arrow

धार्मिक विचलन ल्याउन खोज्ने मन्त्री किराँतीलाई कारबाहीको सट्टा बचाउन खोज्दै माओवादी

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
sudan-kirati-2080-06-25.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संविधान विपरीत अभिव्यक्ति दिई क्रिश्चियन धर्मको प्रचारमा प्रधानमन्त्रीलाई समेत मुछेपछि उनको बचाउमा सिंगो माओवादी केन्द्र पार्टीसमेत लागेको छ । 

मन्त्री किराँतीले क्रिश्चियन धर्मलाई प्रोत्साहन हुने गरी अभिव्यक्ति दिँदा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि क्रिश्चियन धर्म मन पर्ने भन्दै उनलाई जिसस क्राइष्टसँग तुलना गरेका थिए । 

प्रचण्डलाई क्राइष्टसँग तुलना गरेको विषयमा छुट्टै प्रकारको विरोध भए पनि अहिले माओवादीभित्रै किराँतीको बचाउ गर्न थालिएको हो । किराँतीको विपक्षमा कोही कसैले पनि बोल्ने आँट गरेका छैनन् । 

सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले संस्कृति मन्त्री सुदन किराँतीले सार्वजनिक कार्यक्रममा धर्मसँग जोडिएर दिएको विवादित अभिव्यक्तिको बचाउ गरेकी छिन् ।  

धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारका मन्त्रीले बोलेको कुरालाई बिना कारण उचालिएको बताउँदै बचाउ गरेकी हुन् । मन्त्री किराँतीले क्रिश्चियनको एक कार्यक्रममा बोलेका कुरा अहिले सञ्चारमाध्यममा धेरै उचालिएको र किराँतीको आशय कुनै धर्म विरोधी नभई धर्मनिरपेक्षमा आधारित भएको शर्माको भनाइ छ । 

उनले मन्त्रीले बोलेको कुरा संविधानसम्मत हुने बताउँदै मन्त्री किराँतीले पनि संविधानका आधारमा यस्तो अभिव्यक्ति दिएको बताइन् । 

सरकारका मन्त्रीहरूले संविधानभन्दा बाहिर गएर बोल्न नपाइने भएकोले किराँतीले बोलेको कुराको आशय धर्मनिरपेक्ष राष्ट्रको विरुद्धमा नभएको भन्दै बचाउ गरेकी थिइन् ।

तर मन्त्री किराँती आफैँले थप स्पष्टीकरण दिँदै क्रिश्चियन अस्वीकार गर्ने देशद्रोही भएको आरोप लगाएका थिए । किराँतीकै भनाइको खण्डन गर्दै एमालेका निस्कृय नेता भीमबहादुर रावलले किराँतीको क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दा लगाउने धम्कीप्रति आपत्ति जनाउँदै किराँतहरूले मुन्धुम मान्नु देशद्रोह हो ? भन्ने प्रश्नसमेत गरेका थिए । 

किराँतीले गत बुधबार एक कार्यक्रममा क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दामा पाता कसेर जेल हाल्ने चेतावनी दिएका थिए । 

पार्टीले किराँतीलाई कारबाही गर्नुका साटो बचाउमा उत्रेर धार्मिक विभेद निम्त्याएको छ । 

पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले उनलाई कारबाही गर्नुपर्ने विषय नै नभएको बताएका छन् । ‘धर्मनिरपेक्ष राज्य भएकाले उहाँलाई सबै धर्मसमान हुन् भन्ने आशयको अभिव्यक्ति दिनु भएको बुझिन्छ त्यसैले कारबाहीको अर्थ छैन’, प्रवक्ता सापकोटाले भने ।

नेपालमा ८१ प्रतिशत जनताले हिन्दू धर्म मान्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ