arrow

अन्नबाट सीताराम स्वयम्बरको आकृति

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
ram-sita.jpg

महेन्द्रनगर (धनुषा) । विवाह पञ्चमी महोत्सवको अवसर पारेर जनकपुरधामको बाह्रबिघा रङ्गभूमिमा अन्नबाट भगवान् राम, सीताको स्वयम्बरको विश्वमै सबैभन्दा ठूलो आकृति बनाउन लागिएको छ । 

भगवान् रामसीतासँगै राजर्षि जनक तथा विश्वामित्रको पनि आकृति निर्माण गरिने भएको छ । सबै चित्र ११ हजार ११ स्क्वायर फिटको रहने निर्माण संयोजक सतिश गुजरले बताए ।

सीताराम अनाज प्रतिमा निर्माण समितिका संयोजक एवं जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठका अनुसार खाद्यान्नबाट बनाउन थालेको आकृतिको उचाइ एक सय २१ फिट र चौडाइ ९१ फिटको रहने छ । 

आकृतिको निर्माणमा ११ प्रकारको खाद्यान्न प्रयोग गरेर जम्मा एक सय दुई क्वीन्टल लाग्ने संयोजक महासेठले बताएका छन् ।

यसमा चनाको दाल, गहुँ, भटमास, चना, बदाम, मुंग, रहरको दाल, मकै, मसुरोको दाललगायत खाद्यान्न प्रयोग गरिने भएको छ । 

विश्वमा जनकपुरधामको पर्यटन प्रवर्द्धन गर्नका लागि अन्नको आकृतिको चित्र बनाएर गिनिज बुकमा अभिलेख राख्नका लागि प्रयास भइरहेको संयोजक महासेठले बताए । विश्व रेकर्ड कायम गर्ने उद्देश्यले भगवान् राम र सीतासहितको आकृति बनाउने कार्यका लागि भारतका सतिश गुज्जरको नेतृत्वमा आठ कलाकार आएको छ ।

स्थानीय जनकपुरधाम उपमहानगरपालिका–४ का गुनगुन मिश्रको परिकल्पनामा भइरहेको आकृति निर्माणको सबै कार्य शुक्रबार बिहान १० बजेसम्म पूरा हुने सतिश गुज्जरले बताए । 

आकृति निर्माणमा रु २१ लाख खर्च हुने र यसमा लाग्ने खर्च जनकपुरधाम उद्योग वाणिज्य सङ्घ तथा जनकपुरधाम उपमहानगरपालिकाले उपलब्ध गराउने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ