arrow

तीन महिनामा ११ सय बङ्गलादेशी विपक्षी कार्यकर्ता दोषी ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
bangladesh-agitation-2023-07-29.jpg
तस्बिर – फाइल ।

ढाका । बङ्गलादेशी अदालतहरूले सेप्टेम्बरदेखि अहिलेसम्म एक हजार एक सयभन्दा बढी विपक्षी अधिकारी र कार्यकर्तालाई दोषी ठहर गरेको वकिलहरूले बिहीबार बताएका छन् । 

विपक्षी दलहरूका अनुसार यस वर्ष व्यापक विरोध प्रदर्शनहरूपछि प्रधानमन्त्री शेख हसिनामाथि कठोर शासन गरेको आरोप लगाउँदै उनको राजीनामा माग गरिएको थियो । त्यसपछि विपक्षी दलका हजारौँ मानिसलाई पक्राउ गरिएको छ । 

बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले उसका सदस्यहरूविरुद्धका मुद्दाहरू राजनीतिक रूपमा प्रेरित रहेको भन्दै प्रधानमन्त्रीको करिब १५ वर्षको शासनको सम्भावित विकल्पहरूलाई दबाउने उद्देश्य रहेको बताएको छ । 

पार्टीका कानूनी मामिला प्रमुख कैसर कमालले एएफपीसँग भने, “पछिल्लो तीन महिनामा कम्तीमा एक हजार ९३ बीएनपी कार्यकर्ता र अन्य विपक्षी दलका कयौँ दर्जन कार्यकर्ताहरूलाई ६९ मुद्दामा दोषी ठहर गरिएको छ ।”

धेरै प्रतिवादीहरूका वकिल एहसानुर रहमानका अनुसार उक्त सङ्ख्यामध्ये बुधबार ढाका अदालतहरूमा बीएनपीका एक सय २७ कार्यकर्तालाई तीन वर्षसम्मको कारागार सजाय सुनाइएको छ । केही प्रतिवादीहरूलाई सन् २०१४ र सन् २०१८ मा बङ्गलादेशमा भएका निर्वाचनका क्रममा हिंसा गरेको दोषी पाइएको छ । 

मुख्य अभियोजक अब्दुल्ला अबुले पछिल्लो परीक्षणहरूको सञ्चालनको बचाउ गरे । “यी मुद्दा राजनीतिकरूपमा प्रेरित छैनन्, लामो समयदेखिको मुद्दालाई कम गर्ने प्रयासमा यी फैसला गरिएका हुन्”, उनले भने  ।

यद्यपि कमालले बीएनपी कार्यकर्ताहरू ‘राजनीतिकरूपमा प्रेरित र झुटो, मनगढन्त तथा आधारहीन’ मुद्दाको सिकार भएको बताए । “यो बिल्कुल आपराधिक मुद्दा होइन, यो राजनीतिक मुद्दा हो”, उनले भने, “राजनीतिक उद्देश्यले विपक्षी राजनीतिक कार्यकर्ताहरूविरुद्ध फैसला सुनाउन कार्यपालिकाले तल्लो अदालतलाई निर्देशन दिने काम गरिरहेको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ