arrow

मौरी चराउन चिउरी पाखामा किसान

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
bee.jpg

भरतपुर । चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् ।

चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ । रत्ननगर-४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका-१० स्थित पाइमाराङमा पुगेका छन् ।

“तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ”, उनले भने, “फागुन अन्तिमसम्म मौरी यही राखिन्छ ।” उनले मौसमले साथ दियो भने दुई पटकसम्म चिउरीको मह काढ्ने बताए ।

चिउरीको मह नजम्ने भएका कारण उपभोक्तले धेरै खोज्ने गरेको किसान थापाले बताए ।

“विसं २०५६ देखि मौरी पाल्दै आएको हुँ”, उनले भने, “प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ ।”

उनले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको बताए । चरन क्षेत्रमा पनि जङ्गली जनावरले दुःख दिने उनको अनुभव छ ।

मौसम अनुकूल भएमा एक वर्षमा चार पटकसम्म मह काढिने थापाले बताए ।

“मौरी पालेर परिवार ढुक्कसँग पालिएको छ”, उनले भने, “जिन्दगीको सबैभन्दा आनन्द यही हो ।”

चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको बाक्लो जङ्गल छ ।

यहाँ यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले बताए ।

उनका अनुसार यहाँ चितवनसँगै मकवानपुर, रौतहट, नवलपरासी, रुपन्देही, दाङलगायत जिल्लाका किसानले पनि मौरी ल्याउने गरेका छन् ।
जङ्गली फूलमा र विषादी नहुने भएकाले चिउरीमा मौरी चराइने गरिएको हो ।

चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरु देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने पूर्वअध्यक्ष पौडेल बताउछन् ।

उनका अनुसार नेपालमा सेरेना र मेलीफेरा मौरीपालन हुने गरेको छ ।

व्यावसायिक रुपमा भने मेलिफेराको पालिन्छ । चितवन मौरीपालनको उर्वर भूमि हो जहाँ पाँच सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ