arrow

एनसेल शेयर खरिद बिक्री छानबिन गर्ने सत्ता गठबन्धनको निष्कर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
gathabandhan-meeting-2080-0.jpg

काठमाडौँ । सत्ता गठबन्धन दलको बैठकले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त विषयमा छानबिन गर्न सरकार तयार हुनुपर्ने र मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको हो ।
 
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले उक्त शेयर खरिदबिक्रीको सत्यतथ्य पत्ता लगाउन आगामी मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्ने जानकारी दिइन् । 

सरकारले प्रारम्भिक चरणमै एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा आवश्यक छानबिन गर्ने निर्णय गरिसकेको जानकारी दिँदै उनले सरकारको अग्रसरतालाई गठबन्धन दलका नेताहरुले समर्थन गरेको बताइन् । 
 
मन्त्री शर्माले उक्त प्रकरणमा गठबन्धन दलका शीर्ष नेताको कुनै पनि संलग्नता नरहेको जनाउँदै त्यस्ता अफवाहमा कुनै पनि सत्यता नरहेको बताइन् । “शीर्ष नेताको संलग्नता हुन्थ्यो भने छानबिनको कुरै हुँदैनथ्यो, सरकार नियम कानून र राष्ट्रहितप्रति प्रतिबद्ध छ”, उनले भनिन् । 
 
बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चारमन्त्री शर्मालगायत सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ