arrow

भाइटीका

उत्तम साइतमै लगाए राष्ट्रपति पौडेलले भाइटीका 

बिहानदेखि साँझसम्मै जुनसुकै समयमा टीका लगाउन मिल्ने, भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २९ बुधबार
ramchandra-poudel-bhaitika-.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाएका छन् । राष्ट्रपति निवास शीलतनिवासमा आज बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा उनले बहिनीहरूबाट टीका ग्रहण गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत  बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो । 

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मशास्त्रविद् भट्टराईले बताए । 

शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । 

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको छ । 

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेल रोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ