arrow

दुर्गा र महेशको शक्ति प्रदर्शन फासफुस, शुक्रबारदेखि श्रीलंकन शैलीमा आन्दोलन गर्ने प्रसाईको धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
mahesh-basnet-durga-prasai-.jpg

काठमाडौँ । आवश्यकता भन्दा बढी चर्चा र प्रचार पाएका दुई प्रदर्शन बिहीबार अपरान्हबाट फासफुस भएका छन् । नेकपा एमालेको युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेतृत्व गरेको  ‘नागरिक बचाउ अभियान’का नाममा गरिएको प्रदर्शन एकातर्फ व्यवस्थाको पक्षमा र अर्कातर्फ व्यवस्थाविरुद्ध नाराबाजी गरेर अवशान भएको हो । 

तर व्यवस्था विरोधी आन्दोलन भने जारी राख्दै दुर्गा प्रसाईले शुक्रबारदेखि तीनकुनेबाट श्रीलंकन शैलीमा आन्दोलन गर्ने धम्की दिएर बसेका छन् । 

व्यवसायी दुर्गा प्रसाईले गरेको आन्दोलन र तीनकुनेमा नेकपा एमालेनिकट युवा संघले गरेको प्रदर्शनले धेरैको ध्यान खिचेको भए पनि दुवैको प्रदर्शन फासफुस भएको छ ।

प्रसाई र एमाले नेता एवम् युवा इन्चार्ज महेश बस्नेतबीच बढ्दो वाकयुद्धको क्लाइमेक्सका रुपमा लिइएको प्रदर्शन सकिएसँगै सकिएको छ । 

केही समय बल्खुमा दुई पक्षबीच सामान्य झडप भयो । पछि प्रसाईका समर्थकहरुले प्रहरीसँग भिडन्त गरे । प्रहरीसहित २८ जना घाइते भए । 

प्रसाईंका उग्र समर्थकहरु सुरक्षा घेरा तोडेर कालिमाटी छिर्न खोजे तब प्रहरी बल प्रयोग गर्न बाध्य भयो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हान्यो, पानीको फोहोरा फ्याँक्यो । 

त्यसपछि दिनभरजसो नै प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी चलिरह्यो । यता युवा संघको प्रदर्शन भने ‘शान्त’ रह्यो । युवा संघको आन्दोलनमा खासै नेताहरु गएनन् । 

पार्टीको उर्दी भएका कारण कार्यकर्ताहरुको भने राम्रै उपस्थिति रह्यो । सर्वसाधारणले भने युवा संघको आन्दोलनलाई दुर्गा प्रसाईको प्रदर्शनसँग तुलना गरे  । माउपार्टी एमालेले स्वामित्व ग्रहण गरेको एउटा सरकारविरोधी आन्दोलनलाई प्रसाईले अल्मल्याएर तुहाइदिए । 

मान्छेको उपस्थितिका हिसाबले दुवैतिर राम्रै थियो । तर जसरी हल्ला र चर्चा भएको थियो, त्यस्तो भएन । दलसँग रुष्टहरु र प्रसाईका फ्यानहरुलाई लागेको थियो– लाखौँ मानिस सडकमा उत्रने छन् । प्रदर्शनकारीहरु सिंहदरबार, राष्ट्रपति निवास शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार छिर्नेछन् । 

सर्वसाधारणले सोचे अनुसार प्रसाईको प्रदर्शनमा भएको उपस्थिति कमजोर नै भयो तर प्रसाईले सोचेभन्दा चाहिँ बढी भयो ।  

एउटा व्यक्तिले आह्वान गरेको आन्दोलनमा यति मान्छे आउनुलाई सामान्य चाहिँ मान्न नसकिने अवस्था सिर्जना भयो । यसले दलहरुलाई ढिला नगरी सच्चिन अर्को झट्का दिएको छ ।

 ‘बैंकको पैसा तिर्नु पर्दैन’देखि ‘ठूलो एकादशीमा चारनारायणको दर्शन गराइदिने’सम्मको आश्वासन दिएर बटुलेका बुढापाकालाई बल्खुसम्म पुर्याउन प्रसाईले राम्रै मेहनत गरेका थिए । 

प्रसाईले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नाम दिएर गरेको यो प्रदर्शनमा उनका समर्थक जति उपस्थित थिए त्योभन्दा बढी राजधानीमा ठूलो प्रदर्शन हुँदैछ भनेर सुनेर आएकाहरू थिए । 

भाषणका क्रममा प्रसाईले यसअघि विभिन्न अन्तर्वार्ता र कार्यक्रममा जस्तै अभिव्यक्ति दोहोर्याए । उनी आफैँले भाषणमा भने, ‘मैले भन्नु पर्ने नयाँ कुरा केही छैन । तपाईहरूले मेरा अन्तर्वार्तामा सबै सुनिरहनुभएकै छ । हो, त्यसैका विरुद्ध यो जनविद्रोह शुरु भएको छ । अब यो रोकिँदैन ।’ 

उनले यस्तै धेरै अराजक अभिव्यक्ति दिएर दिउँसोको भीडलाई कालिमाटीतर्फ धकेल्न खोज्दा प्रहरीसँग भिडन्त हुँदा प्रसाईका समर्थकहरु घाइते भए ।

बल्खुमा दुर्गा प्रसाईका समर्थक र युवासंघका कार्यकर्ताबीच एकपटक र प्रहरीसँग दुई पटक झडप भएको थियो । 

प्रदर्शन शुरु हुनुअघि नै बल्खु चोकमा प्रसाई समर्थक समूह र युवा संघका कार्यकर्ताबीच झडप भएको थियो । पछि प्रहरीसँगै उनीहरुको लफडा भयो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा दुर्गा प्रसाईको आह्वानमा भएको प्रदर्शनमा देशका विभिन्न भागबाट थरी–थरीका उद्देश्य बोकेका मानिस आन्दोलनमा सहभागी थिए । 

कट्टर राजावादी, हिन्दू राष्ट्र नेपाल पक्षधर र लघुवित्त संस्थाबाट ऋण लिएर समस्यामा परेका मानिसहरु जुलुसमा सहभागी थिए । 

तर यी सबै मानिसहरु दूूर्गा प्रसाईलाई विश्वास गरेर आएका भने थिएनन् । उनीहरुले त्यहाँ राज्यसँग असन्तुुष्टि पोख्ने मैदान बनाएका थिए । 

तर यो अभियानलाई राप्रपाले समर्थन गरेपछि भने शुक्रबारदेखि अर्को रुप लिने सम्भावना पनि रहेको छ । 

शुक्रबारदेखि श्रीलंकन शैलीमा कस्तो आन्दोलन हुने हो भन्ने चिन्ता भने छाएको छ । 

किनकि बिहीबारको कार्यक्रमकै कारण उपत्यकामा सबैजसो विद्यालय बन्द भए । विशेष कामका लागि बाहेक मानिसहरु बाहिर निस्कन डराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ