arrow

नक्कली शरणार्थी प्रकरण

प्रहरीले बादलका छोरा प्रतीकलाई पक्रन नसकेको कि नचाहेको ? 

बैशाख २१ गते विज्ञप्ति निकालेर आफूमाथि लागेको आरोपको खण्डन गर्दै अनुसन्धानमा सघाउने बताए पनि आठ महिनादेखि प्रहरी र अदालतका आँखा छल्न सफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
badal-pratik.jpg
तस्बिर – बादलसँग प्रतीक ।

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँडको मुद्धा उच्च अदालतमा सुनुवाइकै क्रममा छ । 

उनको मुद्धा तीन जना न्यायाधीशको बेञ्चमा सुनुवाइ हुने भएकाले निकै चासोका साथ हेरिएको छ । तर नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको करोडौँ ठगी प्रकरणमा निर्दोष रहेको दाबी गर्दै प्रतिरक्षामा उत्रिएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल) का छोरा प्रतीक विगत ८ महिनादेखि अहिलेसम्म पक्राउ परेका छैनन् । उनी फरार रहेका छन् । उनलाई प्रहरीले पक्राउ गर्न नसकेको हो वा पक्राउ गर्न नचाहेको हो भन्ने खुल्न सकेको छैन । 

भुटानी शरणार्थी प्रकरणमा संलग्न भएकोबारे मिडियामा प्रतीकको नाम सार्वजनिक भएपछि आफू निर्दोष रहेको भन्दै उनले विज्ञप्ति जारी गरेका थिए ।  

बैशाख २१ गते विज्ञप्तिसमेत निकालेर उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै अनुसन्धानमा सहयोग गर्ने बताए पनि आठ महिनादेखि प्रहरी र अदालत दुवैका आँखा छल्दै आएका छन् ।

 ‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु। तर संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरुप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ थापाले विज्ञप्तिमार्फत भनेका थिए । 

तर अहिलेसम्म प्रहरी प्रशासनलाई न सहयोग गरेका छन् नत उनलाई प्रहरीले पक्राउ नै गर्न सकेको छ । सो ठगी प्रकरणमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते तीन जनालाई पक्राउ गरेपछि नै प्रतीक सम्पर्कविहीन भएका थिए । 

उनीसँगै जोडिएका टोपबहादुर रायमाझीका छोरा सन्दीप भने ३० लाख धरौटीमा छुटेका छन् । यो प्रकरणमा चैत १२ गते ३ जना पक्राउ परेपछि प्रतीक भारत पुगेको बताइएको थियो । 

तर त्यसपछि उनी अहिलेसम्म कहाँ छन् भन्नेबारे केही पत्ता लाग्न सकेको छैन । पक्राउ पुर्जी जारी भएर प्रहरीको खोजी सूचीमा रहेका उनी अहिलेसम्म फेला पर्न सकेका छैनन् । 

प्रतीकले आमा नैनकला थापालाईसमेत पैसा बुझ्न लगाएको भन्दै पक्राउ परेका अभियुक्तले प्रहरीसमक्ष बयान दिएका थिए । फरार प्रतीक अहिले पनि भरतमै हुन सक्ने प्रहरी अधिकारीहरुको आशंका छ । 

प्रतीक मात्रै होइन, यो प्रकरणमा पक्राउ पुर्जी नै जारी भएर फरार भएका अन्य व्यक्ति पनि छन् । तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई अहिले पनि पुर्पक्षका लागि कारागारमा छन्। उनकै छोरा निरज भने फरार छन् । 

उनको पनि अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन । थापा र राईजस्तै फरार सूची सुनसरी घर भई अमेरिका बस्दै आएका अशोक पोखरेल, मोरङका धीरेन राई, मुख्य अभियुक्त केशवप्रसाद दुलालकी श्रीमती दीपा हुमागाञी, काठमाडौँका राजेश अर्याल, पाँचथरका मोहनराज राई, काठमाडौंकै आशिष बुढाथोकी, थुनामा रहेका अर्का अभियुक्त सागर राईकी श्रीमती सावदेन लिम्बु, रौतहटका निरन्जनकुमार खरेल र झापाका सुनिल बुढाथोकी अहिलेसम्म फरार छन् । 

लामो अनुसन्धानको क्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाँडदेखि नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्रीसमेत भइसकेका प्रतिनिधि सभाका बहालवाला सांसद टोपबहादुर रायमाझी, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेसहित हाइप्रोफाइल व्यक्ति पक्राउ परेका थिए । 

हाइप्रोफाइलसहित विभिन्न मितिमा १८ जनालाई पक्राउ परेर मुद्दा चलाइएको थियो । ठगी, संगठित ठगी, राज्य विरुद्धको कसूर, लिखतसम्बन्धी कीर्ते र एकीकृतको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको थियो । प्रतिवादीहरुले २८ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको भन्दै सोही अनुसारको बिगो मागदाबीसमेत गरिएको थियो । 

अहिले टेकनाथ रिजाल लगायतका केही व्यक्तिहरु धरौटीमा छाडन आदेश दिइएको थियो । रिजाल भने धरौटी तिर्ने रकम नभएको भन्दै अझै थुनामा रहेका छन् । 

सन्दीप रायमाझी भने छुटिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ