arrow

नेपाल–भारत सम्बन्ध कसैले चाहेर बिग्रनेवाला छैन – उपमुख्यमन्त्री फडणवीस

भन्छन् – क्यानले उपर्युक्त प्रस्ताव ल्याएमा क्रिकेटमा दुई पक्षीय प्रतिष्पर्धा गर्न सकिन्छ

logo
निरञ्जन साह, 
प्रकाशित २०८० मंसिर १४ बिहिबार
devendra-fadirwish-india-ne.jpg

मुम्बई । भारतको महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेंद्र फडणवीसले नेपाल भारतको सम्बन्ध कसैले चाहेर बिग्रनेवाला नभएको बताएका छन् । स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालको संयोजनमा भारत भ्रमणमा रहेको नेपाली पत्रकारहरुको प्रतिनिधि मण्डलसँगको भेटमा उपमुख्यमन्त्री फडणवीसले नेपाली क्रिकेटरहरुलाई मुम्बईमा प्रशिक्षण र व्यवसायिक क्रिकेटमा अवसर दिन सकिने बताए ।

नेपाली क्रिकेटको विकासमा आवश्यक सहयोग गर्न तयार रहेको उनले बताएका छन् । ‘नेपाल क्रिकेटसंघ (क्यान) ले उपर्युक्त प्रस्ताव ल्याएमा क्रिकेटमा दुई पक्षीय प्रतिष्पर्धा गर्न सकिन्छ’, उपमुख्यमन्त्री फडणवीसले बताए ।

नेपाली पत्रकारहरुले छलफलका क्रममा नेपाल–भारत सम्बन्ध, मुम्बईमा रहेका श्रमिक नेपालीहरुको अवस्था लगायतका विषयमा चासो राखेका थिए । नेपाली पत्रकारहरुले उठाएको विषयमा उपमुख्यमन्त्री फडणवीसले सकारात्मक रुपमा लिएको बताए । 

फडणवीसले महाराष्ट्र धार्मिक केन्द्र पनि रहेको भन्दै जनकपुरधामको जानकी मन्दिर र काठमाडौँको पशुपतिनाथ मन्दिरलाई जोड्ने प्रयास गर्ने बताए । 

स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालको अगुवाइमा मुम्बई पुगेको नेपाली पत्रकारहरुसँगको भेटघाटमा बीजेपीका पूर्व प्रदेश अध्यक्ष पनि रहिसकेका फडणवीसले १२ ज्योतिर्लिङ्गमध्ये चार महाराष्ट्रमै रहेकाले महाराष्ट्र धार्मिक केन्द्र रहेकाले भारतको पहिलो अनन्य मित्र देश नेपालको पशुपतिनाथ र जनकपुरधामको सिधा सम्बन्ध विस्तारका लागि आफू छिट्टै नेपाल पुगेर पहल गर्ने बताए ।

उनले नेपाल भारतको सम्बन्ध प्रगाढ रहेको बताए । फडणवीसले भने, ‘भारत नेपालको सम्बन्ध कसैले चाहेर बिग्रनेवाला छैन ।’

नेपाली पत्रकारहरुले भारतको आर्थिक राजधानी मुम्बईका अगुवाका नाताले नेपालको आर्थिक उन्नतिका लागि चलचित्र, गीत संगीत, खेल र युवा सदुपयोगको विषयमा साझेदारी गरी नेपालको उन्नतिमा भूमिका लेखेर आर्थिक साझेदार बन्न आग्रह गरेका थिए । 

नेपालका १६ जना पत्रकारको टोली भारत भ्रमणमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ