arrow

कांग्रेसको चिन्ता ८४ को हैन अहिलेको हो – गगन थापा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
gagan-thapa-okhaldhunga-08-.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले २०८४ मा हुने निर्वाचनको चिन्ता गर्नु नपर्ने बताएका छन् । वीपी स्मृति भवन उद्घाटन तथा ओखलढुङ्गा कांग्रेस जिल्ला सम्मलेनको उद्घाटनमा बोल्दै थापाले कांग्रेसले २०८० देखि ८३ सम्ममा चिन्ता गरेर काम गर्ने हो भने त्यही आधारमा ८४ मा मतदाताले भोट दिने दाबी गरे । 

उनले कांग्रेसका नेता कार्यकर्ताहरु भड्किन नहुने भन्दै अगाडि भने, ‘यो बेलामा नेपाली कांग्रेसले कसले ८४ भन्छ त्यो डम्फुको पछाडि लाग्ने होइन । कसले व्यवस्था फाल्छु भन्छ त्यसको पछि लाग्ने होइन । राजालाई नचाहिएको राजतन्त्र ल्याउँछु भनेर कोही मानिसहरु हल्ला गरेर हिँडेका छन् । त्यसको पछि पनि लाग्ने होइन ।’ 

२०८४ मा छाती ठोकेर भोट मागौँ 
उनले कांग्रेसले काममा जश लिएर अहिले काम गरेर देखाएमात्र २०८४ को चुनाव आफ्नो पक्षमा पार्न सकिने दाबी गर्दै भने, ‘हामीले यो बेलामा भन्ने हो हामीले संविधान बनाएर ल्याएको हो । ८० सालमा हामी काम गर्छौँ । ८१ मा हामी काम गर्छौँ । ८२ मा हामी काम गर्छौँ । ८३ मा हामी काम गर्छौँ र ८४ मा त्यही कामलाई देखाएर जनताको बीचमा गएर छाती ठोकेर हामी गएर भन्छौँ यो कारणले गर्दा हामीले भोट पाउनु पर्छ भनेर ।’

तर यसका लागि जिम्मेवार कांग्रेसका सबैले आफ्नो भूमिका निर्वाह गर्न निर्देशनसमेत दिएका छन् । उनले भने, ‘त्यसैले जिम्मा पाएको वडाध्यक्ष होस्, जिम्मा पाएको मेयर होस्, जिम्मा पाएको सांसद होस्, जिम्मा पाएको मन्त्री होस्, जिम्मा पाएको मुख्यमन्त्री होस् यो बेलामा जिम्मेवार बन्ने हो । धेरै छाडा कुरा गर्नेे होइन । आफूले पाएको जिम्मा पूरा गर्ने त्यो जिम्माको आधारमा भोलि मत माग्न जाने, अवस्था निर्माण गर्ने । प्रत्येकले आफ्नो ठाउँबाट आफ्नो जिम्मेवारी पूरा गरौँ ।’

महामन्त्री थापाले आफ्नो जिम्मेवारी पूरा गरेमात्र मतदाताले मत हाल्ने भन्दै अबका तीन वर्ष चिन्ता गरेर २०८४ को परिणाम आफ्नो पक्षमा पार्न आग्रह गरे । उनले भने, ‘त्यो जिम्मेवारी पूरा गर्दैगर्दा नेपाली कांग्रेसले आफूले पाएको जिम्मा पूरा गर्दैगर्दा जनताले प्रत्येक पटक जिम्मा पूरा गरेर आएको कांग्रेसलाई पुरस्कृत गरेका छन् । फेरि गर्नेछन् । त्यसैले चिन्ता ८४ को होइन चिन्ता ८० को हो । चिन्ता ८१ को हो । अहिलेको हो । आजको हो । यो समयमा हामीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेछ ।’

सो क्रममा उनले ओखलढुंगाको सन्देश केन्द्रमा पठाउन पनि आग्रह गरे । उनले भने, ‘त्यो जिम्मेवारी पूरा गर्ने सन्दर्भमा ओखलढुंगाको यो सम्मेलनबाट तपाईहरुले बृहत्तर रुपमा छलफल गरेर एकताको थप वातावरण बनाएर महासमितिमा तपाईहरुका सांसद हुनुहुन्छ, दुई जना केन्द्रीय सदस्य हुनुहुन्छ, उहाँहरु मार्फतबाट ओखलढुंगाको सन्देश नेपाली कांग्रेस केन्द्रलाई पठाउनु हुन्छ भन्ने विश्वास गर्दछु ।’  

उनले स्थानीय तहदेखि संघीय सरकारसम्म कांग्रेस भएको भन्दै ८४ को चिन्ता गर्नुभन्दा अहिले काम गरेर देखाउन सबैलाई आग्रहसमेत गरे । 

कांग्रेसका अबका सम्मेलन समयमै, क्यालेन्डर तयार
महामन्त्री थापाले अहिले देशैभर पार्टीको सम्मेलन भइरहेको भन्दै पहिलो पटक गर्दा अलमल भए पनि अब भने नियमित रुपमा यस्ता सम्मेलनहरु हुने बताए । 

सो क्रममा उनले भने, ‘पार्टीको विधानमा सम्मेलनको व्यवस्था छ । तर हामीले सम्मेलन गर्दै गरेनौँ । त्यसैले कांग्रेसका दुईजना महामन्त्रीले अधिवेशनको लगत्तै पछाडि देशैभरका कमिटीहरुलाई पत्र पठायौँ तपाईहरुले सम्मेलन गर्नुस् भनेर । पहिलो वर्ष सम्मेलन भएन । किनकि चुनाव थियो । यो वर्ष अहिले देशैभर सम्मेलन भइरहेको छ । यही सम्मेलनको कारणले भए पनि पार्टीमा अहिले जीवन देखिएको छ ।’

उनले यो सम्मेलनलाई निरन्तरता दिनका लागि व्यवस्थित गर्नुपर्ने र तालिका बनाएर अगाडि बढ्ने बताए । उनले भने, ‘यो सम्मेलनलाई व्यवस्थित गर्नुपर्नेछ । अर्को वर्षबाट हामीले सम्मेलनको तालिका बनाउँछौँ । सम्मेलनको तीन महिनाको समय हुन्छ । अन्तिम सम्मेलन महासमिति हुन्छ । त्योभन्दा पहिला प्रदेश सम्मेलन हुन्छ । र वडादेखिको सम्मेलन गर्दै गर्दै हामी जिल्ला सम्मेलन गर्छौँ एउटा तहगत रुपमा कुन कुन सम्मेलन गर्ने र कसरी गर्ने भनेर एउटा कार्यतालिका बनाउँछौँ । त्यसको आधारमा सम्मेलन गर्ने हो । पहिलो वर्ष भएको हुनाले सम्मेलन आ–आफ्नो तरिकाले भएका छन् । कम्तीमा प्रारम्भ भएको छ ।’

२०८२ मा महाधिवेशन
 नेता थापाले कांग्रेसभित्र आन्तरिक विवाद भए पनि उच्च मनोबलका साथ छलफल गरेर विवादहरु मिलाउँदै जानु पर्नेमा जोड दिए । उनले पार्टीको विधानअनुसार २०८४ मा महाधिवेशन गर्नुपर्ने भन्दै त्यसैअनुसार जानु पर्नेमा पनि अनुरोध गरे । 

उनले भने, ‘मैले केवल तपाईहरुलाई यतिमात्र अनुरोध गर्छु यो बेलामा नेपाली कांग्रेसको प्रत्येक साथीले उच्च मनोबलका साथमा पार्टीभित्रका विषयहरु पार्टीभित्र छलफल गरेर टुंग्याउँदै जाने हो । केही समयपछि महासमिति छ । त्यसपछि महाधिवेशन गर्ने हो । २०८२ सालमा महाधिवेशन गरेर नेपाली कांग्रेसलाई विधानसम्मत् तरिकाले अगाडि लिएर जाँदै गर्दा पार्टीभित्रको संघर्ष छ चल्छ । पार्टीभित्र सहकार्य पनि हुन्छ, संघर्ष पनि हुन्छ हाम्रो पार्टीले यसलाई सहजतापूर्वक लिएर जान्छ ।’

उनले २०८४ देखि नेतृत्व पनि बदल्दै लिएर जाने बताए । उनले भने, ‘हामी त्यहीसँगै नेतृत्व पनि बदल्दै लिएर जान्छौँ ।’

पार्टी हुनेखानेहरुको मात्र होइन 
महामन्त्री थापाले पार्टीभित्र थुप्रै सुधार गर्नुपर्ने भन्दै टिकट वितरण प्रणाली सही नभएको उल्लेख गरे । उनले खल्तीमा पैसा हुनेमात्र होइन पैसै नहुनेले पनि चुनाव जित्ने माहोल बनाउनु पर्नेमा जोड दिए । 

उनले भने, ‘पार्टीभित्र थुप्रै सुधार गर्नुपर्ने कुराहरु छन् । टिकट दिने प्रणालीमा सुधार गर्नुपर्ने छ । सदस्यताको विषयमा सुधार गर्नुपर्ने छ । पार्टी हुनेखानेहरुकोमात्र होइन, खल्तीमा पैसा हुनेहरुको मात्र होइन । गाउँमा एक टुक्रा जमीन नभएको मान्छेले पनि नेपाली कांग्रेसको टिकट प्राप्त गर्दै गर्दा जित्न सक्ने नेपाली कांग्रेस बनाउनु पर्नेछ ।’

उनले यसबारे फेरि कुरा गर्ने भन्दै अब संघमा पनि कांग्रेसको नेतृत्वमा सरकार बन्दै गरेको दाबी गरे । 

थापाले भने, ‘यसका बारेमा छलफल गरौँला । तर आज नेपाली कांग्रेसका साथीहरुले एक ढिक्का भएर मेयर हाम्रो हुनुहुन्छ, सांसद हाम्रो हुनुहुन्छ, प्रदेशको सांसद हाम्रो हुनुहुन्छ । मुख्यमन्त्री हाम्रो हुनुहुन्छ । मन्त्री हाम्रो हुनुहुन्छ । संघमा हामीहरु छौँ । केही समयपछि नेपाली कांग्रेसको नेतृत्वमा संघको सरकार पनि बन्छ ।’ 

बहकाउमा नलाग्न कांग्रेस नेता कार्यकर्तालाई आग्रह 
महामन्त्री थापाले नेपाली कांग्रेसका नेता कार्यकर्तालाई बहकाउमा लाग्ने छुट नभएको भन्दै दत्तचित्त भएर काम गर्न निर्देशन दिएका छन् । उनले स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस नै कांग्रेस भएको भन्दै कुनै बहानामा काम नगर्ने छुट नभएको भन्दै जनप्रतिनिधिलाई सजग गराए । 

उनले भने, ‘म अहिले देशभर घुमिरहेको छु । पार्टीका साथीहरुलाई भेटिरहेको छु । पार्टीका साथीहरु भेट्दा अलि अप्ठेरो–अप्ठेरो महसुस भइरहेको छ । देशैभरि मञ्चमा दाहिने पट्टी बस्यो भने सांसद ठोक्किन्छ, देब्रेपट्टी बस्यो भने वडाध्यक्ष ठोक्किन्छ । अलि अगाडिपट्टी ठोक्कियो भने मेयर ठोक्किन्छ । अहिले यहाँ त हात लम्कायो भने मुख्यमन्त्रीसम्म हात पुग्छ । जता हेर्यो कांग्रेसै कांग्रेस ।’

उनले तथ्यांक केलाउँदै भने, ‘३३२ पालिकाको प्रमुख कांग्रेस छ । संघ हामी, प्रदेश हामी, चार ओटा प्रदेशको मुख्यमन्त्री हामी । सात ओटा प्रदेशमा हामी सम्मिलित सरकार छ । केन्द्रमा हामी छौँ । जताततै हामी छौँ । तर कांग्रेसका साथीहरुका बीचमा एउटा अलमल देखिन्छ ।’

उनले कांग्रेस नेता कार्यकर्तामा देखिएको अलमलबारे थप स्पष्ट पार्दै भने, ‘त्यो अलमलका कारण हाम्रो पार्टीभन्दा बाहिर एउटा कोलाहल छ । त्यो कोलाहलमा कोही भनिरहेको छ यो व्यवस्थालाई फाल्ने हो । कोही भनिरहेको छ राजालाई ब्युँताउने हो । कोही भनिरहेको छ यो गठबन्धनलाई भत्काउने हो । कोही भनिरहेको छ ०८४ मा पल्टाउने हो । भत्काउने, पल्टाउने, ठोक्ने, मार्ने कुरामात्र हामीले जताततै सुनिरहेका छौँ । र कांग्रेसका साथीहरु अल्मलिनु भएको छ ।’

उनले अहिलेको उश्रृंखल प्रवृत्तिबारे थप भने, ‘कोही भनिरहेको छ सिंहदरबार जलाउने भनेर । सिंहदरबार जलाउने भन्नेबाट सिंहदरबार बचाउने हो कि ? व्यवस्था फाल्छु भन्नेबाट व्यवस्था जोगाउने हो कि ? राजा ल्याउँछु भन्नेबाट त्यसलाई रोक्ने हो कि ? गठबन्धन भत्काउँछु भन्नेबाट रोक्ने हो कि भन्ने खालको बाहिरको हल्लाले कांग्रेसभित्र एउटा खालको अलमल देखिएको छ । यो अलमलबाट नेपाली कांग्रेस बाहिर निस्कनु पर्छ । किनकि कांग्रेसलाई अलमलिने सुविधा छैन ।’

कांग्रेसमा संविधान जोगाउने ठूलो जिम्मेवारी छ 
नेता थापाले कुनै पनि काममा अल्झने छुट कांग्रेसलाई नभएको भन्दै कांग्रेसमा सबैभन्दा ठूलो जिम्मेवारी रहेको बताए । उनले कांग्रेस अलमलियो भने त्यसको मूल्य देशले चुकाउनु पर्ने भन्दै नेता कार्यकर्तालाई समेत पारे । 

उनले यो संविधान कांग्रेसको महत्वपूर्ण भूमिकाले आएको भन्दै उनले अब अगाडि बढ्ने जिम्मा पनि कांग्रेसको भएको बताए । 

उनले भने, ‘हाम्रो त्योभन्दा ठूलो जिम्मेवारी छ । नेकपा एमाले अलमलिए धेरै फरक पर्दैन । माओवादी अलमलिए पनि धेरै फरक पर्दैन । तर कांग्रेस अलमलियो भने त्यसको मूल्य सिंगो देशले चुकाउनु पर्छ । हामीले आफूलाई सम्हाल्नु पर्नेछ । हामी सम्हालियो भनेमात्रै सिंगो देशलाई सम्हाल्न सक्छौँ । यो सम्हाल्ने कुरामा हामी एउटा दुई ओटा स्पष्ट हुनै पर्छ । साथीहरु व्यवस्था र अवस्थाको कुरा गर्नुहुन्छ । तर अवस्था र व्यवस्था दुईओटा कुरा जोडिएको छ । हामीसँग आज जुन व्यवस्था छ यो व्यवस्था भनेको हाम्रो जग हो । यो संविधान भनेको जग हो । यो संविधान हामीले बनाएको हो ।’

विगततर्फ फर्कदै नेता थापाले भने, ‘हाम्रो नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शान्ति प्रक्रिया, हाम्रो नेता सुशील कोइरालाको नेतृत्वमा बनाएको संविधान र हाम्रो नेता शेरबहादुर देउवाको नेतृत्वमा कार्यान्वयनमा लिएर गएको संविधान हो । यो संविधान माओवादीले चाहेको जस्तो संविधान होइन । एउटा मधेसलाई एउटै प्रदेश बनाउनु पर्छ भन्ने मधेसी पार्टीले चाहेको जस्तो संविधान पनि होइन यो । नेपाली कांग्रेसले चाहेर बनाएको संविधान हो ।’

उनले कांग्रेसले खोजेजस्तो संविधान नभएको हुन सक्छ भन्दै त्यसको संरक्षण र सुधार गर्ने जिम्मा पनि कांग्रेसको भएको बताए । 

उनले भने, ‘एउटा संविधान बनाउँदै गर्दा हामीले चाहेको जस्तो दुरुस्त कुराहरु परेनन् । पर्दैैनन् पनि । देशभित्र सबैलाई मिलाउनु पर्छ । तर मूलतः यो संविधान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान नेपाली कांग्रेसले जन्माएको, नेपाली कांग्रेसले नेतृत्व गरेकोले यसलाई जोगाउने जिम्मेवारी पनि हाम्रो हो ।’

चुनौतीहरु आइरहने भन्दै नेता थापाले भने, ‘संविधान कार्यान्वयन गर्दै गर्दा केही समस्याहरु आएका छन् आउँछन् । अमेरिकाको संविधानमा आएको छ । भारतको संविधानमा आएको छ । संसारभरि आउँछ । हाम्रोमा पनि आउँछ । हामीले अहिले निर्वाचन प्रणाली बनायौँ । जुन निर्वाचन प्रणालीको उद्धेश्य दलित, जनजाति, अल्पसंख्यक सबैको प्रतिनिधित्व संसदमा होस् भनेर बनाएको हो ।’

उनले सबैलाई समेट्ने नाममा संसदमा बेथिति बढेको बताए । उनले भने, ‘संसदमा प्रतिनिधित्व होस् भनेर बनाउँदै गर्दाको यो व्यवस्थाको दुरुपयोग भएको छ । इष्टमित्र, नातागोता, आफन्त, पैसा भएका मानिसहरुले समानुपातिकको नाममा टिकट लिएर गएका छन् । यसलाई रोक्ने । हामीले बनाएको संघीयता यो ढाँचाको होइन ।’

उनले प्रदेशलाई जिम्मेवारी दिन नसकिएको पनि उनले बताए । उनले भने, ‘आज हामीले प्रदेशले काम गर्न सकेन भनिरहेका छौँ । तर प्रदेशलाई दिनुपर्ने अधिकार संघबाट दिनुपर्ने अधिकार हो । ४० ओटाभन्दा बढी कानून बनाउनु पर्नेछ । हामी दिइरहेका छैनौँ । हामी मुठ्ठी कसिरहेका छौँ । काम गर्नेलाई काम गर्न दिइरहेका छैनौँ । त्यो कारणले गर्दा समस्या आएको छ ।’

उनले संविधान बनाएको कांग्रेसले भएकाले कांग्रेसले नै कमीकमजोरीलाई सम्बोधन गर्नुपर्ने बताए । 

नेता थापाले भने, ‘जहाँ समस्या छ त्यो समस्यालाई सम्बोधन गर्नुपर्छ । तर यो संविधानलाई नेपाली कांग्रेस जसको नेतृत्वमा संविधान बनेको छ हामीले बनाएको संविधान हो । यो संविधानभित्र आएका कमीकमजोरीलाई पनि हामी सम्बोधन गर्छौँ ।’

अराजकता फैलाउनेलाई कांग्रेसले रोक्नुपर्छ
उनले जहाँ कसैले अराजकता फैलाउन खोज्छ भने त्यसलाई कांग्रेसले रोक्नु पर्ने बताएका छन् । 

उनले भने, ‘हामी सम्हाल्दै लिएर जान्छौँ भन्ने विश्वास आम जनतालाई दिनुपर्छ र त्यो विश्वास दिनुभन्दा पहिला ओखलढुङ्गाको सम्मेलनबाट भोलि निस्किएर गाउँ फर्किएर जाने प्रत्येक नेपाली कांग्रेसको कार्यकर्ताले चोकमा, चौतारोमा, चिया पसलमा जहाँ मेलापात गर्न जाँदाखेरि पनि यो संविधानको पक्षमा, यो व्यवस्थाको पक्षमा वकालत गर्न सक्ने र प्रतिरक्षा गर्न सक्ने र भन्न सक्ने । हो कमजोरीहरु छन् । शासन प्रणालीमा छ, संघीयताको ढाँचामा छ । यी सबैलाई सुधारेर लिएर जाने काम कांग्रेसले गर्छ ।’

उनले अगाडि भने, ‘यसको नाममा जसले अराजकता फैलाउन खोज्छ त्यसलाई रोक्ने काम पनि कांग्रेसले गर्छ । किनकि कांग्रेसले सबैलाई मिलाएर लिएर जान्छ भन्ने सन्देश सबैलाई प्रवाहित गर्नुछ ।’

जनतामा आक्रोश छ, अवस्था फेर्नुपर्छ 
नेता थापाले अहिले जताततै आक्रोश रहेको भन्दै व्यवस्था भन्दा अवस्था फेर्नुपर्नेमा जोड दिए । उनले भने, ‘यो व्यवस्थाको सन्दर्भमा यति कुरा गरेरमात्र पुग्दैन । हामीले सँगसँगै अवस्था पनि बदल्नु पर्नेछ ।’

उनी देश दौडाहाका क्रममा विभिन्न प्रकृति र पेशाका व्यक्तिहरुका गुनासो सुनिरहेको भन्दै अहिलेको अवस्था सन्तोषजनक नभएको बताए । 

उनले भने, ‘म पार्टीका साथीहरु सँगसँगै आम नागरिकहरु पनि भेटिरहेको छु । नागरिकहरुमा तीव्र आक्रोश छ । र उनीहरुका साना साना कुराहरु छन् । झिनामसिना कुराहरु छन् । यी हामीले सम्बोधन गर्नुपर्छ । नागरिकहरु भनिरहेका छन् राज्यको अनुभूति मैले गर्न पाउनु पर्छ ।’

यस विषयलाई सान्दर्भिक बनाउने गरी उनले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जाजरकोट र रुकुममा केही दिन बसेर आउन आग्रह गरेको बताए । 

उृनले भने, ‘हामीले अस्ति प्रधानमन्त्रीलाई दुई जना महामन्त्रीहरु गएर भेटेर भन्यौँ –जानुस् तपाई अहिले भर्खर फर्केर आउनु भएको छ जानुस् प्लेन चढेर जानुस् हेलिकप्टर चढेर जानुस् जाजरकोट र रुकुममा कम्तीमा तीन रात त्यहीँ बस्नुस् । र प्रधानमन्त्रीको उपस्थितिमा हजारौँ घरहरु आफ्नो आँखा अगाडि बनेको गराउन लगाउनुस् र नागरिकलाई भन्नुस् यो मंसिरको महिना कट्दा नकट्दै कोही पनि पालमुनि बस्नु् पर्दैन सरकार छ । नेपाली कांग्रेस सम्मिलित भएको सरकारलाई हामीले यो बनाउन सक्नुपर्छ ।’ 
 

एनसेलमा कालोधन लगानी गर्नेलाई दण्ड 
महामन्त्री थापाले भ्रष्टाचारका कारण नागरिकको आक्रोश चरमोत्कर्षमा पुगेकोतर्फ इंगित गर्दै पछिल्लो समय चर्किएको एनशेलको शेयर बिक्री प्रकरणबारे पनि विचार राखेका छन् । 

उनले भने, ‘नागरिकको सबैभन्दा ठूलो आक्रोश भ्रष्टाचारको विषयमा छ । प्रत्येक दिन बिहान रेडियो सुन्दै गर्दा कुनै न कुनै नयाँ काण्डको बारेमा सुनिन्छ । केही समय अगाडि सुनको काण्डको बारेमा सुनियो । हिजोआज तपाईहरुले पत्रपत्रिका खोल्नु भयो भने एनसेलको अर्बौँ रुपैयाँको घोटाला काण्ड सुन्नुहुन्छ । प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौँ रुपैयाँ घोटाला भयो भन्ने कुराको अनुमान लगाउन सकिन्छ ।’

उनले कांग्रेसले कोही दोषी भेटियो कडा कारबाही गर्छ भन्ने अनुभूति दिलाउन सक्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘कांग्रेस भएको सरकार छ यो । यो सरकारले यो खालको कुनै पनि काममा यदि कहीँ कतैबाट पनि कानूनको दुरुपयोग भएको छ । जतिसुकै ठूलो मान्छे यसमा संलग्न भएको होस् यदि ठूलै नेताको सम्पत्ति कहीँ कतै चोर बाटोबाट लगेर त्यो कालो धन फेरि नेपालमा लगानीको नाममा भित्र्याउने प्रयास भएको छ भने पनि जोसुकै होस् त्यसले दण्ड पाउँछ भन्ने कुराको विश्वास कांग्रेसले दिलाउन सक्नुपर्छ ।’

मन्त्रालयका खाता पल्टाएर मात्र अर्थतन्त्र सुध्रिन्न, किसानको पीडा सुन 
महामन्त्री थापाले अर्थमन्त्रीको कामप्रति असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘हामीले अर्थतन्त्रको केवल अर्थ मन्त्रालयका खाताहरु पल्टाएरमात्र हुँदैन । हो, राष्ट्रबैंकमा अहिले मुद्रा छ । हो, हाम्रा तथ्यांकहरुले केही सकारात्मक कुराको संकेत गरेका छन् । तर हामीले गाउँगाउँमा डुलेर हेर्यौँ भने म अस्तिमात्रै कपिलबस्तु रुपन्देही गएर आएँ । किसानहरुलाई भेटेँ, सामान्य व्यापारीलाई भेटेँ । हामीले तल गएर हेर्दा के पाएका छौँ भने किसानहरुको यति धेरै ठूलो रुवावासी छ ।’

तथ्यांक एकातिर र व्यवहारिक पक्ष अर्कोतिर रहेकोतर्फ संकेत गर्दै नेता थापाले भने, ‘अझ खास गरिकन सानो सानो ऋण लिएर जसले बैंकबाट ऋण लिएर सानो सानो काम गर्न खोजेको छ उसको सबै रित्तिएको छ । यतिधेरै मानिसको जग्गा लिलामी हुने अवस्था पुगेको छ । कति मानिसहरु सहकारीमा डुबेका छन् । खासगरी कोभिड पछाडि नौजवानहरुले केही नयाँ काम गर्न खोजेका छन् ती कतिपय मानिसहरु डुबेका छन् । यी सबै मानिसहरु कहीँ कहीँ राज्यबाट त्यो अनुभूति होस् । मैले कहीँ न कहीँ राहत प्राप्त गरुँ । म फेरि उठ्न चाहन्छु । मेरो निम्ति सरकार आइदेओस् । मेरो निम्ति राज्य आइदेओस् । किनकि त्यहाँ कांग्रेस छ । मेरो अभिभावक कांग्रेस हो भन्ने उसले सोचिरहेको छ ।’

उनले कांग्रेस जिम्मेवार भएर अभिभावकत्व ग्रहण गरेर राहत दिलाउन सक्नुपर्नेमा जोड दिए । उनले भने, ‘त्यो अभिभावकत्व हामीले महसुस गराउन सक्नुपर्छ । हामीले भन्न सक्नुपर्छ चाहे त्यो कंगाल भएको व्यवसायी होस्, चाहे त्यो आफ्नो उत्पादन बजारमा जान नसकेर चाहे त्यो तिहारमा मालाले बजार नपाएको होस् वा दूधले नपाएको होस् वा केराले नपाएको होस् वा फलफूल सुन्तलाले नपाएको होस् त्यो प्रत्येक किसानलाई ढाडस दिन सक्ने आश्वस्त पार्न सक्ने आज नेपाली कांग्रेसले गर्नुपर्ने छ । किनिकि हामी सरकारमा छौँ । हामीहरु जिम्मेवारीमा छौँ ।’

सम्बोधनका क्रममा नेता थापाले कांग्रेस मञ्चमा बस्ने नेताहरुका कारण नभइ भुइँमान्छेका कारण जीवित रहेको भन्दै प्रशंसा गरे । उनले मञ्चमा बस्नेले भन्दा पनि तल बसेर भुइँमान्छे भएर कांग्रेसलाई जोगाएको भन्दै सबैलाई सम्मान गर्न चाहेको पनि उल्लेख गरे । 

उनले खास गरी मातृशक्ति (दिदीबहिनी, आमाहरु) यो कार्यक्रमा आएको र पार्टीको कार्यक्रम सकेर घर पुगेपछि घरको चुलो पनि चलाएको भन्दै यस्ता थुप्रै पार्टीलाई जोगाएर राखिदिने तत्लोतहका सबै दिदीबहिनीप्रति आभार प्रकट गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ