arrow

सर्वोच्चमा सिफारिस न्यायाधीशविरुद्ध दश उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
samsadiya-samiti-08-21.jpg

काठमाडौँ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकमा उजुरी खोल्दा १० वटा परेको पाइएको हो । 

सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारङ्गा सुवेदीका नाममा छ, टेकप्रसाद ढुङ्गानाका नाममा तीन र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले जानकारी दिए । उनका अनुसार सिफारिस भएका न्यायाधीशमा महेश शर्मा पौड्याल, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाममा कुनै पनि उजुरी परेको छैन ।
 
समितिका सदस्यहरुले उजुरीउपर र कार्ययोजनाको विषयमा विस्तृतरुपमा अध्ययन गर्नुपर्ने भएकाले केही दिन समय दिनुपर्ने माग गरेपछि अध्ययन समितिले सिफारिस भएका न्यायाधीशहरुको सुनुवाइका लागि यही मङ्सिर २७ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ । 

त्यस्तै, आजको बैठकमा सुनुवाइका लागि मङ्सिर २९, आगामी पुस १ र २ गते दुई–दुई जनाको गर्ने निर्णय भएको हो ।
 
न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि यही मङ्सिर ५ गते छ जनाको नाम सिफारिस गरेको थियो ।

पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार
 
संसदीय सुनुवाइ समितिको आजको बैठकले पोर्चुगलका लागि आवासीय राजदूतको पदमा नियुक्तिका लागि सिफारिस हुनु भएका शनिल नेपाललाई शुक्रबार संसदीय सुनुवाइका लागि बोलाउने भएको छ ।
 
समितिका सभापति जबराले आज उनीविरुद्ध एक उजुरी परेको जानकारी दिँदै उहाँको सुनुवाइ शुक्रबार दिउँसो २ः३० बजेका लागि तय भएको जानकारी दिए ।
 
बैठकमा मुलुक आर्थिक सङ्कटमा परिरहेको अवस्थामा के कारणले त्यहाँ दूतावास खोल्नुपरेको हो सोको कारणबारे समितिका सदस्य महेश बर्तौलाले सरकारका तर्फबाट जानकारी गराउनुपर्ने माग गरेका थिए । 

सोही विषयमा समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विषयमा परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर छलफल गर्नुपर्ने कुरा राखे । 

उक्त विषयलाई लिएर समितिका सभापति जबराले राजदूतको सुनुवाइ हुनुभन्दा अगाडि परराष्ट्रमन्त्रीलाई बोलाएर उक्त विषयमा जानकारी लिने बैठकमा जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ