arrow

राष्ट्रिय सभाको टिकट बाँड्दा मापदण्ड र न्यायपूर्ण हुनुपर्छः गगन थापा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
gagan-thapa-2080-08-27.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय सभाको टिकट बाँड्दा मापदण्ड र न्यायपूर्ण हुनुपर्ने बताएका छन् । 

कांग्रेसको आफू निकटका नेताहरुको छलफलपछि संचारकर्मीसँग उनले छलफलमा राष्ट्रिय सभाका लागि कांग्रेसको प्रतिनिधित्व गर्दा मापदण्ड र न्यायपूर्ण हुनुपर्नेमा जोड दिने निर्णय गरिएको बताए । 

उनले यसअघिका निर्वाचनमा विभेद भएको भन्दै यसपालि सभापतिको कुनै पनि त्यो किसिमको भूमिका हुन नहुने बताए । 

विगत केलाउँदै महामन्त्री थापाले भने, ‘तीन ओटै उम्मेदवारी छनोट गर्दा हामीले कुनै मापदण्ड बनाएनौँ । मापदण्डअनुसारले गर्न सकेनौँ । दोस्रो चाहिँ अन्यायपूर्ण र विभेदपूर्ण भयो । पार्टीभित्रको मुख्य नेतृत्व पार्टीको सभापतिले सबैसँग न्यायपूर्ण व्यवहार गर्नुपर्ने ठाउँमा पार्टीको सभापति आफैँ एउटा समूहको संरक्षक जस्तो हुनुभयो । आफ्नो समूहमा जो छ उसको लागि एउटा व्यवहार । जो आफ्नो समूहमा छैन वा जसले आफूलाई अधिवेशनमा मत दिएन उलाई हेर्ने अर्को नजर ।’

उनले सभापतिको खेमाका अरुले गर्ने स्वभाविक भए पनि सभापतिले त्यसो गर्नु दुर्भाग्य भएको भन्दै आसन्न राष्ट्रिय सभाको निर्वाचनमा दुईओटा कुरामा स्पष्ट हुनुपर्छ भनेर छलफल गरेको बताए । 

उनले भने, ‘एउटा मापदण्ड– नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा जाँदै गर्दा राष्ट्रिय सभाको जुन स्पिरिट छ, संविधानको जुन स्पिरिट छ, संविधानको जुन स्पिरिट छ । यी सबै कुराको आधारमा जो साथीहरु राष्ट्रिय सभामा जान योग्य हुनुहुन्छ, जसले अहिलेसम्म मौका पाउनु भएको छैन, जसले यो भन्दा अगाडिको निर्वाचनमा भाग लिनु भएको छैन तीन साथीहरु जाने कुरा एउटा र दोस्रो कुरा भनेको चाहिँ न्यायपूर्ण कुरा ।’

उनले कुन समूहले कति पाउनु पर्छ भन्नुभन्दा पनि सभापति सिंगो पार्टीको सभापति बन्नुपर्नेमा जोड दिए । उनले भने, ‘यो समूहले यति पाउनु पर्छ उति पाउनु पर्छ भन्दा पनि सभापति चाहिँ यो पटकको राष्ट्रिय सभाको टिकट बाँड्दै गर्दा सभापति सिंगो कांग्रेसको सभापति बन्न सक्नुहुन्छ कि सक्नुहुन्न ? सभापति सिंगो कांग्रेसको सभापति बनाउने हो । हाम्रो तर्फबाट हामीले त्यसका निम्ति प्रेरित गर्ने, दबाब दिने काम यसमा गर्नुपर्छ भनेर आज हामीले एउटा विषय यसमा छलफल गरेको हो ।’

भेलामा आसन्न महासमितिको बैठकबारे छलफल गरेको उनले बताए । उनले भने, ‘महासमितिको बैठक समयमै गर्नुपर्छ भन्ने त भयो नै त्यसबाहेक महासमिति बैठकले राजनीतिक कुराहरुमा, सांगठनिक कुराहरुमा आजको दिनमा दिशानिर्देश गर्ने कुराहरु के हुन सक्छन् ? के के छन् ? भन्ने बारेमा प्रारम्भिक छलफल मात्र भयो । यसका बारेमा थप छलफल गर्ने भनेर हामीले सल्लाह गरेका छौँ ।’

बैठकको तेस्रो छलफलको विषय सुशासनको विषय भएको भन्दै महामन्त्री थापाले भने, ‘एकपछि अर्को काण्डहरु सार्वजनिक हुँदै आउने र अहिले नेपाली कांग्रेस आफैँ सरकारमा हुने । हामी सरकारमा भएका बेलामा यस्ता एकपछि अर्का काण्ड सार्वजनिक हुँदा यी विषयलाई हामीले सामान्य रुपमा लिनु हुँदैन । यसका बारेमा नेपाली कांग्रेसभित्र संगठित रुपमा हामीले दबाब सिर्जना गर्नुपर्छ भन्ने बारेमा पनि प्रारम्भिक छलफल गरेका छौँ । कसरी गर्ने के गर्ने भन्ने बारेमा पार्टीभित्रै कसरी लडेर जाने, यसलाई कसरी शुद्ध बनाउने, हामी सरकारमै छौँ, सरकारमा भएका साथीहरुले कुन ढङ्गले यो विषयलाई लिने भन्ने बारेमा प्रारम्भिक छलफल गरेका छौँ । थप छलफल आगामी दिनमा हुन्छ ।’

गगन–शेखर समूह भित्रै समस्या
गगन–शेखर समूहमै समस्या विद्यमान छ । यो समस्या समाधान गर्नेतर्फ पनि आफूहरु उन्मुख भएको नेता थापाले बताए । 

उनले भने, ‘हामीभित्र हामी सबैले आत्मसात् गरेको विषय भनेको हामीभित्र संवादको एकदमै कमी भयो । हाम्रो बैठक नै हामी महिनौँपछि बसिरहेका छौँ । हामी एकअर्कासँग गर्ने संवाद, समूहमा गर्ने संवाद, सांसदहरुसँग गर्ने संवाद, केन्द्रीय सदस्यहरुसँग गर्ने संवाद, यो भन्दा बाहिर पनि सयौँ साथीहरु हुनुहुन्छ उनीहरुसँग गर्ने संवाद कमी भयो । जहाँ संवाद कम हुन्छ त्यहाँ धेरै खालको असमझदारीको विकास हुन्भछ । त्यसैले बैठक बस्ने कुरालाई नियमित बनाउने । हाम्राबीचमा कतिपय विषयलाई हेर्ने भिन्न मत हुन्छन् । तर एक ठाउँ बसेर छलफल गर्ने, के गर्ने, के गरेर चित्त बुझाउने, कतिपय ठाउँमा कुनै न कुनै रुपले निरुपण गरेर जाने कुरालाई चाहिँ जानुपर्छ । हामी कम छलफल गर्दा खेरी हाम्रोबीचमा असमझदारीहरु धेरै बनेका हुन् । मूलभूत रुपमा राजनीतिक विषयलाई हेर्ने, सांगठनिक विषयलाई हेर्ने कुरामा हामी सबै एक ठाउँमा छौँ । हाम्रो दृष्टिकोण एउटै छ । पार्टीभित्रका सुधारका सम्बन्धमा एउटै छ । सुशासनका सन्दर्भमा एउटै छ । तर कार्यगत शैलीमा कतिपय अवस्थामा हाम्रा भिन्न भिन्न तरिकाहरु रहे । कपितय असमझदारीहरु रहे । यसलाई संवादबाटै हल गर्नुपर्छ । आजबाट बस्न शुरु गरेका छौँ थप बस्दै जाने भन्ने निक्र्यौल गरेका छौँ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ