arrow

तत्काल उखुको समर्थन मूल्य तोक्न विनोद चौधरीको माग, गम्भीर बन्न सरकारलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
binod-chaudhary-2080-08-17.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य विनोदकुमार चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन् । सरकारले मूल्य तोक्न ढिलाई गर्दा उखु किसान मर्कामा परेको भन्दै सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएका हुन् । 

उखु उत्पादकमा लागि पकेट क्षेत्र मानिने नवलपरासी जिल्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित चौधरीले कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई लिखित पत्र बुझाउँदै छिटो उखुको समर्थन मूल्य तोक्न आग्रह गरेका हुन् । 

‘नवलपरासी (सुप) जिल्लाको मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसानहरु उखु खेतितर्फ साह्रै उत्साहित देखिन्छन् । किसानको उत्साहलाई प्रोत्साहन गर्नु हामी राजनीतिकर्मीको मूल ध्येय हो’, सांसद चौधरीले भने, ‘चालु आर्थिक वर्ष २०८०–८१ का लागि समयमै उखुको समर्थन मूल्य तोकिदिनुपर्ने हुन्छ। तर हालसम्म पनि मूल्य नतोकिदिँदा यस क्षेत्रका किसानहरु अन्योल र मर्कामा परेका छन् ।’
 
उनले उखुको समर्थन मूल्य तोक्न ढिलाइ हुँदा उद्योगहरुले उखु खरिद गर्न नपाएको र किसानको उखुबारीमै सुक्ने अवस्था सिर्जना भएको सरकारलाई अवगत गराएका छन् । 

साथै कतिपय किसानले सरकारले मूल्य नतोक्दा सस्तोमै उखु बेच्न बाध्य भएको भन्दै सांसद चौधरीले कृषि मन्त्री बेदुराम भुसालको लिखित ध्यानाकर्षण गराएका हुन् । उनले समर्थन मूल्यसँगै किसानलाई सरकारले उपलब्ध गराउने अनुदान वापतको रकम पनि समयमै भुक्तानी गराउन पनि मन्त्रीसँग माग गरेका छन् । 

सांसद चौधरीकै पहलमा यसपटक नवलपरासीका उखु किसानले सरकारले दिने अनुदान वापतको रकम पाइसकेका छन् । कतिपय जिल्लामा किसानले अघिल्लो वर्षकै रकम नपाएर आन्दोलनरत छन् । 

सरकारले अघिल्लो वर्ष उखुको न्यूनतम मूल्य प्रति मेट्रिक टन ६१० रुपैयाँ तोकेको थियो । जसमा उखु उद्योगले ५४० रुपैयाँ र सरकारले अनुदान वापतको ७० रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ