arrow

मोफसलमा मैदान

फास्ट ट्रयाकमा निजी क्षेत्रबाट एक्स्ट्राटेक ओभल क्रिकेट मैदान

अत्याधुनिक सुविधा सम्पन्न मैदानको रुपमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निजी क्षेत्रको लगानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान स्थापित हुने दाबी

logo
नारायण वली,
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
criket maidan7.jpg

लुम्बिनी । नेपाली क्रिकेटको प्रदर्शन उत्कृष्ट बन्दै गएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै गएको अवस्थामा नेपालमा भने क्रिकेट खेलाडीका लागि उपयुक्त मैदान अभाव छ ।

क्रिकेटले नेपाललाई विश्वसामु चिनाउने गरी विकास हुँदै जाँदा मैदान अभाव, क्रिकेट सम्बन्धी पढाइ र ट्रेनिङ सेन्टर नहुँदा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल सहभागी हुनबाट बञ्चित हुन परेको समस्यालाई हल गर्नका लागि रुपन्देहीमा एक क्रिकेटप्रेमी शुभचिन्तक आफ्नो निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणमा जुटेका छन् । 

एक्स्ट्राटेक ओभल क्रिकेट मैदान नाम दिएर बनाउन थालेका प्रबन्ध निर्देशक विनोद कुँवरले जग्गा बाहेक पूर्वाधार निर्माणमा ४० करोड र अन्य भौतिक संरचनासहित ६० करोड लगानीमा बनाउन थालेको बताए । लामो समयदेखि अष्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुँवरकी पत्नी सुदीक्षा कुँवरले  ५ बिघा क्षेत्रफलमा रंगशाला बनाउन लागेकी हुन् ।

गत जेठ २९ गते शिलान्यास गरिएको मैदान बर्खायाम र दशैँ तिहार अवधिको बिदालाई छोडेर पुस २९ गतेसम्म ५९ दिनमा मैदानको करिब ८० प्रतिशत काम सकिएको यूएईस्थित अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा काम गरेका अनुभवी र हाल निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटर माधव पाठकले  बताए ।

उनका अनुसार यो मोफसलको अत्याधुनिक सुविधा सम्पन्न मैदानको रुपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १७ मा निजी क्षेत्रको लगानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान स्थापित हुने दाबी गरे।

तिलोत्तमाको पूर्व दरखसवामा शिलान्यास भएको मैदान ६ महिनामै खेल मैदान निर्माणको काम पूरा भएर प्रतियोगितासमेत गर्न सकिने र खेल प्रतियोगिताका लागि विभिन्न संघसंस्था तयार रहेको बताइएको छ। पुस पहिलो हप्ताभित्र साइड स्क्रिनको काम सकिने र आगामी फागुन १ गतेबाट मैदानमा राष्ट्रिय स्तरका टुर्नामेन्ट आयोजना गर्न सकिने प्रबन्ध निर्देशक कुँवरले बताए ।

पहिलो वर्ष ५ हजार जना दर्शक क्षमताको पारापिट निर्माण गरिने र हरेक वर्ष ५ हजार जना क्षमताको थप्दै ५ वर्षमा २५ हजार दर्शक अटाउने पारापिट निर्माण गरिने निर्देशक कुँवरको भनाइ छ ।

उनी भन्छन्, 'हाम्रो मुख्य उद्देश्य एकेडेमीबाट डिप्लोमा इन क्रिकेट कोर्ष पढाएर अन्तर्राष्ट्रिय स्तरमा खेल्ने नेपाली खेलाडी उत्पादन गर्ने हो, नेपालमा डिप्लोमा तहको क्रिकेटको अध्यापन छैन, त्यो हामीले शुरु गरेका छौँ, आवश्यक कान"नी व्यवस्था समन्वयमा राज्यले सहयोग गर्नेमा विश्वस्त छु ।'  

प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले निजी लगानीमा बन्दै गरेको क्रिकेट मैदान प्रदेशकै एउटा दस्तावेजको रुपमा शोभनीय बन्ने बताउँदै माघ मसान्तसम्म मैदान तयार भएमा फागुनमा प्रदेश खेलकुद परिषदले प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता योजना गर्ने जनाए ।

नेपाल क्रिकेट संघ क्यानका पूर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल र क्रिकेट संघ रुपन्देहीका अध्यक्ष हरिबहादुर थापाले उक्त मैदानको निर्माणले रुपन्देहीमा क्रिकेट खेलाडी उत्पादनमा ठूलो टेवा पुग्ने विश्वास लिँदै  क्यान र जिल्ला क्रिकेट संघसँग समन्वय नगरेकोप्रति गुनासो गरे ।   

आगामी माघबाट दोस्रो चरणको काम चेन्जिङ रुम, पभेलियन, क्यान्टिन र टेक्निकल टिमका लागि रुमहरु निर्माणको काम शुरु गरिने एक्स्ट्राटेक ओभलका ब्राण्ड एम्बेसडर शक्ति गौचनले बताए ।

चैतबाट प्रशिक्षण गराउने सानो मैदानको काम शुरु हुने, त्यस लगत्तै मिडिया सेन्टरको काम हुने र कम्पाउन्डमा चार तलाको भवन बनाएर एक सय ५० जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने गौचनले जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ