arrow

निर्वाचन कानूनमा राष्ट्रिय दलले चुनावअघि गठबन्धन गर्न नपाउने बनाऔँ – गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
gagan-thapa-2080-09-01.jpg

कुश्मा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि राष्ट्रिय दलले चुनावभन्दा अगाडि गठबन्धन गर्न नपाउने गरी विर्नाचन कानून संशोधन गर्न मागेका छन् । 

पर्वतको कुश्मामा भएको प्रदेश सभा क क्षेत्रीय कार्यसमिति प्रथम क्षेत्रीय सम्मेलनमा बोल्दै महामन्त्री थापाले चुनाव भन्दा अगाडि गठबन्धन गर्न नपाउने कानून नबनाएसम्म सरकारमा तानातान गर्नका लागि पनि अवैध गठबन्धन हुने बताए । 

उनले कांग्रेसले यसमा प्रण नै गर्नुपर्नेमा जोड दिए । उनले हिजो जे भयो नेपाली कांग्रेसले जे निर्णय गर्यो त्यो निर्णय गरेपछि सकियो भन्दै अब भने गठबन्धन गर्न नहुने बताए । 

उनले यसबारे आगामी महासमिति बैठकबाट २०८४ को निर्वाचन भन्दा अगाडि कुनै पनि हालतमा कांग्रेसले रुख बाहेक कसैमा पनि मत नहाल्न आग्रह नगर्ने गरी योजना बनाउन जोड दिए । 

उनले चुनावभन्दा अगाडि गठबन्धन नभए कांग्रेस एमालेसँग र एमाले कांग्रेससँग डराउन नपर्ने बताए । 
 
पुस १ सम्झदै नेता थापाले राजा महेन्द्रले कु गरेर बीपीलाई नथुनेको भए ३० वर्षे पञ्चायत पनि नहुने र आज राजा पनि यथावत् हुने बताए । 

हिरासतमा बसेको बेलामा कांग्रेसको नेताले हस्ताक्षर गरेको भए र हुन्छ भनेको भए प्रधानमन्त्री बन्न सक्थ्यो भन्दै थापाले तर कोही पनि नगएको बताए । 

उनले भने, ‘कांग्रेसका नेताहरु ८–१० वर्ष जेल बस्न तयार भए तर हस्ताक्षर गरेनन् । कांग्रेसको समर्थकलेसमेत जयनेपाल नभन केही गर्दैनौँ भनेर माओवादीले धम्क्याउँदा पनि मानेनन् ज्यान फाल्न तयार भए ।’

कांग्रेस जिम्मेवार पार्टी भएको भन्दै पार्टी भन्दा देश ठूलो भएको उदाहरण दिँदै थापाले भने, ‘२०६४ सालमा गिरिजाबाबुले चुनाव हारिन्छ भन्ने मलाई पनि थाहा छ यो चुनाव नगरे देशले हार्छ भनेर भनेको म सम्झन्छु । यो कांग्रेसको चरित्र हो ।’

कांग्रेसले मूल चरित्र गुमाउँछ कि गुमाउँदैन भनेर समर्थकले हेर्ने पनि उनले बताए । उनले कांग्रेसले जिम्मेवारी पूरा गर्यो भनेरै २०७४ मा कांग्रेसको मत बढी भएको स्मरण गरे । उनले भने, ‘जनताले मत दिए । तर उनीहरुलाई पनि थाहा थियो कि एमाले र माओवादी मिलेपछि कांग्रेसले चुनाव हार्छ । र पनि जनताले कांग्रेसलाई मत दिए । 

उनले २०४६ सालपछिका सबैको उच्च ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गरी अकूत सम्पत्ति खोस्नुपर्ने बताए । उनले भ्रष्टाचार बढेको भन्दै यसलाई रोक्नैपर्ने बताए । 

उनले अकूत सम्पत्ति र रकम भ्रष्टाचारीबाट लिएर स्वास्थ्य बीमामा लगाउनु पर्नेमा जोड दिए । 

थापाले कांग्रेसलाई २०८४ को चुनाव भनेर अहिले काम नगर्ने छुट नभएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ