arrow

धरौटीको रकम बुझाउन नसकेर कारागारमै बसेका शरणार्थी नेता रिजाल छुटे

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १२ बिहिबार
teknath-rijal-bhutani-refugee-leader-arrest.jpg

काठमाडौँ । धरौटीको रकम बुझाउन नसकेर कारागारमै बसेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल बुधबार रिहा भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका हुन् ।

 उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी रकम बुझाउन नसक्दा सुन्धारा कारागारमा रहेका उनी धरौटी बुझाएपछि बुधबार रिहा भएको उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए । 

उक्त मुद्दामा नेता रिजाल सात महिना हिरासतमा बसेका थिए । रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । 

धरौटीको रकम बुझाउन नसक्दा उनी आदेश आएपछि पनि झन्डै एक महिना कारागारमा रहनुपर्‍यो । गत मङ्सिर १५ मा उनलाई धरौटीमा रिहा गर्न आदेश भएको थियो । 

काठमाडौँ जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदा भएका कारण बुधबार मात्रै रिहा गरिएको हो । अब उनी पुस २० गते काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ । 

शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण उच्चको आदेशअनुसार जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ बुझाएर रिहा भएका छन्।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसीले पनि तोकिएको रकम बुझाएर रिहा भइसकेका छन् । 

उक्त प्रकरणमा पूर्व सचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजीत राईलगायत भने पुर्पक्षका लागि कारागार नै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ