arrow

ऐतिहासिक विजेताहरु २१ वर्षपछि नेपालमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
sabita-rajbhandari-kishor-shrestha.jpg

काठमाडौँ । एसियाली खेलकुदका ऐतिहासिक रजत विजेता सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ शनिबार सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उनीहरुको सफलताको कदर गर्दै सम्मान गरेको हो । दुवैले तेक्वान्दोमा उक्त सफलता हात पारेका हुन् ।

उनीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जन र हरिप्रभा खड्गी (श्रेष्ठ), नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले भनिमण्डलस्थित रामबाघ महलमा आयोजित एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

सविता र उनका श्रीमान् किशोरले १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाली खेलकुदमा क्रमशः रजत र कांस्य जितेका थिए । संयोगवश उनीहरु दुवै १९९९ मा नेपालमा भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुद  (अहिले दक्षिण एसियाली खेलकुद) का स्वर्ण विजेता पनि हुन् ।

एसियाली खेलकुदमा नेपाललाई रजत दिलाउने सविता पहिलो खेलाडी हुन् । गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा करातेकी एरिका गुरुङले व्यक्तिगत स्पर्धामा रजत जित्दै सविताको उपलब्धीको बराबरी गरेकी थिइन् । यद्यपि इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको पुरुष टिम इभेन्टमा पनि नेपालले रजत जितेको थियो ।

बैंकक एसियाडमा सविता र किशोरसहित ४ खेलाडीले पदक जितेका थिए । तेक्वान्दोकै सपना मल्ल तथा करातेका समरबहादुर गोलेले कांस्य जितेका थिए । उनीहरु २००२ मा अमेरिका गएयता पहिलोपटक नेपाल आएका हुन् । उनीहरु सियाटलमा बस्छन् । उनीहरु बिहीबार अमेरिका फर्कदै छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ