहा, वडा प्रहरी नेपालगंजमा मिलान गरेर बसे । हाल दुर्गम क्षेत्र इलाका प्रहरी कार्यालय कालिकोटस्थित कुमालगाउँमा सरुवा हुँदासमेत प्रभावमा पारेर बाँकेमै बस्दै आएको पाइएको छ । जुन कार्य नेपाल प्रहरीको काज सम्बन्धी निर्देशिका, २०६९ विपरीत रहेको स्पष्ट छ । 

निर्देशिका २०६९ अनुसार काज र दरबन्दी सम्बन्धी स्पष्ट धारणासहित नीति २०६९ पुस २३ गते तत्कालीन प्रहरी महानिरीक्षक कुवेर सिंह रानाद्धारा हस्ताक्षरित सदर गरिएको निर्देशिकामा वैधानिक रुपमा काज फारम भरेर आएका प्रहरी अधिकारी बढीमा ६ महिनाभन्दा बढी बस्न नपाउने जनाइएको छ । 

यद्यपि ६ महिनाभित्र सरुवा मिलान हुन नसक्ने अवस्था भएमा अथवा सो अवधिभन्दा पनि बढी काज राख्नुपर्ने भएमा ६–६ महिनामा काज अद्यावधिक गर्नुपर्ने, ६ महिनाभित्र पनि सरुवा मिलान वा पुनः काज आदेश नभएमा काज अवधि समाप्त हुने र सम्बन्धित प्रहरी कर्मचारी स्वतः साविक दरबन्दी फिर्ता हुनुपर्ने निर्देशिकाको धज्जी उडाउँदै बसेका बाँके प्रहरी कार्यालयमा कार्यरत रिजालले नीति निर्देशिकालाई नटेर्ने गरेको पाइएको हो ।

रिजाल काजसमेत नलिएर बसेको पाइएको छ । आवश्यकताअनुसार जिल्ला प्रहरी प्रमुखले अदली बदली गर्नुपर्ने नाममा प्रहरीको काज निर्देशिका २०६९ लाई कुल्चिएको प्रहरी कर्मचारीहरुले नै गुनासो गर्ने गरेका छन् । यतिमात्रै होइन पछिल्लो समय रिजालले बाँकेमा घुमुवा विघटन गरी आफू अनुकूलका प्रहरीलाई रोज्ने गरेको स्रोतले जनाएको छ । 

के भन्छन् बाँके प्रहरी प्रमुख ?
हालै सरुवा भएर आएका बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले रिजाल मात्रै होइन यसरी बसेका धेरै रहेको बताए । हाम्राकुराकर्मीसँगको कुराकानीमा उनले कार्यालयले आवश्यक ठानेमा बस्न पाइने दाबी गरे । काज, दरबन्दी निर्देशिका विपरीप के यसरी बस्न मिल्छ त्यो पनि तपाई जस्तो जिल्ला नेतृत्वले यस्तो भन्न मिल्छ ? भन्ने जिज्ञासामा एसपी बोहराले भने, ‘यस विषयमा आफू भर्खरै आएकाले बुझ्न पाएको छैन्, के रहेछ म बुझ्छु ।’

यता नेपाल प्रहरीका डीआईजी एवं प्रवक्ता कुवेर कडायतले यति लामो समयसम्म यसरी बस्न नपाइने भन्दै त्यहाँको बारेमा के भएको रहेछ बुझेर जानकारी दिने बताए । 

यस्तो छ काज सम्बन्धी निर्देशिका, २०६९ 


नेपाल प्रहरीको काज सम्बन्धी निर्देशिका, २०६९ ले नेपाल प्रहरीको विभिन्न इकाइहरुमा आवश्यकताअनुसार जनशक्तिको व्यवस्था गर्न सबै अवस्थामा सरुवा गरी जनशक्ति खटाउन सम्भव नभएको र प्रहरी कार्य प्रकृतिले गर्दा पनि आकस्मिक रुपमा जनशक्तिको व्यवस्था गर्नुपर्ने अवस्था रहने हुँदा आवश्यकताअनुसार प्रहरी कर्मचारीको काज अह्रन खटन गर्ने गरिएको छ । 

प्रहरी नियमावली २०४९ को नियम ३१ को देहाय ५ (विशेष परिस्थिति बाहेक प्रहरी कर्मचारीलाई काज राखिने छैन) ले दिएको अख्तियारीको प्रयोग सामान्य अवस्था र प्रहरी कर्मचारीको आवश्यकतामा नभइ संगठनको आवश्यक्ता एवं सम्बन्धित प्रहरी कर्मचारीको हितमा असर नपर्ने गरी जनशक्तिको आकस्मिक तथा अस्थायी व्यवस्थापन गर्न सकिने अर्थमा बुझ्न सकिने उल्लेछ छ ।

काज खटिने अवधि 
कुनै पनि प्रहरी कर्मचारी आफ्नो दरबन्दी बाहेक अन्यत्र कार्यालयमा काज खटिदा सामान्यतः बढीमा ६ (छ) महिना मात्रको लागि काज खटाइने छ । ६ महिनाभित्र सरुवा मिलान हुन नसक्ने अवस्था भएमा अथवा सो अवधिभन्दा पनि बढी काज राख्नु पर्ने भएमा ६–६ महिनामा काज अध्यावधिक (नवीकरण) गरिनेछ । ६ महिनाभित्र सरुवा मिलान वा पुनः काज आदेश नभएमा काज अवधि समाप्त हुन साथ सम्बन्धित प्रहरी कर्मचारी स्वतः साविक दरबन्दी फिर्ता हुनेछ ।

काज खटिने अवस्था 
कुनै कार्यालय वा स्थानमा काज खटाउँदा निम्न अवस्था सृजना भएको हुनु पर्दछ । विभिन्न कारण उक्त स्थान केही अवधिको लागि रिक्त भई काज खटाउन आवश्यक देखिएमा । काज खटाउनुपर्ने कार्यालयको समान दर्जाको प्रहरी कर्मचारी कुनै कारणले तत्काल हटाउनु परेमा । अन्य कुनै कारणले दरबन्दीवाला प्रहरी कर्मचारी अन्यत्र काज खटि गएमा । कार्यालयको कार्य प्रकृतिले काज खटिने प्रहरी कर्मचारीको कार्य विशेषता माग गरेमा । कुनै कार्यालयमा दरबन्दीको अनुपातमा जनशक्ति २५ प्रतिशत भन्दा कमी भई जनशक्ति अपुगलगायत भएमा गर्न सकिने निर्देशिकामा लेखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ