arrow

सीमामा तस्करको रजगजः दुईदेशका सुरक्षा प्रमुखबीच गम्भीर छलफल

logo
नारायण वली,
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
nepal-india.jpg

रुपन्देही। नेपाल भारत खुला सिमाना पछिल्लो समय असंवेदनशील बन्दै गएको छ । तस्करहरुले खुल्ला सिमानाका कारण भन्सार छलि गरेर लाखौँ रुपैयाँ बराबरको सामान ओसारपसार हुन्छ । भारतसँग जोडिएको रुपन्देहीमा ३९ वटा चोरी नाका छन् । ३ वटा भन्सार नाका छन् ।

सशस्त्र प्रहरीको अभिलेख हेर्दा गत भदौ ५३ लाख १४ हजार ८ सय ८९ जिन्सी सामान र कुखुरासहित बरामत गरेको उल्लेख छ । असोजमा चिनी, केराउ, लत्ताकपडा र भेप लगायत गरी ९१ लाख ८७ हजार ४ सय ११ रुपैयाँ बराबरको सामान बरामत गरेको तथ्यांक छ ।

यसरी तस्करहरुको चल्दै आएको अवैधानिक ओसारपसारलाई रोक्न सिमा नाकामा सशस्त्र प्रहरीले विेशेष अप्रेशन चलाएर रोक्ने प्रयासलाई निरन्तरता दिँदै आएको छ । 

तर भारतीय पक्षका तर्फबाट कडाई नहुँदा तस्करी रोकिन नसकेको सुरक्षाविद्हरुको भनाइ छ । शुक्रबार लुम्बिनीमा सोही विषयमा गम्भीर छलफल भएको छ । दुवै देशका सीमा सुरक्षा बलका डीआईजी स्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको हो ।

नेपालतर्फ विन्ध्यबासिनी मुख्यालय र भारतको भारतीय सशस्त्र सीमा बल सेक्टर हेड क्वाटर लखिमपुर खिरी र सेक्टर हेड क्वाटर गोरखपुरबीच डीआईजी स्तरीय समन्वयात्मक सुरक्षा बैठकले सीमानाकालाई चुस्त राख्ने सम्बन्धमा केन्द्रीत भएको बताइएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यबासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा लुम्बिनीमा दुई देशीय समन्वयात्मक सुरक्षा बैठक भएको हो ।

खुला सीमामा हुने अवैधानिक हातहतियार तथा लागुऔषध ओसारपसार, हार्डवयेर सामग्री, सीमास्तम्भ मर्मत, मानव बेचबिखन रोकथाम र सुचना आदानप्रदान लगायतबारे विषयमा छलफल भएको मुख्यालयले जनाएको छ।
 
सीमा क्षेत्रमा लक्षित दुईदेशीय सुरक्षा संवेदनशिलताका विषयमा गम्भीर छलफल गरी दुवै पक्षका सुरक्षा निकायको थप प्रभावकारीता, दशगजा क्षेत्रको सरसफाइ, दुवै देशका सुरक्षा फौजको संयुक्त अभियान, नागरिक हेल्प डेस्क स्थापना लगायत विषयमा दुवै पक्षका सुरक्षा प्रमुखहरुको सहमति जुटेको सशस्त्र प्रहरी बल विन्ध्यबासिनी बाहिनीका सहायक बाहिनीपति शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठल बताए ।

बैठकमा भारतीय सीमा सुरक्षा दल सेक्टर हेडक्वाटर गोरखपुरका डीआईजी अखिलेश्वर सिंह, विन्ध्यबासिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक अभिकुमार खत्री, सिमा जोडिएका जिल्लाका गणपती, भारतीय सिमा सुरक्षा बल एसएसबी सेक्टर हेड क्वाटर लखिमपुर खिरीका डीआईजी जेडी र भारतीय सीमा सुरक्षा गणका कमाण्डेन्टहरुले पनि भाग लिएका थिए।

रुपन्देहीसँग जोडिएका खुल्ला नाकाबाट अवैध पैसा, मेसिनरीलगायत सामग्रीहरु तस्करी बढ्दै गएका बेला बसेको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ