- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मानव अधिकारको घोर उल्लङ्घन गर्नेले नै मानव अधिकारको चर्को कुरा गर्ने गरेको बताएका छन् । पचहत्तर अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कमजोर नागरिकले वर्षौँदेखि अधिकारका लागि लडाइँ गरे पनि प्राप्त गर्न नसकेको उल्लेख गरे ।
नागरिकको मानव अधिकारको प्रत्याभूत नभएकै कारण हरेक दिनदिनै नेपाली युवा विदेशिनु परेको अध्यक्ष केसीको भनाइ थियो ।
“मानव अधिकारबारे बढी प्रचार गर्नेले नै यसको उल्लङ्घन गरिरहेका छन्, जसले मानव अधिकारको घोर उल्लङ्घन गरेको छ, उसैले मानव अधिकारको चर्को कुरा गरिरहेको छ, कुनै पनि नागरिकलाई मानव अधिकार संरक्षण हुन्छ, भन्ने विश्वास नै छैन”, अध्यक्ष केसीले भने, “शक्ति हुनेको ढुङ्गो उँभो पल्टन्छ, कमजोरको उँदो पनि पल्टिँदैन, त्यसले गर्दा जो बलियो छ, उसले मानव अधिकार पाएको छ, निमुखा जनताले भने पाउन सकेका छैनन् ।”
मानव अधिकार रक्षाका लागि सरकार र जनता नै लाग्नुपर्नेमा जोड दिँदै उनले वर्षौँदेखि अन्यायमा परेका कैयौँ नागरिकले अहिलेसम्म न्याय पाउन नसकेकाले यसमा सरकार सचेत हुनुपर्नेमा जोड दिए ।